देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस वरीयतामा पदाधिकारी र पूर्वपदाधिकारीपछि मात्रै शेखर कोइराला

0

काठमाडौँ – कांग्रेसको १४ औँ महाधिवेशनमा सभापतिका निकटतम प्रत्याशी शेखर कोइराला पार्टी केन्द्रीय समितिको वरीयतामा पदाधिकारी र पूर्वपदाधिकारीभन्दा तल परेका छन् ।

१४ औँ महाधिवेशनपछि शनिबार पहिलो केन्द्रीय समिति बैठकमा नेताहरू रामचन्द्र पौडेल, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, विमलेन्द्र निधि र शेखर कोइराला भने सहभागी थिएनन् ।

सभापतिका निकटतम प्रत्याशी कोइराला विधानको व्यवस्थाबमोजिम स्वतः केन्द्रीय सदस्य हुन् । तर, अरु नेताहरूलाई भने सभापति देउवाले मनोनीत गरेपछि मात्रै उनीहरू केन्द्रीय समितिमा रहन्छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले सभापतिमा पराजित भएका कोइरालाको वरियता २०औँ नम्बर कायम गरेका हुन्।सभापति देउवाले तोकेको वरियताअनुसार पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीपछि शेखर कोइरालालाई राखिएको हो ।

नयाँ वरियताअनुसार सभापति देउवा र पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु छन्।  त्यसपछि पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्री शशांक कोइराला, पूर्वकोषाध्यक्ष चित्रलेखा यादव, पूर्वसहमहामन्त्रीहरु अर्जनुनरसिंह केसी, रामशरण महत र सुनील थापा रहेका छन्।

विगतमा सभापतिको निकटतम प्रत्याशीलाई नै दोस्रो वरीयतामा राख्ने अभ्यास भएपनी देउवाले एक पटक पनि पदाधिकारी नभई सभापतिमा प्रतिस्पर्धा गरेका कोइरालालाई पूर्वपदाधिकारीभन्दा तल राखेका हुन् ।

देउवाले पौडेल, सिंह, सिटौला र निधिलाई यसअघि नै केन्द्रीय सदस्य मनोनीत गर्ने सोचेका थिए । तर, निर्वाचन समितिबाट प्रमाण पत्र नलिएसम्म मनोनीत गर्नु अवैध हुने भएपछि उनले मनोनीत गरेका थिएनन् ।

बैठकपछि महामन्त्री गगन थापाले सभापति देउवाको निर्देशन र केन्द्रीय कार्यालयको विगतको अभ्यासबमोजिम पार्टीको केन्द्रीय समितिको वरीयता निर्धारण भएको जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार