देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

किसानहरुलाई प्रविधिमा पहुँचमा पुर्‍याउछौं : मन्त्री अर्याल

0

काठमाडौं – कृषि तथा पशुपन्छी विकास मन्त्री पदमा कुमारी अर्यालले अब सरकारबाट उपलब्ध हुने सेवा सुविधा वास्तविक किसानले पाउने बताएकी छन् । किसान सूचीकरण व्यवस्थापन प्रणालीको काठमाडौंमा शनिबार एक समारोहका बीच शुभारम्भ गर्दै मन्त्री अर्यालले यस्तो बताएकी हुन् ।

किसानको नाममा राज्यको थुप्रै सम्पत्ति सकिएपनि अब सूचीकरण भएपछि यस्तो समस्या नआउने बताईन् । उनले भनिन्, ‘किसानहरुको हक हितका लागि यो प्रणाली तयार पारेका हौं । अब सबै किसानका गुनासो आजैबाट अन्त्य भयो ।’ मन्त्री अर्यालले यो प्रणाली लागू भएसँगै वितरणमा भएको झमेला, संघ र प्रदेशले गरेका कार्यक्रममा हुने दोहोरोपनाको अन्त्य हुने बताईन् ।

किसानहरुको सबैखाले सूचना प्राप्त गर्नका लागि एकीकृत सूचना प्रणाली निर्माण गरिने भन्दै मन्त्री अर्यालले सबै किसानहरुलाई प्रविधिमा पहुँच पुर्‍याइने बताईन् । कृषिको औद्योगिकीकरणका निम्ती सरकार लागिरहेको भन्दै उनले हिजोको कृषि र आजको कृषिमा फरक अनुभूति गर्नेगरी अगाडी बढेको जानकारी दिईन् ।

‘कृषिको औद्योगिकीकरण गर्ने ढंगले हामी अगाडी बढेका छौं । हिजोको कृषि र आजको कृषिमा फरक अनुभूती गर्नेगरी हामी अगाडी बढ्छौ’, मन्त्री अर्यालले भनिन्, ‘कृषिमा यान्त्रिकीकरण गर्नका निम्ती हामीले इजरायल सरकारसँगको सहकार्यमा भर्खरै सम्झौता गरेका छौ ।’

समाजवादसम्म पुग्न सबै किसानलाई उत्पादनसँग जोड्नुपर्ने बताउँदै उनले ठूलठूला क्षेत्रमा उत्पादन गरेर कृषिमा आत्मनिर्भर हुनेतर्फ अगाडि बढेको बताईन् । पाँच वर्षभित्र निर्यातमा कदम चाल्ने बताउदै उनले आगामी दुई वर्षमा देशलाई आत्मनिर्भर बनाउने उद्देश्यले काम गरिरहेको जानकारी दिईन् । किसान सूचीकरणले कृषकको मनोवल बढाउनुको साथै जिम्मेवार बनाउने भन्दै मन्त्री अर्यालले यो कार्यक्रमले कृषिमैत्री वातावरण तयार हुने बताईन् ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार