देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काठमाडौं उपत्यकामा संक्रमण तीव्र

0

काठमाडौं – लकडाउन अन्त्यसँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमण तीव्र देखिएको छ। मंगलबार मात्रै १ सय ३४ संक्रमित थपिएका छन्। आरटी पीसीआर परीक्षण गरेकामध्ये काठमाडौंमा १ सय १०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा पोजिटिभ देखिएको हो। साउन ६ गते लकडाउन अन्त्य गरिँदा संक्रमितको कुल संख्या १७ हजार ९ सय ९४ थियो। अहिले बढेर २३ हजार ९ सय ४८ पुगेको छ। जोखिम कायमै रहेका बेला लकडाउन अन्त्यको निर्णयपछि संघीय राजधानी आउने संख्या बढेको थियो। असार २७ गतेदेखि साउन १२ गतेसम्म दैनिक औसत पाँच जना नयाँ संक्रमित पुष्टि भएका थिए।

पछिल्लो समय फलफूल एवं तरकारी व्यवसायी, नाई, होटल व्यवसायी, ब्युटिपार्लर, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि लगायतमा संक्रमण देखिएको छ। उपत्यकामा साउन १३ गते ५३ जनामा कोरोना पोजिटिभ देखिएको थियो। साउन १५ गते ४८, १८ गते ३१, १९ गते ५१ जना नयाँ संक्रमित पुष्टि भएका थिए। साउन २० मा ६२ जनाको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

उपत्यकाका तीन जिल्लामध्ये काठमाडौंमा सबैभन्दा धेरै संक्रमित छन्। साउन २१ गते काठमाडौंमा ५७ जना नयाँ संक्रमित फेला परेका थिए। ललितपुरका ५ जनामा संक्रमण देखिएको थियो। संक्रमणदर बढेपछि साउन २२ गते मन्त्रालयले सरकारी, सामुदायिक तथा निजी कार्यालयमा बैठक, गोष्ठी, सेमिनार तथा अन्य जमघट बन्द गर्न अपिल गरेको थियो। नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. गौतमले काठमाडौंमा संक्रमण दर बढेको जनाएका थिए।

वीर अस्पतालको आपत्कालीन कक्षमा कार्यरत चिकित्सकलाई पनि साउन २३ गते कोरोना संक्रमण पुष्टि भएको थियो। त्यही दिन उपत्यकामा १ सय ६ जनामा कोरोना देखिएको थियो। त्यसमा काठमाडौंका ९२, ललितपुरका १० र भक्तपुरका ४ जना थिए। साउन २४ गते ६२ जना संक्रमित थपिए। तीमध्ये काठमाडौंका ५६, ललितपुरका ३ र भक्तपुरका ३ जना थिए। त्यस्तै, साउन २५ गते ९२ जनामा कोरोना पुष्टि भयो, जसमा काठमाडौंका ९०, ललितपुरका २ जना थिए। त्यस्तै साउन २६ गते ४४ जना संक्रमित थपिए, जसमा काठमाडौंका मात्रै ३६ जना थिए। ललितपुर र भक्तपुरमा ४/४ जना नयाँ संक्रमित थपिए।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार