देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु

0

काठमाडौं – नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । महोत्तरी, धनुषा, अछाम र मोरङमा थप गरी ५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पर्साको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका बाराका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रसौनी गाउँपालिकाका ६५ वर्षीय र जीतपुर–सिमरा उपमहानगरपालिकाका ५० वर्षीय पुरुषमा मृत्यु भइसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ वर्षीय पुरुष दमका रोगी थिए । ज्वरो र खोकी लागेर स्वास प्रश्वासमा समस्या भएपछि बिहीबार बयोधा अस्पताल लगिएको थियो । त्यहाँबाट नारायणी अस्पताल रेफर गरिएका उनको उपचारको क्रममा बिहान साढे ८ बजे उनको मृत्यु भएको थियो ।

त्यस्तै, जीतपुर सिमरा उपमहानगरपालिका–४ सिमरा टोल बस्ने ५० वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी थिए । मन्त्रालयका अनुसार धनुषाको मिथिला नगरपालिका–७ ढल्केवरका ८५ वर्षीया महिलाको साउन २८ गते धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै, अछामको रामारोशन गाउँपालिका—५ का १८ वर्षीय किशोरको साउन २८ गते पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मुटुरोगबाट ग्रसित थिए ।

मोरङको विराटनगर महानगरपालिका—३ का ५७ वर्षीय पुरुषको साउन २८ गते कोसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । उनी मधुमेह र उच्च रक्तचापबाट ग्रसित थिए ।

यसैगरी महोत्तरीको महोत्तरी मटिहानी नगरपालिका ६ का ४५ वर्षिय पुरुषको साउन २५ गते मृत्यु भएको हो । क्षयरोग र मधुमेहका ग्रसित उनको राज जानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार