देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोनाका कारण बन्द रहेका विद्यालय सञ्चालनको कार्यढाँचा सार्वजनिक

0

काठमाडौं – सरकारले कोरोना भाइरस (कोभिड-१९) को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा स्वास्थ्य सुरक्षाका उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालन गर्न बाटो खुलाएको छ । नेपालमा कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत ११ गतेदेखि देशभरका विद्यालयहरु बन्द गरेको थियो ।

गत कात्तिक २२ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयबाट स्वीकृत ‘कोभिड–१९ को सन्दर्भमा विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा, २०७७’ लाई मन्त्रालयले वेबसाइटमा समावेश गरी स्थानीय तहलाई जोखिमको मूल्यांकन गरी क्रमशः विद्यालय खोल्न मार्गदर्शन गरेकोे हो ।

विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा २०७७ मा क्वारेन्टिन, आइसोलेसन केन्द्रका रूपमा रहेका विद्यालय पुनः सञ्चालन पूर्व निर्मलीकरण लगायत जनस्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्नुपर्ने उल्लेख छ । विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नुपर्ने मूलभूत कार्यलाई व्यवस्थित बनाउन पनि आग्रह गरिएको छ ।

कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले गत चैत ११ गतेदेखि देशभरका विद्यालयहरु गरी क्वारेन्टिन र आइसोलेशन सेन्टरका रुपमा प्रयोग गरेका थिए । कोरोना महामारीका कारण बन्द रहेका विद्यालयका शैक्षिक क्रियाकलापमा सहजीकरण गर्ने अभिप्रायले साउन १२ गतेको मन्त्रिपरिषद् बैठकले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय विद्यालय पुनः सञ्चालन सम्बन्धी कार्यढाँचा जारी गर्ने गरी जिम्मेवारी दिएको थियो ।

असोज २२ गतेको मन्त्रिपरिषदको निर्णयबाट मन्त्रालयलाई कोभिड–१९ को जोखिम नभएका र कम हुँदै जाने स्थानीय तहका विद्यालयमा आलोपालो सिफ्ट वा उपयुक्त विधि अपनाई पठनपाठन सञ्चालन गर्न स्वीकृित पाएको थियो । गत असोज २२ को निर्णयका आधारमा सरकारले सबै तहका परीक्षा सञ्चालनको कार्य शुरु गरिसकेको छ । यही मङ्सिर ९ गतेदेखि कक्षा १२ को गत वर्षको परीक्षाको ४० नम्बर प्राप्ताङ्कका लागि प्रत्यक्ष परीक्षा हुँदैछ ।

स्थानीय सरकारहरुले अब एकै समयमा सबै कक्षा वा अलग–अलग समयमा अलग–अलग कक्षा सन्चालन गर्न सक्ने छन् । कक्षा अवधिको समय छोट्याउने र हप्तामा केही दिन वा दिनमा केही घण्टा कक्षा सन्चालन गर्ने विकल्प पनि दिइएको छ । कार्यढाँचामा विद्यार्थी भर्ना, विद्यालय सञ्चालन एवं शिक्षण सिकाइ व्यवस्थापन तथा स्थगित परीक्षा सञ्चालनका सन्दर्भमा गर्नुपर्ने मूलभूत कार्यलाई व्यवस्थित बनाउन पनि आग्रह गरिएको छ ।

 

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार