देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले दिए राजीनामा

0

काठमाडौं – कोशी प्रदेशसभामा मुख्यमन्त्री हिक्मत कार्कीले राजीनामा दिने घोषणा गरेका छन्। कोशी प्रदेशसभामा शनिबार बाेल्दै मुख्यमन्त्री हिक्मत कार्कीले पदबाट राजीनामा दिएको घोषणा गरेका हुन्।

प्रदेशसभमा विश्वासको मत नपाउने भएपछि एमाले संसदीय दलको बैठकले राजीनामा दिने निर्णय गरेको थियो। एमाले कोशी प्रदेशका प्रमुख सचेतक रेवतीरमण भण्डारीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री कार्कीले पार्टि संसदिय दलको निर्णय अनुसार नै राजीनामा दिएको बताए।

कार्कीले अहिले कोशी प्रदेशमा राजनीतिक निकासका लागि सबै दललाई आह्वान गरे। उनले मध्यावधि निर्वाचनले राजनीतिक निकास नहुने पनि बताए। उनले भने, ‘प्रदेशमा मध्यावधि निर्वाचन जनताको माग होइन।’

उनले कतिपय घटनाका कारण जनता निर्वाचनको मुडमा नरेहको पनि बताए। कार्कीले भने, ‘राजनीतिक निकासका लागि के कसरी सकिन्छ, एमाले तयार छ। अरू दल पनि आउनपर्‍यो। यहाँ अब सरकारको कुरा रहेन।’

शनिबार नै मुख्यमन्त्री कार्कीले आफूलाई विश्वासको मत दिन सबै दलको संसदीय दलका नेतालाई आग्रह गरेका थिए। उनले पत्र लेख्दै सबै दलका संसदीय दलका नेतालाई विश्वासको मत दिनका लागि आग्रह गरे पनि विश्वासको मत दिन अन्य दल सहमत भएनन्।

प्रदेश सरकारको दोस्रो कार्यकालमा २०७९ पुस १७ गते पहिलो बैठक बसेको थियो। पुस २४ गते संविधानको धारा १६८ (२) अनुसार दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्रीमा नियुक्त भएका कार्की नेतृत्वको सरकार २०८० असार १५ गते ढलेको थियो।

कार्यव्यवस्था परामर्श समितिको बुधबार बसेको बैठकमा सहमति जुटेसँगै मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका थिए। ९३ जना सांसदमध्ये नेकपा एमालेका ४० (उपसभामुखसहित), कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन्।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार