देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कैलालीमा सोमबारबाट नयाँ धान खरिद कार्य सुरु

0

कैलाली – खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा नयाँ धान खरिद कार्य सोमबारबाट सुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको स्थानीय प्राथमिक खरिद समितिको बैठकले गरेको निर्णयबमोजिम किसानको धान खरिद कार्य शुरु गरिएको कार्यालयका प्रमुख अनिल श्रेष्ठले जानकारी दिए ।

जिल्लाको मोहनपुर र टीकापुरमा रहेको कम्पनीको आफ्नै गोदाममा काँटा सञ्चालन गरी आजैबाट नयाँ धान खरिद सुरु गरिएकामा सत्ती, भजनी र जोशीपुरमा एक÷दुई दिनमा खरिद कार्य शुरु हुन लागेको श्रेष्ठले बताए ।

सरकारले तोकेको समर्थन मूल्यमा कम्पनीले नयाँ धान खरिद गर्न लागेको हो । सरकारले मोटो धान प्रति क्वीन्टल रु दुई हजार ७३५ समर्थन मूल्य तोकेको छ । कम्पनीले यस वर्ष छ हजार ५०० मे.टन (६५ हजार क्वीन्टल) धान खरिद गर्ने लक्ष्य राखेको छ । गत वर्ष ५०हजार क्वीन्टल धान खरिद गरिएको थियो ।

कम्पनीले धान खरिदको व्यवस्था समयमै नगर्दा आजसम्म स्थानीय साना किसानलाई घर खर्चको व्यवस्था गर्नका लागि प्रति क्वीन्टल रु दुई हजारमा व्यापारीलाई बिक्री गर्नुपर्ने वाध्यता रहेको थियो । सरकारी कार्यालयले समयमै धान खरिदको व्यवस्था नगर्दा आफूले दसैंमा घर खर्च जुटाउनका लागि व्यापारीले भनेको भाउमा धान बेच्न बाध्ष् भएको धनगढीका किसान रामदीन चौधरीले गुनासो गरे ।

अनुकूल मौसमका कारण यस वर्ष जिल्लामा धान उत्पादन गत वर्ष भन्दा वृद्धि भएको अनुमान गरिएको छ । कृषि ज्ञान केन्द्र कैलालीका प्रमुख खगेन्द्रप्रसाद शर्माले डुबानबाट प्रभावित क्षेत्रबाहेक जिल्ला भरीको उत्पादन यस वर्ष गत वर्षभन्दा केही वृद्धि भएको अनुमान गरिएको बताए ।

डुबानको समस्याका कारण भजनी र जानकीनगरलगायतका क्षेत्रमा गरिएको जग्गाको धानवाली नष्ट भएको थियो । जिल्लामा झण्डै ७० हजार हेक्टर जग्गामा वर्षे धान खेती हुँदै आएकामा उत्पादकत्व प्रति हेक्टर तीन दशमलव पाँच मे.टन रहेको छ । – रासस

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार