देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोरोना संक्रमण पहिचान गर्न सर्वसुलभ तरिकाबाट परीक्षण गरिने

0

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले कोरोना भाइरस संक्रमण पहिचानका लागि छिटोछरितो र सर्वसुलभ तरिकाबाट परीक्षण गरिने बताएको छ ।

डब्लूएचओका अनुसार न्यून र मध्यम आय भएका मुलुकमा कम शुल्क र छिटो परीक्षण गरी कोरोना भाइरस संक्रमितको पहिचान गरिने भएको हो । सो परीक्षणका लागि ५ सय ८८ रुपैयाँ मात्र खर्च लाग्ने र १५ देखि ३० मिनेटमा परीक्षणको नतिजा आउने डब्लूएचओको दाबी छ ।

डब्लूएचओले आगामी ६ महिनाभित्र एन्टिजेनमा आधारित १२ करोड ‘र्‍यापिड डायग्नोस्टिक टेस्ट’ गर्ने दाबी गरेको छ । यो परीक्षण चिकित्सक र प्रयोगशाला कम भएका देशहरुमा प्रभावकारी हुने बताइएको छ ।

परीक्षणका लागि बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेसन र टेस्ट कीट उत्पादक कम्पनीहरु एबोट र एसडी बायोसेन्सरसँग सम्झौता भएको छ । सम्झौता अनुसार कम आम्दानी भएका विश्वका १ सय ३३ देशमा परीक्षण कीट उपलब्ध गराइनेछ ।

जसमा कोरोना महामारीबाट अतिप्रभावित ल्याटिन अमेरिकी देशहरु पनि रहेका छन् । यसका लागि ग्लोबल फन्डबाट सुरुवाती चरणमा ५० मिलियन अमेरिकी डलर छुट्याइएको छ ।

डब्लूएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले यसलाई कोरोना परीक्षणको कोशेढुंगाका रुपमा व्याख्या गर्दै कोरोना परीक्षण र नतिजा आउनलाई लाग्ने समयका कारण देखिएको चुनौती न्यूनिकरण हुने विश्वास व्यक्त गरे ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार