देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोभिड विरुद्धको खोप लगाउने तयारी पूरा

0

काठमाडौं – कोरोना संक्रमण विरुद्धको खोप ७७ वटै जिल्लामा ढुवानी भईसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयमसेविका, फोहोरमैला व्यवस्थापनकर्मी, अध्यागमन विभागबाट फ्रन्टलाइनमा खटिने कर्मचारी तथा कोभिड-१९ संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा खटिनेलाई पहिलो चरणमा भोलि खोप लगाईदैछ ।

मुलुकभर स्वास्थ्यकर्मीको संख्या २ लाख २७ हजार ७ सय २ छ । भारतले उपलब्ध गराएको १० लाख डोज कोभिसिल्ड खोप ४ लाख ३० हजार जनालाई लगाइनेछ । ४ साताको अन्तरालतमा २ पटक लगाउँदा ८ लाख ६० हजार डोज खोप खपत हुनेछ । खोप लगाउने क्रममा केही खेर जाने हुँदा बाँकी खोप मौज्दातमा पठाइएको मन्त्रालयले जनाएको छ ।

१ वर्ष भन्दा माथिका उमेर समूहलाई मात्र खोप लगाइने बताउँदै मन्त्रालयले ज्वरो आएको वा कोभिड–१९ को लक्षण भएमा वा अन्य सक्रिय संक्रमण भएको अवस्थामा खोप नलगाउन आग्रह गरेको छ ।

त्यस्तै, गर्भवती वा सुत्केरीलाई खोप दिन नहुने चिकित्सकीय मापदण्ड छ । पहिलो चरणको खोप लगाउँदा एलर्जी भएमा दोस्रो खोप नलगाउन नहुने चिकित्सकको सुझाव छ ।

सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुन सक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ लाग्ने र आलस्य महसुस हुने, वाकवाकी जस्ता स्वास्थ्य समस्या देखिन सक्ने छ । कुनै साईड इफेक्ट देखिए सरकारले निशुल्क उपचार गर्ने बताईसकेको छ ।

काठमाडौं उपत्यकामा १७ वटा तथा अन्य जिल्लामा कम्तीमा एउटा खोप केन्द्र स्थापना गरिएको छ । प्राथमिकतामा परेकाले सम्बन्धित जिल्लाका जिल्ला अस्पतालमा गई खोप लगाउन मन्त्रालयले आग्रह गरेको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार