देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गगन थापा, राजनीतिका एक कुशल, सक्षम र परिपक्व राजनीतिज्ञ

0
<p>डा. गंगादत्त नेपाल</p>

डा. गंगादत्त नेपाल

पञ्चायती व्यवस्थाको उत्तरार्धतिरदेखि नेपालको राजनीतिलाई सुक्ष्म रूपमा अँगाल्दै आउने क्रममा मलाई विभिन्न राजनीतिक कालखण्डका नेताहरूसँग निकट रही काम गर्ने मौका मिल्यो । जब म मेरो जन्मभूमि सिन्धुपाल्चोक जिल्लाको दुर्गम पहाडबाट विद्यालय शिक्षा सफलतापूर्वक सम्पन्न गरेर उच्च शिक्षा अध्ययनको लागि काठमाडौं आएँ त्यस लगत्तै नेपालमा जनआन्दोलन २०४६ उत्कर्षमा पुग्यो र यसैको फलस्वरूप नेपालमा बहुदलीय प्रजातन्त्रको पूनस्थापना भयो । यस पश्चातका कालखण्डमा धेरै नेतृत्वकर्ताहरू राजनीतिमा स्थापित हुनाका साथै विस्थापित पनि हुनपुगे । प्रजातन्त्र पूनस्र्थापना सँगै खुला राजनीतिक परिवेशमा धेरैले आफ्नो नेतृत्व विकास गर्ने अवसर प्राप्त गरे ।  त्यसै मध्येका एक हुन् गगनकुमार थापा, जो अध्ययनमा समेत अब्बल थिए  ।

मेरो भेट र चिनजान गगनसँग कलेज अध्धयनकै सिलसिलामा भएको हो । अरु राजनीतिज्ञ भन्दा पृथक र आशालाग्दा युवा भएकै कारण गगन मेरो नजरमा परे र त्यसबेलादेखि नै मैले उनको राजनीतिक पृष्ठभूमिलाई धेरै नजिकवाट नियालिरहेको पनि छु । विद्यार्थी राजनीतिमा नै मेरो नजरमा परेका उनै गगन थापा अहिले  समसामयिक राजनीतिमा धेरै भन्दा धेरै व्यक्तिको मानसपटलमा बस्नसकेको, छोटो समयमै नेपाली राजनीतिको केन्द्रबिन्दुमा पुग्न सफल भएको एवम्  एक कुशल, सक्षम र परिपक्व राष्ट्रिय राजनीतिज्ञ बन्न पुगेकोमा मलाइ गर्व महसुस हन्छ र हर्षले विभोर हुन्छु ।

विद्यार्थी राजनीतिदेखि नै खारिएर अगाडि आएका नेता थापा खासगरी जनआन्दोलन २०६२ को जगबाट नेपाली कांग्रेस पार्टीको राजनीतिमा स्थापित भएका हुन । यता नेपालमा जनआन्दोलन–२ भइरहँदा म भने  जर्मन सरकारको छात्रवृित्तमा उच्च अध्ययनको लागि जर्मनीमा थिएँ । जर्मनीमा गगनका सहोदर दाजु मेरा सहपाठी मित्र भएकाले पनि हामी दुबैले नेपाली राजनीतिलाई टाढा बसेर पनि धेरै नजिकबाट नियालीरहेका हुन्थ्यौं  र गगनको उज्ज्वल राजनीतिक  भविष्यको बारेमा पनि छलफल गरिरहन्थ्यौं ।

विदेशमा अध्ययन सकेर नेपाल फर्के पश्चात् हाम्रो परिवार २०५८ सालदेखि नै तत्कालीन कपन गा.वि.स. वडा नं १ (हाल बुढानिलकण्ठ नगरपालीका वडा नं. (१२) काठमाडौमा बसोबास गर्दै आएको छ । ०६४ को संविधानसभाको निर्वाचनदेखि सपरिवार विधिवतरूपमा काठमाडौ क्षेत्र नं ४ को मतदाता भएका हौं । त्यति बेलादेखि नै यस क्षेत्रमा नेपाली काँग्रेसका उम्मेदवारहरू विजयी भइरहेका छन् । यसै क्रममा २०६४ को संविधान सभामा निर्वाचनमा समानुपातिक एवम् २०७० को संविधानसभा तथा २०७४ प्रतिनिधिसभामा गगनकुमार थापाले प्रत्यक्ष निर्वाचित भई यस क्षेत्रको नेतृत्व गरिहेका छन् ।

हाल तिनै गगन थापा औपचारिक रूपमा राष्ट्रको नेतृत्व गर्ने क्रममा यसै निर्वाचन क्षेत्रलाई माया गरी अघि बढ्दै गर्दा हामी तमाम शुभचिन्तक मतदाताहरूमा गर्वानुभूति भइरहेको छ । वास्तवमा कुनैपनि देशको समग्र विकासका लागि दूरदर्शी नेतृत्व आवश्यक हुन्छ । जस्तै डा. महाथिर मोहम्मदको नेतृत्ववाट मलेशियाले काँचुली फेर्यो । लिक्वानयुको नेतृत्ववाट सिङ्गापुरले विकासमा फड्को मार्यो । सही नेतृत्व लगन र परिश्रमका कारण आज जापान विकसित भयो । म आफू अध्ययनको लागि जर्मनी गएको वर्ष सन् २००५ देखि समग्र जर्मनी जनताको मतदानवाट सत्तामा आसिन हुन पुगेकी एक रसायनशास्त्री बैज्ञानिक एंगेला मर्केलले अनवरत् १६ वर्ष नेतृत्व गरी पश्चिम युरोपमा जर्मनीलाई धेरै माथि पुर्याउन सफल भइन् र गत वर्ष स्वेच्छाले सत्ता छोड्दै गर्दा समग्र जर्मनेली जनताले उनीप्रति देखाएको अभूतपर्व सद्भाव देख्दा मेरो मन मस्तिष्क छोयो र त्यस्तै नेता नेपालमा को हुनसक्ला ? भनी कल्पना पनि गरें ।

मैले नेपालपछि धेरै समय व्यतित् गरेको मुलुक जर्मनी र नेदरल्यान्ड हुन्, जहाँबाट मैले धेरै विकास र प्रविधिको कुरा जान्न र सिक्न पाएँ । पश्चिम युरोपका विभिन्न देशहरू घुम्ने क्रममा तहाँ भए गरेका विकास र उनीहरूले आफ्नो राष्ट्र र संस्कृतिप्रति गरेको माया र सद्भावलाई नजिकवाट नियाल्ने मौका मिल्यो जसले मेरो मानसपटलमा छुट्टै खालको सुनामी ल्याइदियो । म विकास र वातावरणको विद्यार्थी हुँ । मैले यसै सन्दर्भमा मुलुककाका ७० भन्दा बढी जिल्लाहरूको भ्रमण गरिसकेको छु र तहाँको भौगोलिक, सांस्कृतिक तथा वातावरणीय प्रभाव र त्यसको समूचित विकासको आवश्यकताको टड्कारो महसुस गरेको छु ।  सँधै मानसपटलमा हामी किन पछाडि परिहेका छौं भने कुराको पनि मैले शुक्ष्म विश्लेषण समेत गरिरहेको छु ।

नेपालमा हाल क्रियाशील राजनीतिक दल र त्यसको नेतृत्व गरिरहेका नेताहरू र उनीहरूको  दृष्टिकोणको सुक्ष्म विश्लेषण गर्दा प्रायः सबैजसो पुरानै ढर्रा र शैलीबाट अघि ढेका तथा पार्टी र संगठनको लगावले कुरासम्म आफ्नो नेतृत्व एवम् जनताका सामु प्रष्ट राख्न नसक्ने अवस्थावाट गुज्रिरहेको महसुस गरेको छु । जसको अध्ययन नै छैन, जसको दृष्टिकोण नै स्पष्ट छैन त्यसले कसरी जनताको ईच्छा र आकांक्षालाई वास्तविकतामा परिणत गर्ला र !  समसामयिक राजनीतिमा आफ्नै बुद्धि र दृष्टिकोणवाट अगाडि बढ्दै गरेका तथा देशका धेरैभन्दा धेरै जनताले अपेक्षा र भरोसा राखेका व्यक्ति खोज्दै गर्दा आफैंले धेरैपटक मत दिएर अगाडि बढेका व्यक्तित्व गगन थापा नै मैले पहिलो नम्बरमा पाएको छु ।

गगन अध्ययनशील छन्, विषयवस्तुकोे सुक्ष्म अध्ययन-मनन तथा ग्रहण गर्ने, त्यसको समुचित विश्लेषण गरी प्रस्तुत गर्ने क्षमता उनीमा प्रचुर मात्रामा छ । चाहे संसदमा होस् चाहे बाहिर होस् उनले अध्ययन पश्चात् उठाएका विषयवस्तुमा जनताको अघोर माया र सद्भाव पाएको देखिन्छ ।  उनमा राजनीतिक चेत तथा संस्कार छ, आलोचना पचाउने क्षमता छ अनि निराशालाई आशामा रूपान्तरण गर्ने क्षमता छ । उनमा राजनीतिक नेतामा हुनुपर्ने गुण अरूको कुरा सुन्ने धैर्यता तथा दृढता दुबै छ । यसले राजनीतिमा उनलाई समसायीक नेतृत्वको उच्चतम विन्दुमा राख्न सकिन्छ । हाल जनतावाट अनुमोदित पार्टी र सरकारले गरेको कामको सर्वत्र असन्तृष्टि पैदा भएको बेलामा जनताको Service delivery लाई समुचित रूपमा प्रवद्र्धन गर्दै समग्र विकास अगाडि वढाउन सक्ने खुवी उनमा पर्याप्त छ । विद्धतवर्गको सहकार्यमा उनले सुरुवात गरको Sector wise  Project Governance ले पनि उनले राष्ट्रको नेतृत्वको लागि आफ्नो तयारी गर्दै गरेको आभास हुन्छ ।

तसर्थ समसामयिक परिप्रेक्ष्यमा गगनलाई सङ्कीर्ण मानसिकता भएको व्यक्तिका रूपमा यदाकदा दोषारोपण गरेको देख्दा राजनीति गलत र नकारात्मक बाटोमा जान लागेको त होइन भन्ने शङ्का लाग्दछ । गगनको लोकप्रियता देखेर कतिपयलाई इर्ष्या र डाह भएको पनि हुन सक्छ । यो हामी सबैले बुझ्न जरुरी छ । स्मरण रहोस्, गगनले समग्र देशको  Service delivery को सोच बनाउँदे गर्दा आफ्नो निर्वाचन क्षेत्र कदापी बिर्सेका छैनन् । गगनको नेतृत्वमा काठमाडाैँ उपत्यकाको समग्र विकासको अवधारणा तयार गरी संसदमा पेश गर्दैगर्दा खानेपानी र सरसफाइको क्षेत्रमा मैले पनि सभासदको कार्यालयमार्फत सहयोग गर्ने मौका पाएको थिएँ । त्यस्तै सभासद् कोषमार्फत सञ्चालन हुने समग्र विकासका कार्यहरू सहजरूपमा सञ्चालन भई सम्पन्न भएको मैले पाएको छु ।

यस निर्वाचन क्षेत्र अन्तर्गत कपनमा शिवपुरी जलाधार क्षेत्रदेखि आएको बाढी र विगत बीस–पच्चीस वर्षमा भएको यस क्षेत्रको शहरीकरण र अव्यवस्थित बसोबासले निम्त्याएको  ढलको समूचित व्यवस्थापन गर्न जरुरी छ, जो गगनको पहलमा शहरी विकास मन्त्रालयले वहुवर्षीय योजना अन्तर्गत कार्यान्वयनमा लैजाने क्रममा रहेको छ । विकास निर्माण एकदिनमा सकिने विषय होइन त्यसमा पनि बाटो तथा ढल निर्माण इन्जिनियरिङ्ग प्रविधि अन्तर्गतका जटिल विधाहरू मध्येका विषय भएकाले समग्र परिणाम देख्नलाई केही समय त हामीले कुर्नु पर्छ नै ।

राष्ट्रबासीको मन मुटुमा बस्न सफल सम्पूर्ण मुलुककै आशा र भरोसाका केन्द्र गगनकुमार थापा, जसमा पूरा मुलुककै नेतृत्व गर्नसक्ने क्षमता तथा अवसर दुवै छ, त्यस्तो व्यक्तित्व यस निर्वाचन क्षेत्रले पाउनु यहाँका मतदाताहरूका लागि खुशी र गर्वको कुरा हो । तसर्थ आगामी निर्वाचनमा यस्ता देशको समग्र पक्षको नेतृत्व गर्न सक्षम र हालका युवा राजनीतिज्ञ मध्ये अब्बल, सक्षम  नेतृत्वका लागि तत्पर व्यक्तित्व, कुनै प्रकारको व्यक्तिगत तथा पारीवारिक लाभहानीमा राजनीति तथा पदलाई कदापी प्रयोग गर्न नचाहने युवानेतालाई फेरि पनि हामी काठमाडौं क्षेत्र नं ४ का जनताले अत्याधिक बहुमतले विजय गराई समग्र देशको नेतृत्वको लागि पठाउन म सबै मतदातावर्गहरूलाई  हार्दिक आह्वान गर्दछु ।

(लेखकः काठमाडाैँ क्षेत्र नं ४ का बासिन्दा हुन्) 

 



द्वारा लेखिएको

भवनाथ आचार्य

सम्बन्धित समाचार