देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गठबन्धनमा गञ्जागोल, दलपिच्छे तालमेलका फरक–फरक प्रस्ताव

0

काठमाडौँ – आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न अब १३ दिनमात्रै बाँकी छ ।

चुनावमा तालमेल गर्ने सैद्धान्तिक सहमति गरिसकेको सत्ता गठबन्धनले कहाँ कसरी तालमेल गर्ने भन्नेबारे टुंगो लगाउन सकेको छैन । उम्मेदवार लिएर चुनावी प्रचारमा निस्किने बेला गठबन्धन दलहरू भने उम्मेदवार चयन गर्न नसकेर आन्तरिक विवादमा फसेका छन् ।

गठबन्धनका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अगावै सातै प्रदेश, ७७ जिल्ला र ७५३ वटै स्थानीय तहमा पाँच दलीय गठबन्धनको संयन्त्र गठन गर्ने निर्णय गरेका थिए ।

शीर्ष नेताहरूले गठबन्धनको मोडालिटी बनाउन कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा चुनाव तयारी, परिचालन तथा अनुगमन समिति गठन गरेका थिए, सो समितिमा रहेका पाँच दलका दोस्रो तहका नेताहरू गठबन्धनको मोडालिटी बनाउन निरन्तर औपचारिक र अनौपचारिक छलफलमा छन् । तर, उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदा सम्म दलहरूले चुनावी तालमेलको खाका कोर्न सकेका छैनन् । स्थानीय तहमा को उम्मेदवार बन्ने भन्ने रस्साकस्सी छ । दलका नेता कार्यकर्ता चुनावमा कस्तो मुद्धा लिएर प्रतिस्पर्धामा जाने भन्दा पनि चुनावमा गठबन्धन गर्ने वा नगर्ने भन्ने बहसमा केन्द्रीत देखिन्छन् ।

तल्ला तहमा कार्यकर्ता उम्मेदवार बन्न दौडधुप गरिरहेका बेला केन्द्रमा नेताहरूले गठबन्धनका अनेक मोडालिटीमाथि छलफल गरिरहेका छन् । तल्ला तहको प्रतिवेदन पनि नआएको र देशभरि गठबन्धन गर्ने वा नगर्ने भन्ने अन्योल सिर्जना भइरहेका बेला गठबन्धनमा रहेका दलहरूले फरक–फरक मोडालिटी अघि सारेका छन् । पाँच दलका आ–आफ्नै अडान र दलिलका बीच आइतबार पौडेल नेतृत्वको समितिले पुनः गबठन्धन दलबाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने निर्णय गरेको छ ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले गठबन्धनमा पहिल्यै छलफल भइसके पनि आइतबार पुनः गठबन्धन दलभन्दा बाहेक अन्य दलसँग चुनावी तालमेल नगर्ने सहमति बनेको बताए ।

‘हामी चुनावमा कुन मोडालिटीबाट तालमेल गर्ने भन्नेबारे छलफल गरिरहेका छौँ । र, अहिले बनेको मुख्य सहमति भनेको गठबन्धन दलहरूले गठबन्धन भित्रै भएका दलसँग तालमेल गर्ने, तर गठबन्धन बाहिरको अर्को दलसँग नगर्ने भन्ने हो,’ थापाले इकान्तिपुरसँग भने, ‘यदि अघिल्लो चुनावमा कांग्रेस र माओवादी केन्द्र नै पहिलो दोस्रो भएको कुनै स्थानीय तह छ भने त्यस्तो ठाउँमा हामीबीच नै प्रतिस्पर्धा होस् । त्यस्तो ठाउँमा जित्ने पनि हामीमध्ये नै एउटाले हो, तर गठबन्धन दलकै विरुद्ध अर्को दलसँग तालमेल नगरौँ भन्ने हाम्रो समझदारी बनेको छ ।’

नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले स्थानीय सहमतिका आधारमा चुनावी तालमेल गरेर अघि बढ्ने समझदारी बनेको बताए । ‘अहिले सबै ठाउँबाट कहाँ कसले नेतृत्व लिने, चुनावी तालमेल गर्ने कि नगर्ने ? भन्ने रिपोर्ट आइसकेको छैन । त्यसकालागि अझै केही दिनको समय थप गर्नुपर्ने देखिएको छ,’ गुरुङले इकान्तिपुरसँग भने, ‘कुन स्थानीय तहमा कसले नेतृत्व गर्ने, कस्तो व्यक्तिलाई उम्मेदवार बनाउने भन्ने सहमति तल्लो तहबाटै बनेर आओस् भन्ने चाहना हो । हामीबीच त्यसैलाई प्राथमिकतामा राखेर तालमेल गर्ने सहमति बनेको छ ।’

महामन्त्री विश्वप्रकाश शर्मा केन्द्रीय समितिले विधानको व्यवस्था बमोजिम चुनावी तालमेलको आवश्यकता भए/नभएको वा तालमेल गर्ने वा नगर्ने भन्ने निर्णय गर्ने अधिकार सम्बन्धित स्थानीय तहलाई हुने प्रष्ट गर्छन् । कांग्रेसको विधानअनुसार महानगरपालिका बाहेक सबै स्थानीय तहको उम्मेदवारी चयन प्रदेश, जिल्ला र प्रतिनिधिसभा क्षेत्रबाटै हुन्छ । उम्मेदवारको पहिलो सिफारिस सम्बन्धित स्थानीय तहको कार्यसमितिले नै गर्न पाउने व्यवस्था छ ।

चुनावी तयारी समितिको आइतबारको बैठकमा कांग्रेस महामन्त्री थापाले पार्टीको त्यही निर्णय दोहोर्‍याएका थिए । ‘कांग्रेसको विधानले उम्मेदवार चयनबारे प्रष्ट व्यवस्था गरेको छ । हामी केन्द्रबाट महानगरपालिका बाहेक अन्य स्थानीय तहकोबारेमा कुनै निर्णय लिन सक्दैनौँ, यदि कसैले निर्णय गर्‍यो भने त्यो कसैले मान्नेवाला पनि छैन,’ थापालाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने, ‘हामी पार्टीको केन्द्रीय समितिको निर्णय र विधानभन्दा बाहिर जान सक्ने अवस्थामा छैनौँ ।’

बैठकमा माओवादी केन्द्रका नेता वर्षमान पुनले गठबन्धनको मोडालिटीबारे प्रस्ताव अघि सारेका थिए । ‘०७४ को चुनावमा माओवादी केन्द्रले जितेको ठाउँमा माओवादी, र कांग्रेसले जितेको ठाउँमा कांग्रेसले नेतृत्व लिएर तालमेल गरौँ,’ बैठकमा पुनको प्रस्ताव थियो । पुनको प्रस्तावमा अर्का नेता गुरुङले थप प्रष्ट पारेका थिए । ०७४ को मतभार हेरेर जहाँ जसको धेरै मत छ, त्यसैअनुसार नेतृत्व लेनदेन गरेर देशभरि गठबन्धन गर्न सकिने पुन र गुरुङको प्रस्ताव थियो ।

त्यसमा कांग्रेसमा भने सहमति जुटाउन असहज रहेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भनेका थिए । ‘हाम्रो पार्टीको विधानको व्यवस्था फरक छ, यो फर्मुलाअनुसार जान सकिदैन,’ कार्कीले भनेका थिए । त्यसैमा कांग्रेस नेताले थप जोड दिएका थिए ।

कार्कीले फर्मुलाअनुसार जान नसकिने भनेपछि पुनको अर्को प्रस्ताव थियो, ‘कम्तिमा छ महानगरपालिका र ११ उपमहानगरपालिका चाँहि केन्द्रबाटै तालमेलको निर्णय गरौँ ।’ पुनको यो प्रस्तावमा कार्कीले थप छलफल गर्न सकिने भनेका थिए ।

कांग्रेसकै महामन्त्री थापाले भने महानगरपालिकाबाहेक अन्यको हकमा कांग्रेसले निर्णय लिन नसक्ने बताएका थिए । स्रोतका अनुसार पुनले अघि सारेको फर्मुलाअनुसार जाँदा नेकपा एकीकृत समाजवादीले भने गएको स्थानीय चुनावमा एमालेले जितेका आधा स्थानीय तहमा आफूले नेतृत्व पाउनुपर्ने दाबी गरेको छ । ‘विगतको मतभारलाई आधार मान्दा हाम्रो त्यस्तो आधार छैन, हामीले विगतमा एमालेले जितका स्थानीय तहमध्ये आधामा नेतृत्व पाउनुपर्छ,’ महासचिव बेदुराम भुसालले भनेका थिए । ‘एउटै मोडालिटीमा गठबन्धन गरौँ, तलको प्रतिवेदन पर्खिँदासम्म ढिलाई हुन्छ । हामीले यहाँ एउटा मापदण्ड बनाएर तालमेल गर्ने निर्णय गरेपछि तलका साथीहरूले मान्नुहुन्छ,’ बैठकमा पुनको जोड थियो ।

बैठकमा जनता समाजवादी पार्टीका नेता अशोक राईले भने सबै दलको सम्मानजनक अवस्था हुने गरी तालमेलको मोडालिटी बनाइनुपर्ने भनेका थिए । राष्ट्रिय जनमोर्चाले भने गठबन्धन गर्दा एउटै चुनाव चिन्ह लिएर भएपनि तालमेल गर्न सक्ने भनेको छ ।

समितिको आइतबारको बैठकले गठबन्धनका शीर्ष नेताहरूलाई मुलतः तीन वटा सुझाव दिने निर्णय गरेको छ । पहिलो– गठबन्धन दलहरूबीच गठबन्धनमा रहेका दलबाहेक अन्य दलसँग गठबन्धन गर्न नपाइने, दोस्रो– तालमेलबारे चैत्र मसान्तभित्र निर्णय गर्न तल्ला तहलाई समय दिने र गठबन्धनका शीर्ष नेताहरूलाई संयुक्त अपिल जारी गर्न आग्रह गर्ने । गठबन्धनको बैठक सोमबार विहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । कान्तिपुर दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार