देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस महाधिवेशन – अदल–बदल

0

काठमाडौँ – आगामी पाँच वर्षका लागि आफ्नो नेतृत्व छान्न कांग्रेसमा चुनावी प्रक्रिया सुरु भएको छ । तीन तहका आगामी निर्वाचनसहित समग्र राजनीतिमा कांग्रेसलाई अब्बल बनाउन भन्दै नेताहरू प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।

सभापतिका दाबेदार रामचन्द्र पौडेलले सक्रिय राजनीतिबाट बिदा लिएका छन् भने बहालवाला सभापति शेरबहादुर देउवा कांग्रेसमा अझै पनि आफ्नो नेतृत्वको औचित्य पुष्टि गर्ने प्रयासमा छन् । उनलाई चुनौती दिन युवाको समूहको नेतृत्व गर्दै शेखर कोइराला अघि सरेका छन् । त्यस्तै प्रकाशमान सिंह र विमलेन्द्र निधिको उम्मेदवारीले प्रतिस्पर्धालाई पेचिलो बनाएको छ । सभापति पदमै उम्मेदवारी दिएका कल्याण गुरुङ र युवराज न्यौपानेले पनि लोकतान्त्रिक प्रतिस्पर्धालाई नै प्रवर्द्धन गरेका छन् ।

प्रधानमन्त्रीसमेत रहेका देउवा फेरि पनि सभापतिमा दोहोरिन आफ्नोतर्फबाट कुनै पनि कसर बाँकी नराख्ने मनस्थितिमा देखिएका छन् । पहिलो चरणमा विजयी हुन नसकेमा दोस्रो चरणमा शेखर, प्रकाशमान र विमलेन्द्र मिल्न सक्छन् भन्नेमा देउवा सतर्क छन् । त्यसैले उनले कृष्णप्रसाद सिटौलासँग समीकरण बनाएका छन् ।

सिटौलासँगको समीकरण गरेर प्रदीप पौडेललाई महामन्त्री र उमाकान्त चौधरीलाई सहमहामन्त्री बनाएपछि देउवा पक्षमै असन्तुष्टि प्रकट भएको थियो । दुईमध्ये एक महामन्त्रीमा प्रकाशशरण महत र अर्कोमा पौडेल उम्मेदवार भएपछि यही पदका दाबेदार बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउदले असन्तुष्टि पोखेका थिए । ‘तर अहिले नै समीकरण नगर्ने हो भने चुनाव दोस्रो चरणमा जान सक्छ, दोस्रो चरणमा हार्न सकिन्छ, सभापति हारे सबै सकियो, महामन्त्री जितेर के गर्ने ?’ देउवाको यो भनाइपछि यी नेताहरूले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गरेका छन् ।

उता, सभापतिका अर्का प्रत्याशी शेखरले पदाधिकारीमा प्रभावशाली नेताहरूको टिम बनाएर देउवासामु कडा चुनौती प्रस्तुत गरेका छन् । उनले पदाधिकारीमा युवा नेताहरू चन्द्र भण्डारी, धनराज गुरुङ, गगन थापा, बद्री पाण्डे, देवराज चालिसे, जीवन परियारलाई जोडेका छन् । विगतमा रामचन्द्र र शशांक कोइराला दुवैको विश्वास जित्न सबैलाई उनले टिममा समेटेका छन् ।

तर कोइराला परिवार भने एकजुट देखिएन । ‘समूहबाट साझा उम्मेदवार छान्न नसकेकामा दुःखी’ भाइ शशांक दाजु शेखरको टिमले मनोनयन गर्ने कार्यक्रममा सहभागी भएनन् । उनी आफ्नो उम्मेदवारी दिएर निवासतर्फ गइसकेका थिए । बरु, मनोनयनपछि शेखरको टिम शशांक निवास महाराजगन्जमा पुगेको थियो ।

कोइराला परिवारकै सदस्य नेता महेश आचार्यले कुनै पनि टिमको फेरो समातेनन् । उनले प्यानल बाहिरबाट उपसभापति पदमा उम्मेदवारी दिएका छन् । ‘म पार्टी संगठनका समस्यालाई उठाएर अघि बढेको छु । गुट र नेता मिलाउन लागेको छैन,’ उनले भने, ‘पार्टी राम्रो बनाउन चाहन्छु ।’

अर्को संयोग, कोइराला परिवारबाट गणेशमान परिवारमाथि बारम्बार अन्याय भयो भनेर आवाज उठाउँदै आएका सिंहको प्यानलबाट अन्तिम घडीमा गिरिजाप्रसाद कोइरालाकै छोरी सुजाता उपसभापतिमा उम्मेदवार बनेकी छन् । सुजाताले गणेशमान र कोइराला परिवारको विरासतका रूपमा प्रकाशमानको टिम अघि बढेको उल्लेख गरेकी छन् । १३ औं महाधिवेशनमा पनि पदाधिकारीमा जान कोइराला परिवारमा प्रतिस्पर्धा चलेको थियो । शशांक महामन्त्रीको उम्मेदवार बनेपछि शेखर र सुजाताले सघाएका थिए । गिरिजाप्रसाद कोइरालाको राजनीतिक जीवनमा महत्त्वपूर्ण सहयोगी बनेका शेखरले अहिले सुजाताबाट भने सहयोग पाउन सकेनन् । देउवा सरकारमा उपप्रधानमन्त्रीसहित मन्त्री बन्न खोजेकी उनका लागि शेखर र शशांकले अडान नलिएको भन्दै असन्तुष्ट थिइन् ।

सुशील कोइरालाको निधनपछि आफ्नो नेतृत्वमा रहेको समूह विभाजित बनेपछि पौडेल पनि शेखर र प्रकाशमान दुवैको मनोनयनमा सहभागी भएनन् । ‘मेरो नेतृत्व स्विकार्नोस् भन्दा पनि साथीहरूले मान्नुभएन, एक जना मात्र उम्मेदवार बन्नुस् भन्दा पनि सुन्नुभएन, आपसमा लडाइँ गर्ने ? यो सब हेर्नुभन्दा म पार्टी राजनीतिबाट अलग बस्छु,’ शुभचिन्तकहरूबीच उनको भनाइ थियो । देउवा र कोइरालाले प्यानलसहित उम्मेदवारी दिए पनि सिंह र निधिको समूह भने सीमित पदमा अघि सरेको छ । सिंहको समूहबाट उपसभापतिमा सुजाता र महामन्त्रीमा विश्वप्रकाश शर्मा उम्मेदवार बनेका छन् । निधि पक्षबाट उपसभापतिमा दिव्येश्वरी शाह र महामन्त्रीमा राजाराम कार्कीले उम्मेदवारी दिएका छन् । सभापतिमा उम्मेदवारी दिएका गुरुङ नेविसंघका पूर्वअध्यक्ष हुन् र न्यौपाने गोरखाका युवा नेता हुन् ।

उता प्रकाशमानको उम्मेदवारीले इतर समूह तितरबितर भएको देखिए पनि मतमा भने नकारात्मक असर नपर्ने कोइराला समूहको दाबी छ । ‘राजधानीबाट प्रकाशमानले पाउने भोट उनी नउठेको भए एकमुष्ट रूपमा शेखरलाई आउने थिएन, उहाँ उठ्दा देउवाको भोट पनि रोकिएको छ, त्यसैले घाटा बराबरजस्तै हो,’ एक नेताले भने, ‘प्रकाशमानको उम्मेदवारीले पहिलो चरणमा नतिजा आउने सम्भावना कम हुन्छ । दोस्रो चरणमा तयारी गर्न हामीलाई समय हुन्छ ।’

पार्टीभित्र तेस्रो धारको नेतृत्व गरेका सिटौला प्रतिस्पर्धाको राजनीतिबाट अलग भए पनि उनको निर्णायक भूमिका भने चर्चामा छ । १३ औं महाधिवेशनमा सिटौला सभापतिका प्रत्याशी थिए । उनकै उम्मेदवारीका कारण त्यतिबेला सभापतिको निर्वाचन दोस्रो चरणमा गएको थियो । तीन जना उम्मेदवारको दौडमा सिटौला बाहिरिएपछि देउवालाई सघाएका थिए । तर, २०७४ को निर्वाचनपछि देउवाबाट असन्तुष्ट सिटौला फेरि देउवातिरै जोडिएका छन् । तर, यस पटक आफू पछि हटेर युवा नेता पौडेललाई अघि बढाएका छन् । के तपाईंले राजनीतिबाट संन्यास लिन खोज्नुभएको हो भन्ने प्रश्नमा सिटौलाको जवाफ थियो, ‘संन्यास लिने होइन । बाहिरबाट राजनीति गर्न सकिन्छ । राजनीतिबाट बाहिर गर्न सकिन्छ । अब बाहिरबाट राजनीति गर्छु । कान्तिपुर दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार