देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस बैठकमा गुटगत घोचपेच, महामन्त्रीका १० एजेन्डा ओझेलमा

0

काठमाडौं – नेपाली कांग्रेस केन्द्रिय कार्यसमितिको बैठकका महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेका १० एजेन्डा ओझेलमा परेका छन् छन्।

आगामी दिनमा पार्टीलाई कसरी अघि बढाउने भन्ने विषयलाई थाँती राखेर अधिकांश नेताले एजेन्डा भन्दा ‘गुटको बचाउ’ गरिरहेका छन्।

सामाजिक सञ्जालमार्फत प्रत्यक्ष प्रसारण भइरहेको केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन पक्षका नेताहरू सभापति शेरबहादुर देउवाको बचाउमा उत्रेका छन्  भने संस्थापन इतर पक्षधर नेताहरू नेतृत्वको आलोचनादेखि संस्थापनपक्षीय केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने धारणा राखिरहेका छन्।

शुक्रबारको बैठकमा केन्द्रीय सदस्य गोपालमान श्रेष्ठले पार्टीलाई जीवन्त राख्नका लागि पार्टीमा अनुशासनको खाँचो औंल्याए। उनले नक्कली शरणार्थी प्रकरणमा थुनामा रहेका केन्द्रीय सदस्य खाँणको मुद्दा अदालतमा विचाराधीन रहेकाले उनलाई खुइँल्याउनुको अर्थ नहुने बताए।

अर्का केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पार्टीलाई एकताबद्ध बनाएर लैजानुपर्ने आवश्यकता औंल्याए। पार्टी सभापति व्यक्ति नभई संस्था भएको उल्लेख गर्दै कार्कीले सभापतिलाई कमजोर बनाउने मानसिकता त्याग्नुपर्ने बताए।

केन्द्रीय सदस्य जितजंग बस्नेतले सुन तस्करीमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको नाम आए पनि कांग्रेसका केही नेताहरू आफ्नै पार्टीलाई खुइँल्याउन हिँडेको आरोप लगाए।

केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले महामन्त्री गगन थापाले ल्याएको राजनीतिक प्रतिवेदन एनजीओको रिपोर्ट जस्तो भएको टिप्पणी गरिन्। ‘महामन्त्रीको प्रतिवेदन एउटा एनजीओको रिपोर्ट जस्तो लाग्यो,’ राणाले भनिन्, ‘धेरै कार्यक्रम गर्ने तर त्यसको उपलब्धि के हो त ? क्लियर के हो त ?’

राणाले पार्टी नेतृत्वको आलोचना गर्नेप्रति पनि आक्रोश पोखिन्। ‘आफ्नै पार्टीलाई ओपनमा क्रिटिसाइज गर्न छाड्नुप‍र्‍यो,’ राणाले भनिन, ‘राजनीति कहिल्यै पनि सहज छैन। राजनीति गर्न असहज हुन्छ भने डराएर बस्नेले मैदान छाडेर जानुप‍र्‍यो। हाम्रो भोट हामी आफैं काटिरहेका छौं। ’

केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीमा गहिरिएको संकट पार लगाउन सिटामोलले नपुग्ने भन्दै सर्जरी नै गर्नुपर्ने बताए। पौडेलले भने, ‘कांग्रेस संकटमा छ भन्ने मानेर कसैको दाइ, भाइ र अनुयायी नभई आत्ममूल्यांकन गर्न जरुरी छ। पार्टीलाई सुधार गर्न जरुरी छ ।’

साउन २ गतेदेखि जारी बैठकमा शुक्रबार ३३ जना केन्द्रिय सदस्यले आफ्नो धारणा राखेका छन्। काँग्रेसको अर्को बैठक आइतबार बस्नेगरी स्थगित भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार