देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

क्वारेन्टिन हटाउने प्रदेश विपद् व्यवस्थापन केन्द्रको निर्णय

0

सुर्खेत – कर्णाली प्रदेश विपद् व्यवस्थापन केन्द्रले हाल सञ्चालनमा रहेका सबै क्वारेन्टिन हटाउने निर्णय गरेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अध्यक्षतामा बुधबार बसेको केन्द्रको बैठकले खाली गरिने क्वारेन्टिनका सामान नेपाली सेनाको जिम्मा लगाउने निर्णय गरेको छ ।

क्वारेन्टिन हटाइए पनि सबै सामान सुरक्षित राखेर आवश्यक पर्दा व्यवस्थापन गर्न सकिने गरी सेनाको जिम्मा लगाइएको छ । सार्वजनिक क्वारेन्टिनको साटो प्रदेश सरकारले होम क्वारेन्टिनलाई जोड दिएको छ । यसले गर्दा सरकारी तथा सार्वजनिक खर्चमा मितव्ययिता हुनाका साथै  व्यक्ति स्वयंलाई मानसिक रुपले स्वस्थ रहन मद्दत पुग्ने प्रदेश सरकारको अपेक्षा छ ।

“सार्वजनिक क्वारेन्टिनमा बस्न नागरिकहरु अनिच्छुक रहेकाले बनाइएका क्वारेन्टिन खाली गर्न लागेको हौंँ”, सामाजिक विकासमन्त्री दल रावलले भने, “हाललाई होम क्वारेन्टिनको प्रभावकारितामा जोड दिने र पछि आवश्यक परेका खण्डमा पुनः सञ्चालन गर्न सकिनेछ ।”

व्यवस्थापनको कमीका कारण नागरिक क्वारेन्टिन बस्न नचाहने समस्या रहँदै आएको थियो । प्रदेश विपद् व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमण रोकथामका लागि तिहारका बेला देउसीभैलोलगायत जमघटलाई निषेध गर्न सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

त्यस्तै कोरोना उपचारका लागि विभिन्न राष्ट्रबाट प्राप्त हुने खोपका सम्बन्धमा सङ्घीय सरकारबाट प्राप्त स्वीकृति बमोजिम केकति आवश्यक पर्ने हो भन्ने सम्बन्धमा पूर्वतयारी गर्न बैठकले सामाजिक मन्त्रालयलाई निर्देशन दिएको छ ।  -रासस

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार