देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

क्रिसमसपछि कोभिडको नयाँ लहर आउन सक्ने विज्ञको चेतावनी

0

काठमाडौं – क्रिसमसपछि अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को नयाँ लहर आउन सक्ने विज्ञहरुले चेतावनी दिएका छन् । कोरोना भाइरसको संक्रमणबाट सबैै भन्दा बढी प्रभावित अमेरिकामा संक्रमण एउटा उच्च बिन्दु पछ्याउँदै औसतमा दैनिक दुई लाख पुग्ने क्रममा छ ।

अस्पतालहरू कोरोना भाइरसका संक्रमितले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्य क्यालिफोर्निया र न्यूयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन् ।

अमेरिकाका सङ्क्रामक रोग विज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसपछि कोभिडका घटनाहरूको अर्को लहरको चेतावनी दिएका हुन् । अहिले नै पनि थ्याङ्सगिभिङ पर्वपछि बढ्न थालेका सङ्क्रमण ठूलो समस्या बनिरहेको छ । क्रिसमस र नयाँ वर्षको छुट्टिको समय थप चुनौती बन्न सक्ने डा. एन्थोनी फाउचीले बताए ।

डा. फाउचीले ज्यानुअरीको मध्यतिरको अवस्था अमेरिकाको लागि निकै भयानक समय हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।फाउचीले क्रिसमसका लागि आफ्नो चासो थ्याङ्सगिभिङका लागि जस्तै रहेको बताएका छन् ।

न्यूयोर्कका गभर्नर एन्ड्रिउ कुमोले त्यस्तो अवस्थासँग जुझ्न थप प्रतिबन्धहरू लगाउनुपर्ने बताएका छन् । क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूजोमले अस्पतालहरू खतराको तहमा भरिभराउ भइसकेको भन्दै मानिसहरूलाई सजग गराएका छन् ।

क्यालिफोर्निया राज्य कडा लकडाउनमा गएको छ भने अन्य राज्यहरूमा समेत अहिलेसम्मकै उच्च सङ्क्रमण देखिन थालेका छन् । जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार अहिलेसम्म अमेरिकामा १ करोड ४९ लाख भन्दा बढीमा संक्रमण पुष्टि भईसकेको छ भने २ लाख ८३ हजार ७३० जनाको मृत्यु भएको छ ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार