देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कुरिलो खेति प्रविधि र यसको उपयोगिता

0

काठमाडौं – कुरिलो कलिलो टुसा (Spear) को लागि खेती गरिने एक बहुवर्षे तरकारी बाली हो । नेपालमा समुद्री सतह देखि २२०० मि.सम्म कुरिलो पाइन्छ । कुरिलो पौष्टिक तथा पच्न सजिलो तरकारी भएकोले बिरामी तथा कमजोर व्यक्तिहरूलाई खान दिने प्रचलन धेरै पुरानो भए पनि हाल शहरी क्षेत्रमा विभिन्न परिकारमा मिसाई पकाउने चलन पनि बढ्दै गएको छ । नेपालमा यो बालीको खेती व्यावसायिक रूपमा भर्खरै शुरु भएको र विशेष गरी शहरी क्षेत्रमा यसको माग बढ्दै गएको देखिन्छ ।

कुरिलोको वृद्धि र विकास –
कुरिलोको जमिनमुनिको भागमा नरम चिल्लो जरा (Fleshy roots) र रेसादार जराहरूको (Fibrous roots) समष्टि भागलाई क्राउन भनिन्छ । जमिनमुनीका जराहरूमा एक प्रकारका डाँठहरूको विकास भएर क्राउन तयार हुन्छ । क्राउन कुरिलोको बहुवर्षीय अङ्ग हो । रेसादार जराहरूले माटोबाट लवण र पानी सोस्दछन् भने चिल्ला (कमला) जराहरूले खाद्यपदार्थ सञ्चित गर्दछन् । क्राउनबाट टुसा (Spears) को विकास हुन्छ ।

टुसा (Spears) को विकासः-
कुरिलोको टुसा (Spears) खानयोग्य भाग हो । कसिलो, मोटो तथा कम रेसादार टुसा बजारको लागि राम्रो मानिन्छ ।

वोटको विकास (Fern development)-कुरिलोको टुसा यदि टिपिएन÷भाँचिएन भने ४–५ फिट अग्लोसम्म बढ्दछ र धेरै हाँगाहरू विकसित हुन्छन् । यी हाँगाहरूमा पनि अन्तर आँख्लामा वृद्धि आई दोस्रो चरणका (secondary) हाँगाहरू विकसित हुन्छन् । स–साना पङ्खाजस्ता पातहरू फैलिएर झ्याम्म भएको संरचनालाई फर्न भनिन्छ

फूल र फलः-
कुरिलोका फुल साना घन्टी आकारका सेता रंगका हुन्छन् । फल तथा बीउ पोथी बोटमा मात्र लाग्छन् र फल पाकेपछि राता हुन्छन् । सामान्यतया भदौपछि लागेका फलमा मात्र बीउ लाग्छ ।

कुरिलोको महत्वः-
कुरिलोका एकपटक लगाइसकेपछि १०—१५ वर्षसम्म उत्पादनशील रहने र लगाइरहन नपर्ने हुँदा काम गर्न सजिलो हुन्छ । वर्षमा ६÷७ महिनासम्म पनि उत्पादन लिन सकिने भएकोले यस खेतीबाट राम्रो आयआर्जन गर्न सकिन्छ । त्यसैले खेर गइरहेको जमिनमा कम जनशक्ति तथा आर्थिक लगानीबाट बढी फाइदा लिन कुरिलो एक महत्वपूर्ण तरकारी हो ।

पौष्टिक महत्वः-
कुरिलोबाट प्रशस्त मात्रामा पौष्टिक तत्व प्राप्त हुन्छ । कुरिलोलाई चिल्लोपदार्थ बिहीन, कोलेस्ट्रोल र सोडियम तत्वरहित, शक्तिदायक, भिटामिन ए तथा सी प्रशस्त मात्रामा भएको उपयोगी खाद्य पदार्थका रूपमा लिने गरिन्छ ।

कुरिलोको उपयोगिताः-
कुरिलोका ताजा कुरिलो सुप तथा तरकारीका रूपमा उपयोग गरिन्छ भने सीधा घाम नपर्ने खुल्ला ठाउँमा सुकाएर अथवा डिब्बा बन्द (Canning) गरेर पछि पनि उपयोग गर्न सकिन्छ । त्यस्तै हरियो वा बफाइएको (Steamed) कुरिलो सलादका रूपमा उपयोग गर्न सकिन्छ ।

हावापानीः-
कुरिलो न्यानो र समशीतोष्ण हावापानी भएको स्थानमा राम्रो हुन्छ । काठमाडौं जस्तो समशीतोष्ण हावापानी भएको नेपालाको मध्य पहाडी भागमा यसको खेती राम्ररी गर्न सकिन्छ । यसको खेती १५— १८ डि.से. औसत तापक्रम भएको क्षेत्रमा राम्ररी गर्न सकिन्छ । बिरुवाको वृद्धि विकासका लागि ३—५ महिनासम्म सुषुप्त अवस्थामा रहनु अति आवश्यक हुन्छ । सुषुप्त अवस्थामा रहन माटोको तापक्रम १० डि.से. भन्दा कम हुनुपर्दछ । कुरिलोको क्राउन लाई जाडो तथा चिसोबाट केही असर गर्दैन । जाडो महिनापछि पनि तुषारो अथवा जाडो रहिरहने ठाउँ छनोट गर्नु हुँदैन ।

माटोः-
कुरिलो एउटा बहुवर्षे बाली भएकोले प्रशस्त मात्रामा प्राङ्गारिक पदार्थ भएको मलिलो गहिरो, खुकुलो माटो राम्रो हुन्छ । झारपात कम उम्रने जमिन हुनु आवश्यक छ । माटोको पी.एच. ६ देखि ७.५ सम्म राम्रो मानिन्छ । पानीको निकास नभएको अथवा दिनभरि प्रकाश नपर्ने ठाउँलाई कुरिलो लगाउनका लागि राम्रो मानिदैन । कुरिलो खेतीका लागि बाह्रै महिना पानीको सुविधा भएको बलौटे दोमट माटो, पारिलो घाम लाग्ने जमिन हुनु आवश्यक छ । बहुवर्षीय झारको प्रकोप बढी भएको ठाउँलाई पनि छनोट गर्नु हुँदैन ।

जातहरूः-
कुरिलोका शुरुमा मेरी वासिङ्टने जात निकै प्रचलित थियो । यसको स्वाद मीठो भए पनि टुसा सानो हुने तथा टुसा पलाउने समयको अन्तराल अलि बढी हुने भएकोले यो जातको प्रचलन घट्दै गएको पाइन्छ । अमेरिकन जर्सी किङ जातको कुरिलो हाल नेपालमा प्रचलनमा पाइएको छ । यसको स्वाद प्रभावकारी हुनुका साथै १०० ग्रामसम्मको ठूलो टुसा उत्पादन हुन्छ । टुसा दिने समयको अन्तराल पनि छोटो–छोटो हुन्छ ।

हेरचाह (Management)-
कुरिलोको सबैभन्दा ठूलो समस्या भनेको झारपात हो । त्यसैले पटक– पटकको खनजोत र गोडमेलले झारपात नियन्त्रण गर्न सकिन्छ । २-३ इन्चभन्दा बढी गहिरो खन्नाले जरालाई नोक्सानी पु¥याउन सक्छ । ३-४ सेमि गहिरो मल्च राख्नाले पनि झारपात नियन्त्रण गर्न राम्रो सहयोग पुग्दछ । बाली लिईसकेपछि बिरुवाले सुख्खापन महसुस गर्ने भएकोले सिंचाइ गर्नुपर्दछ । जाडो सकिएपछि सुकेका बोटहरूको जमिनमाथिको भाग हटाईदिनुपर्दछ । नोक्सान नपुग्ने गरी हल्का गोडाइ गरी गोबर मलका साथै युरिया र चून (२ के.जी. प्रति रोपनीका दरले माटोमा मिलाएर हल्का ड्याङ बनाउने गर्नुपर्दछ ।

गोडमेलः-
कुरिलो लाइ कात्तिक–मंसिर (ल्यख‐म्भअझदभच) मा पातहरू पहेंलिएपछि सतहबाट ५ से. मि. माथि काटिदिनुपर्दछ । फागुन चैतमा मा टुसा पलाउनुभुन्दा पहिले बोटलाई हारको दुवैतिरबाट कुलेसो बन्ने गरी माटो झिकेर पुर्नुपर्छ ।

मलखाद व्यवस्थापनः-
कुरिलो लाई १ देखि १.५ स्क्वायर फिटको परिधि र गहिराइमा करिब ३ के.जी. कम्पोस्ट मल हालेर कुरिलोको बिरुवा लगाउन सकिन्छ । जमिन तयारी गर्दा शुरुमा तीन÷चार पटक जोतेर डल्ला फोरेर झारपात नभएको जग्गामा प्रति रोपनी कम्तीमा ८०— १०० भारी कम्पोस्ट मल राखेर बिरुवा लगाउनु पर्दछ । तर शुरुमा हालिएको मलले मात्र कुरिलोलाई पुग्दैन । प्रत्येक हिउँदको अन्तिममा वा लाग्दो फागुनतिर कम्पोस्ट मल, कखुराको मल, गाईभैँसीको धूलो मल करिब २—३ के.जी. प्रतिबोट हाल्नुपर्दछ । सिजनमा राम्रो उत्पादन दिन नसक्ने बिरुवालाई मल थपिरहनुपर्दछ ।

सिंचाइः-
कुरिलोलाई सिंचाइ मुख्य गरेर माटोको बनोट, किसिम, मौसम र बालीको अवस्थामा भर पर्दछ । चिम्ट्याइलो माटोमा कम पानी चाहिन्छ भने हलुका माटोमा पटक–पटक गरी सिंचाइ गर्नुपर्दछ । नयाँ बेर्ना, बीउ, क्राउन आदि सारेको २ वर्षसम्म सिंचाइ आवश्यकताअनुसार गर्नुपर्दछ । प्रथम सिंचाइ बाली रोपेपछि लगत्तै दिनुपर्दछ । बाली लिने बिरुवामा पनि आवश्यकताअनुसार सिंचाइ गरिरहनुपर्दछ । खास गरी फागुन, चैत, वैशाख देखि वर्षा नभएसम्म सिंचाइ गर्नु जरुरी पर्दछ ।

झारपात गोडमेलः-
कुरिलो बहुवर्षीय बाली भएकोले सबैभन्दा ठूलो समस्या भनेको झारपात हो । त्यसैले समय–समयमा झारपातहरू हटाई गोडमेल गर्नुपर्छ ।

अन्तरबालीः-
कुरिलोको खेती लगाएको ६ देखि १२ महिनासम्म तथा हिउँदमा ६ महिनासम्म टुसा (कउभबच) नआउने तथा आएको टुसा उत्पादन नलिइने हँुदा उक्त जग्गामा अन्तरबालीको रूपमा छोटो समयमा हुने साथै अग्लो नहुने तरकारी बालीहरू लगाउनुपदर्छ । अन्तरबालीमा मेथी, चम्सुर आदि अन्य तरकारीहरू पनि लगाउन सकिन्छ ।

बाली लिने अवस्थाः-
कुरिलो साधारणतया कुरिलोको उत्पादन दोस्रो÷तेस्रो वर्ष देखि हुन थाल्दछ । कुरिलो एकपटक लगाएपछि राम्रो रेखदेख भएमा यसबाट १० देखि १५ वर्षसम्म उत्पादन लिन सकिन्छ । बेर्ना सार्नासाथ टुसाहरू पलाउँछन् । तर शुरुमा पलाएका केही टुसाहरू टिप्नु हँुदैन । त्यसरी छाडिएका टुसाहरूबाट बोटको राम्रो झाङ फैलिन्छ र स्वस्थ रहन्छ । टुसालाई हुर्कन दिएमा खाद्य पदार्थमा वृद्धि आई क्राउनमा सञ्चित भएर अर्को वर्ष देखि बढी टुसा आउने हुन्छ । त्यसैले बेर्ना सारेको दोस्रो वर्ष देखि मात्र वास्तविक रूपमा टुसाहरू टिप्न शुरु गर्नुपर्छ । टुसा ८—१२ से.मि. लामा भएपछि काटेर अथवा त्यसै भाँचेर निकाल्न सकिन्छ ।

उत्पादनः-
कुरिलोको व्यावसायिक रूपले १ वर्षपछि उत्पादन दिन्छ । चैतको शुरुबाट असोजसम्म सामान्यतया कुरिलोको उत्पादन लिन सकिन्छ । कुरिलोको सरदर उत्पादन २००–५०० के.जी. प्रति रोपनी पाइएको छ । चैत देखि भदौसम्म राम्रो उत्पादन लिन सकिन्छ । सामान्यतया भौगोलिक अवस्थाअनुसार पहाडी भागमा ४—६ महिनाजति र तराईमा ६—७ महिनाजति उत्पादन लिन सकिन्छ ।

Ram Prasad Gautan

Krishiban

Balkumari, Koteshower, Kathmandu

9851159630,9801237730,

 Email:nafscol@gmail.com

Website: www.nafscol.com

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार