देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

खानेपानि मन्त्री चौधरी झिसमिसेमै हेलम्बु पुगेपछी …

0

काठमाडौं – खानेपानीमन्त्री उमाकान्त चौधरीले सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।

गत असार १ गते र त्यसपछिको बाढीबाट क्षतिग्रस्त भएको मेलम्ची खानेपानी आयोजनाको बाँध स्थलको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले गरिरहेको पुनस्र्थापनाको स्थालगत निरीक्षण गर्न सोमबार बिहान ७ बजे नै मन्त्री चौधरी पुनर्निर्माणस्थल पुगेका हुन् ।

काठमाडौँबाट बिहान सबेरै कसैलाई खबरै नगरी गएका मन्त्री चौधरी मेलम्ची बजार पुगेपछि मात्र मेलम्ची खानेपानी आयोजनाका कर्मचारीले मन्त्री आएको चाल पाएका थिए । मन्त्री चौधरी बाँधस्थल पुग्दा पछि–पछि सुरक्षाकर्मी र सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल पुगेका थिए ।

स्थलगत निरीक्षणमा गएका मन्त्री चौधरीले ठेकेदार कम्पनीले पुनर्निर्माणकार्य सन्तोषजनक ढङ्गले गरिरहेको बताउँदै मेलम्चीको अस्थायी संरचनाबाट पानी काठमाडौँको सुन्दरीजलमा पथान्तरण गर्ने कार्य समयमै भए सबै जनशक्तिलाई पुरस्कृत गर्ने भनेर कर्मचारीलाई हौस्याएका थिए । उनले जिम्मेवारी पूरा नगर्ने, कर्मचारी, ठेकेदार वा कामदारलाई भने दण्डित गर्ने चेतावनी पनि दिए ।

ठेकेदार कम्पनीले पुरिएका सुरुङ खोतल्दा ठुल्ठूला ढुङ्गा भेटिएको र त्यसलाई ड्रिल गर्दा र एक्साभेटरले समेत फोड्न नसक्दा समस्या भएको गुनासो गरेपछी समाधानका लागि मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले नेपाली सेनाको सहयोगमा ठूला ढुङ्गा विस्फोट गरी फोड्ने तयारी भएको बताए ।

कर्मचारी र ठेकेदार कम्पनीका प्रतिनिधिलाई निर्देशन दिँदै मन्त्री चौधरीले सम्झौताअनुसार २४ घण्टा काम गर्न, दिएको कार्ययोजनाअनुसार परिणाम देखिनेगरी काम गर्न र समस्या देखाएर काम नरोक्न निर्देशन दिएको मन्त्रीका प्रेस सल्लाहकार लीलाराज खनालले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार