देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

किसानको माग अनुसार गहुँको बीउ छैन

0

मकवानपुर – कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालय हेटौँडाले किसानको माग अनुसार गहुँको बीउ उपलब्ध गराउन सकेको छैन ।

लिमिटेडको गोदाममा पर्याप्त मात्रामा गहुँको बीउ भण्डारण नहुँदा किसानलाई मागअनुसार बीउ उपलब्ध गराउन नसकिएको लिमिटेडका कार्यालय प्रमुख लक्ष्मण यादवले जानकारी दिए । कार्यालयका अनुसार चालू आर्थिक वर्ष ०७७/०७८ मा करिब दुई हजार ५०० मेट्रिक टन गहुँका बीउको माग भए पनि कार्यालयबाट करिब एक हजार ६१२ मेट्रिक टन मात्र बीउ उपलब्ध गराउने लक्ष्य रहेको छ  ।

कार्यालयको कार्य क्षेत्र अन्तर्गत यस आव ०७७/०७८ मा वाग्मती प्रदेशको मकवानपुर, चितवन र काठमाडौँ तथा प्रदेश २ को बारा, पर्सा र रौतहट जिल्लामा गहुँको बीउ उपलब्ध गराउने योजना छ तर सम्बन्धित कृषि सामग्री कम्पनी लिमिटेडको सिफारिसका आधारमा अन्य जिल्लामा समेत गहुँको बीउ उपलब्ध गराउँदै आएको कार्यालयको भनाइ छ ।

कार्यालयले ती जिल्लाका विभिन्न सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्तामार्फत गहुँको बीउ बिक्री गर्दै आएको छ । गहुँको जात वा बालीमा भृकुटी, विजय, एनएल ९७१ र गौतम आदि पर्दछन् । किसानको मागअनुसार कम्पनीले गहुँको बीउ पर्याप्त मात्रामा उपलब्ध गराउन नसकेको कार्यालयमा गहुँको बीउ खरिदका लागि आउनुभएका सर्लाही कवलासी निवासी कवलासीस्थित कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष उपेन्द्र यादवले बताए ।

कार्यालयका अनुसार प्रत्येक वर्ष किसानको मागअनुसार गहुँको बीउ पूर्णरूपमा उपलब्ध गराउन सकेको छैन । किसानसँग वैशाख महिनासम्म खरिद गरी राखेको गहुँको बीउलाई कम्पनीले प्रशोधनपश्चात् बिक्री वितरण गर्ने गर्दछ । कार्यालयले किसानसँग गहुँको बीउको गुणस्तरको अवस्था हेरी प्रतिकेजी रु ३५ देखि ४० सम्ममा प्रत्येक वर्षको वैशाख महिनासम्ममा खरिद गरेको बीउलाई हाल प्रतिकेजी रु ६५ मा सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्तालाई बिक्री गर्दै आएको छ ।

प्रायजसो हरेक वर्ष वैशाख महिनासम्ममा कार्यालयले किसानसँग गहुँको बीउ खरिद गरी सुरक्षित भण्डारण गरेर राख्ने गर्दछ । त्यसपछि कार्यालयले उचित प्रशोधन गरी हरेक कात्तिक महिनादेखि मङ्सिर महिनासम्म सहकारी संस्था र निजी बीउबिजन बिक्री गर्ने आपूर्तिकर्तामार्फत गहुँको बीउ बिक्री गर्ने गर्दछ ।

यस वर्ष वाग्मती प्रदेशको मकवानपुर, चितवन र काठमाडौँ तथा प्रदेश २ को बारा, पर्सा र रौतहटसहित अन्य विभिन्न जिल्लामा मागअनुसारको गहुँको बीउ उपलब्ध गराउने लक्ष्य रहेको कार्यालयले जनाएको छ । हरेक वर्षको कात्तिक महिनादेखि पुसको पहिलो सातासम्म गहुँ छर्न उपयुक्त समय मानिन्छ । यस वर्ष बिक्री गर्ने लक्ष्य लिएको करिब एक हजार ५०० मेट्रिक टन गहुँको बीउबाट सो क्षेत्रमा करिब ३८ हजार पाँच हजार मेट्रिक टन गहुँ उत्पादन हुने अपेक्षा गरिएको छ ।

हेटौँडामा यसअगावै रहेको साविकको राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड र साविकको कृषि सामग्री संस्थानलाई समावेश गरी सङ्घीय संरचना अनुसार कृषि सामग्री कम्पनी लिमिटेड प्रादेशिक कार्यालयको रूपमा स्थापना गरिएको थियो ।

विभिन्न पदका ११ कर्मचारीको दरबन्दी रहेको यस प्रादेशिक कार्यालयमा हाल कार्यालय सहयोगी दुई, सवारी चालक एक र अन्य तीन जना प्रशासनिक कर्मचारी मात्र कार्यरत रहेका छन् । कार्यालयमा एक कम्प्युटर सहायक, एक कृषि अधिकृत, एक लेखा अधिकृत, एक नायब प्राविधिक सहायक र एक प्लान्ट (प्रशोधन कारखाना) अपरेटर रिक्त छन् ।  रासस

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार