देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना विरुद्धको खोप ९५ प्रतिशत प्रभावकारी भएको दाबी

0

काठमाण्डौं – विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अर्को सफलता प्राप्त भएको दाबी गरिएको छ । कोरोनाविरुद्ध अमेरिकी कम्पनी मोडर्नाले बनाइरहेको खोप प्रभावकारी देखिएको दाबी गरिएको हो ।

सोमबार कम्पनीले प्रेस विज्ञप्ति जारी गर्दै कोरोनाविरुद्ध आफूले विकास गरिरहेको खोप ९५ प्रतिशत प्रभावकारी देखिएको दाबी गरेको हो । केही दिनअघि फाइजर र बायो एनटेकले संयुक्त रुपमा विकास गरिरहेको खोप कोरोनाविरुद्ध ९० प्रतिशत प्रभावकारी देखिएको बताइएको थियो ।

अमेरिकी बायोटेक कम्पनी मोडर्नाले कोरोनाविरुद्धको तेस्रो चरणको चिकित्सकीय परीक्षणका उक्त खोप ९४.५ प्रतिशत प्रभावकारी देखिएको बताएको हो । मोडर्नाको परीक्षणमा ३० हजार स्वयंसेवी सहभागी भएको बताइएको छ । तीमध्ये आधालाई २८ दिनका अन्तरमा खोपको २ डोज दिइएको थियो भने आधालाई उति नै समयावधिमा प्लेसिबोको दुई सट दिइएको थियो ।

यो खोपले कुनै साइड इफेक्टबिना एन्टिबडीको विकास गरी भाइरसलाई परास्त गर्ने दाबी पनि गरिएको छ । त्यसैले ‘एमआरएनए’ प्रविधिमा आधारित कोरोनाविरुद्धका २ खोपको परीक्षण प्रभावकारी देखिनु चिकित्सा क्षेत्रका लागि खुसीको खबर भएको वैज्ञानिकहरु बताउँछन् ।

मोडर्नाले विकास गरिरहेको खोपको सुरक्षित भण्डारण पनि फाइजरको भन्दा फरक रहेको छ । मोडर्नाले आफूले विकास गरिरहेको खोप माइनस ४ डिग्री सेल्सियसको तापक्रममै सुरक्षित रुपमा भण्डार गर्न सकिने दाबी गरेको छ । जुन घरमा राखिने फ्रिजमा पनि सम्भव देखिन्छ । तर फाइजरले बनाइरहेको खोप भने माइनस ७० डिग्री सेल्सियसको तापक्रममा भण्डारण गर्नुपर्ने बताइएको छ ।

दुवै कम्पनीले अमेरिकाको नियमनकारी निकाय खाद्य तथा औषधि प्रशासन(एफडीए) बाट खोपको सुरक्षा र प्रभावकारिताबारे अझै पनि ‘सेफ्टी डेटा’ लिने काम गरिरहेका छन् ।मोडर्नाले केही हप्तामा एफडीएमा खोपको आपत्कालीन प्रयोगका लागि निवेदन पेस गर्ने बताएको छ । बिबिसी

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार