देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु

0

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप ९ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

कोरोना संक्रमणबाट काठमाडौं, ललितपुर, बारा, कास्की, रुपन्देही, कपिलवस्तु, बाँके, धनुषा र पर्सामा एकएक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ५ महिला र चार पुरुष छन् ।

पाटन अस्पतालमा उपचारको क्रममा ललितपुरकी ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । उनी ९ गतेदेखि अस्पतालमा उपचाररत थिइन् ।

कोरोना संक्रमणबाट काठमाडौंको तारकेश्वर नगरपालिका –११ का ४८ वर्षीय पुरुषको किस्ट अस्पतालमा मृत्यु भएको छ । कोरोनासँग मिल्दोजुल्दो लक्षण लिएर ७ भदौमा अस्पताल भर्ना भएका उनलाई कोरोना संक्रमण भएको ९ गते पुष्टि भएको थियो । संक्रमणका कारण निमोनिया भइसकेको उनको भेन्टिलेटरमा राखेर उपचारका क्रममा मृत्यु भएको हो ।

पोखरा स्वास्थ विज्ञान प्रतिष्ठान अन्तर्गत कोभिड–१९ उपचार केन्द्रको आईसीयूमा उपचाररत पोखरा महानगरपालिका–११ की ३२ महिलाको बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए । ज्वरो आउने र श्वास फेर्न गाह्रो भएपछि गत शनिबार उनी पोखराकै कास्की सेवा अस्पतालको आईसीयूमा भर्ना भएकी थिइन् ।

रुपन्देहीको तिलोत्तमा–२ की ७० वर्षीया महिलाको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । २६ साउनमा कोरोना पुष्टि भएकी उनलाई स्वास्थ्यमा समस्या भएपछि ३१ गते अस्पताल भर्ना गरिएको थियो । उनको प्लाज्मा थेरापी समेत गरिएको थियो ।

कपिलवस्तुका ५० वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । भदौ ५ मा कोरोना संक्रमण पुष्टि भएपछि अस्पताल भर्ना भएका उनको पछिल्लो समय भेल्टिलेटरमा उपचार भइरहेको थियो ।

बाँके नेपालगञ्ज–७ की ७० वर्षीया महिलाको नेपलगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ । दम बढेपछि ३ भदौमा नर्सिङ होममा भर्ना भएकी उनलाई कोरोना संक्रमण पुष्टि भएपछि कोहलपुरमा रिफर गरिएको थियो ।

पर्साको धोविनी गाउँपालिका–३ का ७२ वर्षीय पुरुषको नारायणी अस्पतालमा मृत्यु भएको छ । भदौ ८ मा भर्ना भएका उनलाई निमोनिया समेत भएको थियो ।

बाराको सुर्वण गाउँपालिका–४ का २३ वर्षीया महिलाको पनि नारायणीमै मृत्यु भएको थियो । ३३ हप्ताकी गर्भवती उनी ८ गते अस्पताल भर्ना भएकी थिइन् । भेल्टिलेटरमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको छ ।

वीरगञ्ज महानगरपालिका–१४ बहुअरीका ६२ वर्षीय पुरुषको बिहीबार बिहान ८ बजेर १० मिनेटमा नारायणी अस्थायी हेल्थ केयर कोरोना अस्पतालमा मृत्यु भएको हो । मिर्गौलाका बिरामी रहेका उनको अस्पतालमै नियमित डायलसिस समेत भइरहेको थियो । गत साउन ३० गते उनी कोरोना अस्पतालमा भर्ना भएका थिए ।

प्रादेशिक अस्पताल, जनकपुरधाममा बुधबार मृत्यु भएका धनुषाको मुपखयापट्टी मुसहरनिया–४ का ४५ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । रुघाखोकी र ज्वरो आएपछि अस्पताल पुगेका उनको उपचार सुरु भएको केही घण्टामा नै मृत्यु भएको थियो ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार