देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौंका टोलको रैथाने नाम राख्दै महानगर

0

काठमाडौं – काठमाडौं महानगरपालिकाले ठाउँहरूको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने प्रक्रिया शुरु गरेको छ ।

पहिलो चरणमा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व भएका टोल, बस्ती, मठमन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरूको प्राचीन नाम खोज्ने, संस्कृतिविद्, पुरातत्त्वविद्, भाषाविद् तथा इतिहासविद्हरूसँग नाम पुष्टि गर्ने काम पूरा गरेको काठमाडौं महानगरको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्कतले जानकारी दिए ।

अहिले.प्रचलनमा रहेका नाम र प्राचीन नाम फरक हुने भएकोले अब प्राचीन नाम प्रयोगका लागि स्थानीय समुदायसँग अनुरोध गर्ने उनको भनाइ छ ।

पाँचवटा वडाका २ सय ५८ नाम अभिलेख

महानगरले पाँचवटा वडाबाट रैथाने नाम राख्न सुरु गरेको छ । वडा नम्बर ५ हाँडीगाउँ (प्राचीन नाम नरः), वडा नम्बर ६ बौद्ध (प्राचीन नाम खस्योरः/खास्ती), वडा नम्बर ७ चाबहिल (प्राचीन नाम चावहीः), वडा नम्बर १८ नरदेवी (प्राचीन नाम ङेतः) वडा नम्बर २४ मखन (प्राचीन नाम मखं) भित्रका विभिन्न ठाउँको नाम खोजी भइसकेको महानगरले जनाएको छ ।

खोज कार्यबाट नरः (हाँडीगाउँ) मा ५२ वटा, खस्योर÷खास्ती (बौद्ध) मा ५० वटा, चाबहीः (चावहिल) मा ७१ वटा, ङेत (नरदेवी) मा ३६ वटा र मखं (मखन) मा ४९ वटा नाम अभिलेखन गरिएको छ । यी नाम अब प्रचलनमा ल्याइने महानगरको भनाइ छ ।

‘सांस्कृतिक सहरको नाम मेटिने गरी ठाउँको नयाँ नामकरण भएपछि नामबाट झल्किने सहरको सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक पहिचान मेटिँदै गयो,’ ठाउँको पुरानो नाम खोज्नुपर्ने कारणबारे संगत भन्छन्, ‘काठमाडौँको पहिचान जोगाउन कार्यक्रम अगाडि बढाइएको हो ।’

उनले प्रचलनमा ल्याउन लागिएका नाम र अहिले प्रचलनमा रहेका नामबीच भिन्नता हुने भए पनि प्राचीन नामलाई नै ग्रहण गर्नुपर्ने बताए ।

‘प्राचीन नामले सांस्कृतिक सहरको मर्म ग्रहण गर्छन् । पहिचान संरक्षण हुन्छ,’ उनले भने, ‘काठमाडौंको गरिमा यसैमा छ ।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार