देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गठबन्धनबारे देउवा-कोइरालाको एउटै मञ्चमासवाल-जवाफ

0

काठमाडौँ – नेपाली कांग्रेसमा आसन्न निर्वाचनमा अरु दलहरुसँग गठबन्धन गर्ने कि नगर्ने भन्नेबारे बहस चलिरहेका बेला सभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच जवाल–जवाफ चलेको छ ।

बीपी स्मृति सहकारी सामुदायिक अस्पतालको वार्षिक साधारण सभामा देउवा–कोइराला शनिबार महाधिवेशनपछि पहिलो पटक एउटै मञ्चमा देखिएका थिए ।

सभामा बोल्नेक्रममा पहिले बोलेका नेता कोइरालाले प्रश्न गर्दै भने, ‘ अब चुनावमा गठबन्धन गर्ने कुरा कति फाइदाजनक हुन्छ ? गठबन्धन गर्दै जाँदा नेपाली कांग्रेसको अवस्था भारतीय कांग्रेसको जस्तो पो हुने हो कि ?’

सभापति देउवाले अन्य पार्टीसँग गठबन्धन गर्नेभन्दा पनि कांग्रेसभित्रै गुट उपगुटलाई मिलाएर अघि बढ्नुपर्ने बताउँदै कोइरालाले भने ‘ कांग्रेसले कसैसँग गठबन्धन गर्नुपर्ने आवश्यक मैले देखेको छैन,’ कोइरालाले भने, ‘एकातिर गठबन्धन गरेर जाने, तर कांग्रेसकै कार्यकर्ताबीचमा मेलमिलाप र एकता नहुने हो भने हामीले जोसुकैसँग गठबन्धन गरेपनि त्यसको औचित्य हुदैन ।’

जवाफमा सभापति एवम् प्रधानमन्त्री देउवाले गुटबाट पार्टी नचल्ने दाबी गरे । ‘हाम्रो पार्टीमा गुट त पहिले पनि थिए, गुटको अभ्यास पहिल्यैदेखि भएको हो । सुवर्ण शमशेरको गुट थियो, गिरिजाबाबुको गुट थियो । पछि गिरिजाबाबु र किसुनजीको गुट थियो, अहिले पनि छ,’ देउवाले भने, ‘तर, गुटबाट पार्टी चल्नेवाला छैन ।’

‘गठबन्धन नगर्दा कस्तो हालत हुन्छ ? हामीलाई थाहै छ । हिजो हाम्रा धेरै साथीहरू हारेका हौँ, शेखरजीले पनि हार्नुभएको हो । सबै साथीहरुले हार्दा म नै बद्नाम भएँ,’ देउवाले अघि भने, ‘अहिले सबै साथीलाई जिताउनका लागि मैले गठबन्धन गर्न चाहेको हो । मैले के बिगारेको छु र ? पार्टीले नहारोस् भन्ने चिन्ता हो ।’

उनले कांग्रेसले चुनावी गठबन्धन नगरे माओवादी केन्द्र फेरि एमालेसँग मिल्ने बताए । ‘एमाले–माओवादी फुटे, हामी जितिहाल्छौँ भन्ने सोच्नुभएको होला । अनि उनीहरु फेरि मिले भने के हुन्छ ? त्योबेला के गर्ने ? कि मिल्न दिने हो ? मिल्न दिने भए पनि दिऊँ, मलाई त केही छैन,’ सभापति देउवाले भने, ‘उहाँहरूलाई मिल्न दिने इच्छा हो भने पनि दिऔँ । उहाँहरूलाई मिल्न केही समस्या छैन । मिल्दै मिल्दैनौँ भन्ने उहाँहरूको कुरा छैन ।’

सभापति देउवाले भने, ‘अझैपनि ओलीजीको पार्टी धेरै बलियो छ । ओलीजी र माओवादी छुटिहाले, हामी जितिहाल्छौँ भन्ने नसोचौँ । नेपालमा लोकतान्त्रिक पार्टी भनेको कांग्रेसमात्रै हो, अरु त सबै कम्युनिष्ट हुन् । त्यसैले हाम्रो पार्टीलाई बलियो बनाउदै सबैलाई मिलाएर जानुपर्छ ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार