देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कूटनैतिक मर्यादाविपरीतको भेटघाटले विवादमा तानिए माधव नेपाल

0

काठमाडौं – एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल मलेसियाका गृहमन्त्रीसँगको भेटका कारण विवादमा तानिएका छन् ।

इन्डोनेसिया जाने क्रममा नेपालले मलेसियाका गृहमन्त्री सैफउद्दिन नासुसन इस्माइलसँग शिष्टाचार भेट गरेर छलफल भएको ८ बुँदे ‘प्रस्ताव’ सार्वजनिक भएपछि विवादमा तानिएका हुन् ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँगको छलफलबिना पूर्वप्रधानमन्त्री नेपालले नेपाल र मलेसियाको श्रम सम्झौताविपरीत तीनवटा प्राविधिक विषय प्रस्ताव गरेको ‘नोट’ सार्वजनिक भएको हो ।

गृहमन्त्रीसमक्ष पूर्वप्रधानमन्त्री नेपालले ‘मलेसियालाई आवश्यक गुणस्तरीय श्रमिक उत्पादन गर्न नेपालमा आधिकारिक तालिम केन्द्र स्थापना गर्नुपर्ने, सुरक्षा जाँच, मेडिकल परीक्षण र भिसा शुल्क हटाउनुपर्ने, सरकारी संयन्त्रमार्फत नै सुरक्षा गार्ड भर्ना हुनुपर्ने’ एजेन्डा उठाएका थिए ।

पूर्वप्रधानमन्त्री नेपालले मलेसिया सरकारलाई तालिम केन्द्र स्थापनाका लागि प्रस्ताव गर्नुका पछाडि निश्चित व्यवसायीको सिन्डिकेट खडा गर्ने स्वार्थ रहेको भन्दै नेपाल वैदेशिक रोजगार व्यवसायी संघले विरोध गरेको छ ।

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेल समाजवादीकै कोटामा सिफारिस गरिएकाले पनि नेपालले राखेको प्रस्तावप्रति संघ संशकित बनेको हो ।

नेपालमा मलेसियाको कम्पनी खडा गरी अनिवार्य तालिम लिएर मात्रै जान पाउने गरी नेपाली दूतावासले त्यहाँको गृह मन्त्रालयलाई प्रस्ताव गरेको विषय गम्भीर र कूटनैतिक मर्यादाविपरीत भएको भन्दै संघले विज्ञप्ति जारी गरेको छ । ‘मलेसियामा श्रमिक पठाउन नेपालका सीमित व्यवसायीबाट मात्रै कामदार लिन त्यहाँको गृह मन्त्रालयलाई लबिइङ गरेको भन्ने समाचार सञ्चारमाध्यममा आएकाले यस विषयमा प्रस्ट पार्न दूतावाससँग संघ माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपालको मलेसियाका गृहमन्त्रीसँगको भेटमा छलफल गरिएको विषय विवादमा तानिएपछि मलेसियास्थित नेपाली दूतावासले उक्त भेटघाट नितान्त निजी र शिष्टाचारपूर्ण मात्र रहेको जनाएको छ । ‘नेपाली श्रमिकको नियुक्तिसम्बन्धी विषयमा नेपाली दूतावासका तर्फबाट कुनै नयाँ व्यवस्थाका लागि प्रस्ताव पेस नगरिएको व्यहोरासमेत अनुरोध गरिन्छ,’ शनिबार जारी विज्ञप्तिमा उल्लेख छ ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार