देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कांग्रेसको केन्द्रीय समितिमा देउवा र पौडेलको चर्काचर्की

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – संसद विघटन गर्ने सरकारको निर्णयविरुद्ध आन्दोलनमा जाने कि नजाने भन्ने विषयमा प्रमुख प्रतिपक्षप् नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा नेताहरुको मत बाझिएको छ ।

प्रतिनिधिसभा विघटनका सन्दर्भमा ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालयमा मंगलबारदेखि जारी केन्द्रीय कार्यसमिति बैठकमा संस्थापन र इतर पक्षबीच मत विभाजित हुन पुगेको हो । संस्थापनका नेताहरुले संसद विघटनको विरुद्धमा आन्दोलन जान नहुने मत राख्दै आएका छन् भने इत पक्षले तत्काल आन्दोलनमा जानुपर्नेमा जोड दिएको छ ।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध तत्काल आन्दोलनमा जाने कि निर्वाचनलाई स्वीकार गर्ने भन्नेमा बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भनाभन भएको छ ।

केन्द्रीय सदस्यहरुले बोल्ने क्रममै सभापति देउवाले हस्ताक्षेप गरेपछि पौडेल र देउवाबीच बैठककै बीचमा घोचपेच सुरु भएको थियो । बैठक लम्बिने देखिएपछि पौडेलले बुधबार नै आन्दोलनका कार्यक्रम घोषणा गर्नु पर्ने बताएका थिए । तर सभापति शेरबहादुर देउवा सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय पर्खिने भन्दै नेकपा फुटिनसकेको भन्दै विरोधका कार्यक्रम घोषणा गर्न अस्वीकार गरे ।

मंगलबारको बैठकमा केन्द्रीय समितिका चार नेता बोलेका थिए । बुधबार पनि केन्द्रीय कार्यसमिति बैठक केहीबेर बस्यो र चार जना बोलेर सकियो । ओलीको कदमबारे सर्वोच्चको फैसला र नेकपाबारे निर्वाचन आयोग निर्णय नआएसम्म पार्टी आन्दोलन जान नहुने सभापति देउवाको भनाइ थियो ।

त्यसका प्रतिवादमा पौडेलले भने, ‘पार्टी कहिले फुट्छ ? निर्वाचन आयोगको निर्णय कहिले आउँछ भनेर काँग्रेस कुरेर बस्ने ? त्यतिञ्जेल सुतेर बस्ने ? आजै नै आन्दोलनको घोषण गर्नुपर्छ, । हामी सडकमा जानुपर्छ ।’

देउवा र वरिष्ठ नेता पौडेलबीच केहीबेर चर्काचर्की नै भएपछि बैठक भोलि बिहीबार फेरि बस्ने गरी स्थगित भएको छ । एक पदाधिकारीका अनुसार भोलिको बैठकले संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्ने कार्यक्रम तय गर्नेछ  ।

बैठकमा के भने नेताहरुले 

बैठकमा डा. रामशरण महतले संसद विघटन असंवैधानिक भनेर जानुपर्ने बताए । महतले संसद भंग गर्न सिंगो कम्युनिष्ट पार्टीका नेताहरू नै सक्रिय रहेकोले यो वा त्यो खेमासँग सहकार्य गरेर भन्दा पनि काँग्रेस एक्लै विरोधमा उत्रिनुपर्ने बताएका थिए ।

नेता गगन थापाले पदाधिकारी बैठकले प्रतिनिधिसभा विघटन असंवैधानिक र अलोकतान्त्रिक भनिसकेकाले अलमल गर्न नहुने बताए ।प्रधानमन्त्रीको असंवैधानिक कदम नसच्चिएसम्म चुनाव गर्ने बाटो नखुल्ने उनको भनाइ थियो । ‘सडकमा हामी गएनौं भने अर्को कोही जान्छ, सडक कहिल्यै खाली हुँदैन । असंवैधानिक कदम नसच्चिएसम्म चुनाव गर्ने बाटो खुल्दैन,’ थापाले भने ।

नेता बलबहादुर केसी र आनन्दप्रसाद ढुंगानाले पनि संसद विघटन असंवैधानिक र संविधान विपरीत भएको बताए । केसीले सडक आन्दोलनको विकल्प रोज्न नहुने मत राखेका थिए । ढु्ंगानाले संसद विघटन असंवैधानिक भए पनि आन्दोलनका स्वरुपबारे छलफल गर्नुपर्ने बताएका थिए । साथै उनले तत्काल आन्दोलन जान नहुने मत पनि राखेका थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार