देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना बीमाको मापदण्ड संशोधन, १ लाखको बीमा गर्दा २५ हजार मात्रै पाइने

0

काठमाडौं – बीमा समितिले कोरोना बीमाको मापदण्ड संशोधन गरेको छ । सोमबारबाट लागू हुने गरी समितिले बीमितहरुका लागि नयाँ मापदण्ड ल्याएको हो ।

बीमा समितिले मापदण्ड संशोधन गर्दै एक लाख रुपैयाँको बीमा गरेको व्यक्तिमा कोरोना संक्रमण पुष्टि भए २५ हजार रुपैयाँ मात्रै पाउने व्यवस्था गरेको छ । नयाँ बीमितलाई कोभिड–१९ संक्रमण पुष्टि हुनासाथ बिमांक रकमको २५ प्रतिशत मात्र दिने भएको छ । समिति अनुसार कोरोना बीमाको मापदण्ड परिवर्तन गर्ने क्रममा दाबी भुक्तानी २५ हजार रुपैयाँ मात्रै पाउने र अस्पताल भर्ना भएका बिमितले एक लाख रुपैयाँसम्मको उपचार खर्च पाउने भएका छन् ।

तर, बीमा गरेका कोरोना संक्रमित अस्पतालको आइसोलेसनमा बसेको अवस्थामा बिल भर्पाई पेश गरेर थप ७५ हजार रुपैयाँ पाउने संशोधित व्यवस्थामा उल्लेख गरिएको छ । समितिले पहिलो पटक कोरोना बीमा मापदण्ड जारी गर्दा एक लाख रुपैयाँको बीमा गर्दा कोरोना संक्रमण भएपछि एक लाख रुपैयाँ नै दाबी पाउने व्यवस्था गरेको थियो । त्यस्तै ५० हजार रुपैयाँको बीमा गर्ने बिमितले संक्रमण भएको पुष्टि भएमा ५० हजार रुपैयाँ नै पाउने व्यवस्था गरेको थियो ।

भदौ २८ अघि जारी गरिएका बीमा लेखमा भने पुरानै व्यवस्था लागू हुने छ । अर्थात सो मितिअघि बीमा गरेकालाई पीसीआर पोजेटिभ आएपछि पूर्ण रकम नै भुक्तानी हुनेछ । बीमा गर्नेहरुको संख्या उच्च भएपछि समितिले आफ्नो मापदण्ड संशोधन गरेको हो । समितिका अनुसार हालसम्म करिब ४ सय जनाले काेराेना बीमाकाे भुक्तानी लिएका छन् भने १२ सयले क्षतिपूर्तिका लागि दावी गर्दै बीमा कम्पनीहरुमा निवेदन दिएका छन् ।

१३ लाख भन्दा बढी संख्याले बीमा गरेको र ७५ करोड रुपैयाँ बराबर प्रिमियम रकम संकलन भएकाे छ । त्यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट मान्यताप्राप्त निजी प्रयोगशालाको पिसिआर परीक्षण रिपोर्टलाई पनि मान्यता दिइने भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार