देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘कांग्रेस यस किसिमका छोटे तानाशाहहरूसँग डराउँदैन’ – प्रदिप पौडेल

0

काठमाडौं – नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं माननिय सांसद प्रदिप पौडेलले पछिल्लो समय संसद्‌मा विकसित घटनाक्रमले नेपालको राजनीतिक दिशा निरंकुशता तिर उन्मुख गर्न खोजेको बताएका छन् ।

गरिमामय संसद्लाई ब्यारेक बनाएर सत्ता पक्षले लडाकु शैलीमा प्रदर्शन गरेको, परेडले संसद्को गरिमा र लोकतान्त्रिक विधि पद्धतिलाई निमोठ्न खोजेको उनले समाजिक संजाल मार्फत बताएका हुन् ।

‘संसदीय अभ्यासको न्यूनतम सिद्धान्तलाई समेत ख्याल नगरी पार्टीका केही नेताको लहडमा बलजफ्तीले सिङ्गो देशलाई द्वन्द्व तर्फ उन्मुख गर्ने यस्तो कार्य अत्यन्तै विडम्वनापूर्ण छ, खेदजनक छ ‘ उनले सामाजिक संजालमा लेखेका छन् ।

संसद्को प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेस लगायत अन्य दल समेतले जनतामाथि भएको अत्याचारबारे छानबिन गरौँ, सहकारी ठगीको विषयमा छानबिन गरौँ र दोषीलाई कारवाही गरौँ, भनेर उठाइरहेको मागलाई बेवास्ता मात्रै गरिएको छैन, यसलाई नजरअन्दाज गर्दै सहकारी ठगीमा संलग्नहरूको मनोबललाई उच्च बनाउने काम भएको पौडेलको भनाइ छ ।

पौडेल अगाडी लेख्छन् – ‘संसद्‌मा प्रधानमन्त्रीले विश्वासको मत माग्नु स्वभाविक हो, तर आन्दोलन गरिरहेको प्रतिपक्षलाई बेलमा उभ्याएर, उसको मागलाई सम्बोधन नगरी मार्सल रुलिङमा विश्वासको मत लिनु आफैमाथिको अविश्वास होइन र ? पर्याप्त समय हुँदाहुँदै विश्वासको मत लिँदा मर्यादापालकको आड र सुरक्षामा रोष्ट्रममा जानै पर्ने के बाध्यता आइपर्यो ?

आज सम्मको हाम्रो राजनीतिक यात्रा सहमति र सहकार्यमा यहाँ सम्म आएको इतिहासलाई सामान्य ख्याल समेत नगर्नुले सरकार सञ्चालनमा रहेका प्रमुख दलहरूको नियतमाथि थप शंका उत्पन्न भएको छ ।

त्यसमाथि राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० लाई फिर्ता लिन हतार गरिनुले सत्ता साझेदार दलहरूको अभिष्ट प्रष्ट बुझिन्छ । यसले नेपालमा राजनीतिक अस्थिरतालाई प्रश्रय दिने मात्र होइन, नयाँ भनिएका दल समेत अस्थिरताको कच्चा खेलमा तल्लीन हुनु अत्यन्तै दुखद छ ।

सत्ताको यस्तो रवैयाले प्रष्ट देखाउँछ – नेपालको राजनीतिक इतिहासमा थप अस्थिरताको अर्को शृंखला थप्न खोजिँदै छ । हेक्का रहोस्, नेपाली कांग्रेस यस किसिमका छोटे तानाशाहहरू डराउँदैन ।

प्रमुख प्रतिपक्ष, आम नेपाली नागरिक र हाम्रो राजनीतिक तथा मर्यादित संसदीय अभ्यासमाथि जसरी कुल्चिने प्रयास गरिएको छ, यसले देशको भविष्यलाई पक्कै उज्ज्वल देखाएको छैन । यो अधिनायकवादतर्फ उन्मुख कदम, संसदीय अभ्यासमाथिको प्रहार, लोकतन्त्रमाथिको प्रहारले कुन दललाई क्षणिक रूपमा कति फाइदा वा घाटा हुन्छ भन्ने तर्कभन्दा पनि नेपाली नागरिकले यो देश सही ट्रयाकमा कहिले आउला भनेर अझै कति चिन्ता गर्नु पर्ने ?

त्यसैले, अझै पनि समय छ । आगामी आर्थिक वर्षका लागि बजेट ल्याउने तयारीमा सरकार छ । आशा छ, संसद्लाई छलेर वा अहिलेको जस्तो अवस्थामा बजेट ल्याएर सरकार थप लज्जित हुनेछैन ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार