देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना भाइरस भित्रिन नदिन सीमा सुरक्षामा कडाई

0

(काठमाडौं) – गृहमन्त्री रामबहादुर थापाले कोरोना भाइरस भित्रिन नदिन सीमा नाकामा कडाइ तथा निगरानी बढाउन र सशस्त्रको सीमा निगरानी पोष्टलाई थप सक्रिय बनाउन निर्देशन दिएका छन् । कोरोना भाइरसको प्रभाव न्यूनीकरण, पूर्वतयारी तथा सहजीकरण समितिको शुक्रबार बसेको बैठकमा गृहमन्त्री थापाले जनचेतना बढाउन, कालोबजारी नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय र प्रहरीलाई निर्देशन दिए ।

कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि सरकारले सीमा क्षेत्रमा कडाइ गर्ने भएको छ । कोरोना भाइरसको संक्रमण भित्रिन नदिन देशको सीमा नाका मार्फत हुने आवतजावतमा सुरक्षाकर्मीले थप निगरानी बढाउने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।

बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा हुने स्वास्थ्य परीक्षणमा सहयोग गर्ने, जनमानसमा कोरोना भाइरस सम्बन्धी जनचेतना बढाउन सूचना सम्प्रेषण गर्ने तथा सरकारबाट गठित उच्चस्तरीय समन्वय समितिलाई आवश्यक सहयोग गर्ने निर्णय समेत गरेको छ ।

बैठकले दैनिक रूपमा आवश्यक पर्ने अत्यावश्यक सामग्रीको आपूर्ति व्यवस्थापनमा सहजीकरणका साथै महँगी तथा कालाबजारीको नियन्त्रण गर्न बजार अनुगमन गर्ने निर्णय पनि गरेको छ । बैठकमा गृहसचिव महेश्वर न्यौपाने, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, नेपाली सेनाका उपरथी तथा स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरु सहभागी थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार