देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

किङ्स इलाभेन पन्जाबसँग दिल्ली ५ विकेटले पराजित

0

एजेन्सी – किङ्स इलाभेन पन्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शीर्ष स्थानको दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । दुबईमा मंगलबार भएको खेलमा पन्जाबले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ५ विकेटले पराजित गरेको हो ।

१ सय ६५ रनको लक्ष्य पछ्याएको पन्जाबले १९ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्यो । पन्जाबको जितमा निकोलस पूरनले ६ चौका र ३ छक्का सहित ५३ रनको महत्वपूर्ण इनिङ खेले । दिपक हुडा १५ र जेम्श निशम १० रनमा अविजित रहे ।

कप्तान केएल राहुल १५ रनमै आउट भएका थिए । क्रिस गेलले सुरुवात राम्रो गरे तर २९ रनमा आउट भए । ग्लेन म्याक्सवेलले ३२ रन योगदान गरे ।

दिल्लीका कागिसो राबडाले दुई विकेट लिए । अक्षर पटेल र रविचन्द्र आश्विनले १/१ विकेट लिए । त्यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा टस जितेर ब्याटिङ रोजेको दिल्लीले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो ।

दिल्लीका ओपनर शिखर धवन ६१ बलमा १२ चौका र ३ छक्का सहित १ सय ६ रनमा अविजित रहे । यो धवनको आईपीएलमा लगातार दोस्रो शतक हो ।

यस्तै, कप्तान श्रेयस आयर र ऋषब पन्तले समान १४/१४ रन बनाए । शिम्रन हिटमायर १० रनमा आउट भए । पन्जाबका मोहमद शामीले २ विकेट लिए । यस्तै ग्लेन म्याक्सवेल,जेम्स निशम र मुरुगान आश्विनले १/१ विकेट लिए ।

दिल्ली क्यापिटल्स १० खेलमा ७ मा जित र ३ मा हार सहित १४ अंकका साथ शीर्षस्थानमा छ । मुम्बई ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ । बेंगलोर ९ खेलमा ६ मा जित र ३ मा हार सहित १२ अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । कोलकाता ९ खेलमा ५ मा जित र ४ मा हार सहित चौथो स्थानमा छ ।

पन्जाब १० खेलमा ६ मा हार र ४ मा जित सहित ८ अंक जोड्दै पाँचौ स्थानमा उक्लिएको छ । राजस्थान १० खेलमा ६ मा हार र ४ मा जित सहित छैटौं स्थानमा झरेको छ । सनराइजर्स हैदराबाद ९ खेलमा ६ मा हार र ३ मा जित सहित सातौं स्थानमा छ । चेन्नई सुपर किंग्स १० खेलमा ७ मा हार र ३ मा जित सहित पुछारमा छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार