देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कालीमाटी तरकारी बजारमा कृषिमन्त्री अर्यालको छड्के

0

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले कालीमाटी फलफूल तथा तरकारी बजारको अनुगमन गरेकी छन् ।

मंगलबार कालीमाटीस्थित तरकारी बजारमा पुगेर अनुगमन गर्दै त्यहाँको बजारको वस्तुस्थितिको बारेमा जानकारी लिएकी हुन् ।

तरकारी बजार पुगेकी मन्त्री अर्यालले तरकारी बजारको स्टल र सरसफाइ कार्यलाई व्यवस्थित गर्न कार्यतालिका र कार्यान्वयनको अवस्था लिएर फागुन १ गते मन्त्रालयमा उपस्थित हुन कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिलाई निर्देशन दिएकी छन् ।

कर्मचारीसहित कालीमाटी बजार अनुगमन गर्न पुगेकी मन्त्री अर्यालले तरकारी, माछा, स्टलको भाडा, मूल्य र स्टल लगायतका बारेमा जानकारी लिएकी थिईन् । फोहोर व्यवस्थापन र स्टललाई व्यवस्थापन गर्न आवश्यक रहेको भन्दै मन्त्री अर्यालले मन्त्रालय र बजार समितिबीच छलफल गरी तत्काल एउटा निष्कर्षमा जाने बताईन् ।

मन्त्रालयले किसान र बजारलाई प्रत्यक्ष जोड्ने विधि बनाउने बताउँदै उनले किसानको पसिनाको उचित मूल्य प्राप्त गर्नुपर्ने वातावरण निर्माण गरिने बताईन् । उनले बजार र किसानलाई प्रत्यक्ष जोड्ने विधिको निम्ति मन्त्रालयले सोच बनाएको बताईन् ।

मन्त्री अर्यालले उत्पादित वस्तुको बजारीकरणको व्यवस्था गर्नुपर्ने आवश्यकता औंल्याउँदै किसानलाई बजारको व्यवस्थापन गर्न उत्पादित वस्तुको बजारको ग्यारेन्टी सरकारले गर्ने बताईन् । उत्पादनलाई बढावा दिने तथा उत्पादनलाई बजारमा बिक्री हुने वातावरण बनाउन सरकारको तर्फबाट योजना ल्याउने मन्त्री अर्यालको भनाई थियो ।

भोलिका दिनमा जुनसुकै परिस्थिति आउँदापनि समस्या नआउने गरी मलको भण्डारण स्थापना गर्ने भन्दै उनले किसानलाई मलको अभाव हुन नदिने बताईन् । उनले भनिन्, ‘अहिले गहुँ लगाउने सिजनमा पनि मल पर्याप्त छ । हामीले किसानलाई मलको व्यवस्था गरिसकेका छौं । किसानहरुले सहज ढंगले मल प्राप्त गर्नुभएको छ ।’

बजारमा अनुगमनका क्रममा कालीमाटीमा व्यवस्थित ल्याब रहेको पाइएको भन्दै उनले छिट्टै परीक्षण गरी खराब चिजहरुलाई नियन्त्रण गरी उपभोक्ताको स्वास्थ्यमा समेत हुन फास्ट ट्रयाकबाटै काम भएको पाइएको बताईन् । यस्तै, बजार व्यवस्थापन गर्न केन्द्रीय मत्स्य प्रवद्र्धन तथा संरक्षण केन्द्र बालाजुमा माछा बजार खोल्न पहल सुरु गर्ने बताईन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार