देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेस १४औं महाधिवेशन उद्घाटन आज

0

काठमाडौं – नेपाली कांग्रेसको १४औं महाधिवेशन शुक्रबारदेखि काठमाडौंमा सुरु हुँदैछ।

उत्साह, एकता र रूपान्तरणको मूल नारासहित राजधानीको भृकुटीमण्डपमा दिउँसो १ बजे सभापति शेरबहादुर देउवाले महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम रहेको र त्यसको सम्पूर्ण तयारी पूरा भएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

भ्रातृ तथा शुभेच्छुक संगठन, विदेशस्थित जनसम्पर्क समितिसहित झण्डै ४७ सय महाधिवेशन प्रतिनिधि महाधिवेशमा सहभागी हुनेछन्। उनीहरूलाई खाने र बस्ने व्यवस्था पार्टीले मिलाएको छ।

सभापतिमा शेरबहादुर देउवा, शशांक कोइराला, रामचन्द्र पौडेल, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शेखर कोइराला, कल्याण गुरुङसहितले दाबी गर्दै आएका छन्। विधानको नयाँ व्यवस्थाअनुसार महाधिवेशनबाट दुईदुई उपसभापति र महामन्त्री, समावेशी आठ सहमहामन्त्रीसहित १ सय ३४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित गर्ने विधानको नयाँ व्यवस्थाअनुसार हुन लागेको यो महाधिवेशनपछि आउने नयाँ नेतृत्वले ३३ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्नसक्ने छ। नयाँ नेतृत्वका लागि शनिबार मनोनयन दर्ता र सोमबार निर्वाचन तय गरिएको छ।

राष्ट्रिय सभागृहमा हुने निर्वाचनमा एकजना महाधिवेशन प्रतिनिधिले २९ थरी मतपत्रमा मतदान गर्नुपर्नेछ। सभापति, पदाधिकारी, प्रदेश र समावेशी क्लस्टरअनुसार छुट्टाछुट्टै मतपत्रमा मत दिन एकजना महाधिवेशन प्रतिनिधिलाई झण्डै १ घण्टा लाग्नेछ। विधानमा केन्द्रीय समितिको आकार १ सय ६७ सदस्यीय हुने व्यवस्था छ। जसमध्ये ३३ जना केन्द्रीय सदस्य महाधिवेशनबाट चुनिने सभापतिले मनोनीत गर्नेछन्।

बाँकी पदाधिकारीसहित महाधिवेशनबाट निर्वाचित हुनेछन्। १ सभापति, २ उपसभापति, २ महामन्त्री, समावेशी क्लस्टरका आधारमा ८ जना सहमहामन्त्री निर्वाचित हुनेछन्। खुलातर्फ ३५ जना केन्द्रीय सदस्य, खुला महिलातर्फ ९ जना केन्द्रीय सदस्य, प्रदेशगत रूपमा कम्तीमा १ महिलासहित ३ जनाका दरले २१ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

प्रदेशगत रूपमा कम्तीमा १ महिलासहित ३ जनाका दरले २१ जना केन्द्रीय सदस्य छन्। ४ महिलासहित ९ दलित, ७ महिलासहित १५ आदिवासी जनजाति, ६ महिलासहित १३ खसआर्य, ४ महिलासहित ९ मधेसी, २ महिलासहित ४ थारु, १ महिलासहित ३ मुस्लिम र पिछडिएको क्षेत्रबाट १ गरी ५४ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्।

अल्पसंख्यक र अपांगता मध्येबाट १–१ जना केन्द्रीय सदस्यमा निर्वाचित हुनेछन्।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार