देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

खोला पैनीमा तर्काएर घरै घर

0

झापा – झापाको व्यापारिक सहर बिर्तामोडस्थित अदुवा खोला ५७ वर्षअघिसम्म निस्फिक्री आफ्नै बाटोमा बहन्थ्यो। पूर्व–पश्चिम राजमार्ग निर्माणसँगै २०२१ सालको नापीमार्फत भूमाफियाले अतिक्रमण गर्न थाले। २०२७ सालदेखि खोलालाई पैनीतिर तर्काएर घर बनाउने क्रम बढेको जानकार बताउँछन्। त्यही कारण बिर्तामोडवासीलाई बर्सेनि बाढीले दुःख थालेको छ।

‘खोलाको चौडाइ पहिले ६० फिटभन्दा धेरै थियो। अहिले धेरै स्थानमा मुस्किलले १० फिटमा बग्छ’, पुराना बासिन्दा ७८ वर्षीय गोपालकुमार बस्नेत भन्छन्। बिर्तामोड सहर बढ्दै अर्जुनधारा नगरपालिका क्षेत्रसम्म पुगेको छ। खोला अर्जुनधारा हुँदै आउँछ। त्यहाँ पनि अत्यधिक अतिक्रमणमा परेको स्थानीयवासी बताउँछन्।

बस्नेतका अनुसार पहिले खोला जहाँबाट बग्थ्यो त्यहाँ अहिले बडेमानका घर ठडिइसके। भन्छन्, ‘कतै–कतै डोबसम्म भेटिन्छ।’ एकपछि अर्को गर्दै बनेका घर हेर्दा त्यहाँ कुनै बेला खोलो थियो भनेर अनुमान गर्न पनि नसकिने उनी बताउँछन्।

बिर्तामोड उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष वेदप्रकाश अग्रवाल २०४६ पछि तीव्र रूपमा अदुवा खोला मिचिएको अग्रवाल बताउँछन्। ‘सुरुमा त जग्गाको भाउ पनि थिएन। कसैले वास्ता पनि गरेन’, व्यवसायी अग्रवाल भन्छन्। ‘अहिले बगिरहेको खोला पुरानो पैनी हो’, अग्रवाल भन्छन्, ‘त्यही पुरानो पैनीलाई मान्छेहरूले अदुवा खोला भन्न थालेका हुन्।’

अतिथि सदनभन्दा उत्तर महानन्द चोकसम्म खोला पुरानै लयमा बगिरहेको छ। केही ठाउँमा अतिक्रमण भई खोलाको क्षेत्र साँघुरिँदै गएको छ। बिर्ता बजारबाट दक्षिणमा पनि खोलाको बहाव पुरानै हो। तर, पूर्व–पश्चिम राजमार्गको एक किलोमिटर दक्षिणमा पुरानो बहाव छैन। उत्तरतिर पनि खोलाको भागमा घर बनेका छन्। बिर्तामोड नगर क्षेत्रभित्र अदुवा खोलाको लम्बाइ ५ हजार ६ सय ६७ मिटर छ।

पूर्व–पश्चिम राजमार्ग निर्माणअघि साविकको खोला पूर्वबाट पैनी लगिएको थियो। त्यसलाई कतिपयले अदुवा पैनी भन्थे भने कतिपयले मेघावारी पैनी। त्यति बेला राजमार्ग दक्षिणको समथर फाँटमा त्यही पैनीबाट खोलाको पानी लगेर सिँचाइ गरिन्थ्यो।

‘त्यतिबेला सिँचाइका लागि अदुवा खोला राम्रो विकल्प थियो’, बस्नेत पुराना दिन सम्झिन्छन्, ‘खोलाको सबै पानी पैनीतिर लैजान थालेपछि पुरानो स्वरूप अतिक्रमित हुँदै गयो।’ बाह्रै मास एकनासले पानी बगिरहन्थ्यो। प्रचण्ड गर्मीमा पनि खोलामा पानी सुक्ला भनेर आत्तिनुपर्ने अवस्था थिएन। बाढी पनि ठूलो विनाश गर्ने गरी आउँदैनथ्यो। ‘अदुवाको पानी पैनीमा ठिक्क भएपछि पुरानो बहाव भएको ठाउँ पुरिँदै गयो’, उनी भन्छन्, ‘पूर्व–पश्चिम राजमार्ग विस्तार भएपछि वरिपरि मान्छेहरूले घर बनाउन थाले।’

खोलाको नामनिशान मेटेर धमाधम घर निर्माण भएपछि त्यति बेलाको पैनीलाई अदुवा खोला भन्नुपर्ने बाध्यता सिर्जना भएको हो। अतिथि सदनबाट एक किलोमिटर दक्षिणसम्म खोलाको नामनिसान छैन। त्यो क्षेत्रमा कतै बडेमानका घर बनेका छन् त कतै सुकुम्बासी बस्ती बसेका छन्।

‘अदुवा पैनीलाई नै मान्छेहरूले अदुवा खोलो बनाए। वास्तवमा खोलाको क्षेत्र अर्कै थियो’, अग्रवाल भन्छन्। अतिथि सदनबाट झन्डै बिर्ता बजारसम्म खोलाको पुरानो बहाव भएको क्षेत्रमा बस्ती बसिसकेको छ। नयाँ पुस्ताले बस्ती विकास भएको क्षेत्रमा अदुवा खोला बग्थ्यो भनेर विश्वासै गर्दैनन्।

‘स्थानीय निकायले पनि अदुवा खोलाको अस्तित्व रक्षातर्फ चासो नदेखाउँदा खोलो मिचेर घर बनाइएका हुन्’, अग्रवाल भन्छन्। सार्वजनिक जग्गाको अतिक्रमण रोक्न नसक्दा अदुवा खोलाको अस्तित्व क्रमशः लोप हुँदै गएको हो। राज्यका निकाय संवेदनशील र गम्भीर नबन्दा अतिक्रमण कसरी बढ्छ भन्ने उदाहरणका रूपमा अदुवा खोलालाई लिन सकिने अग्रवाल बताउँछन्।

सधैं सानो देखिने अदुवा वर्षायाममा भने सहरवासीका लागि टाउको दुखाइ बन्छ। उर्लिएर आउने बाढी बजार क्षेत्रभित्र पस्ने समस्या केही वर्षदेखि स्थानीयवासीले भोग्र्दै आएका छन्। अदुवा किनारका बस्ती सधैं डुवानमा पर्दै आएका छन्। २०६५ भदौमा भएको विनाशलीला भनी साध्य छैन। अतिथि सदन उत्तरको पुल माथिबाट पश्चिम हानिएको बाढी मध्यरातमा बस्तीमा पस्दा ठूलो क्षति भएको थियो।

‘सबै निदाएका बेला कोठाभित्र पानी छिरिसकेको रहेछ’, त्यति बेलाको घटनाबारे  स्थानीय रमेश घिमिरे भन्छन्, ‘एकतले पक्की घरका कोठा लेदोसहितको पानीले भरिएका थिए।’ बाढीले अतिथि सदनको उत्तरपट्टीको पर्खाल पूरै भत्किएको थियो। घर आँगनमा राखिएका सवारी बाढीले बगाएको थियो। त्यतिबेला अदुवा खोलाको बाढीबाट अढाई अर्बभन्दा बढीको क्षति भएको तथ्याङ्क सरकारी निकायले निकालेका थिए।’

अतिथि सदन उत्तरबाट अदुवा खोलाको बाढी सहर पस्दै आएको छ। मुख्य बजार क्षेत्रसमेत जलमग्न हुने गरी बाढी विनाशको शृंखला दोहोरिँदै आएको व्यवसायी सुरज प्रसाईं बताउँछन्। २०७३ साउनमा पनि बाढी बस्तीमा पसेको थियो। खोलो मिचेर घर निर्माण गरिएका कारण पानीको निकास नहु“दा बाढी सहर पसेको सहरवासी बताउ“छन्। अन्नपुर्णपोष्ट दैनिक बाट ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार