देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

काँग्रेस बैठक, गठबन्धन विरोधीलाई एक्लै जितेर देखाउन देउवाको चुनौती

0

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्ता गठबन्धनलाई आगामी स्थानीय तहको निर्वाचनमा पनि निरन्तरता दिनुपर्ने बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालयमा बसेको शुक्रबारको बैठकमा गठबन्धन गर्न हुँदैन भन्ने नेताप्रति आक्रोश पोख्दै देउवाले ठूला कुरा नगर्न  नेताहरुलाई चेतावनी समेत दिएका छन्।

बैठकमा धेरै बेर चुपचाप नै बसेका देउवाले बैठक सकिने बेलामा एक्कासी चितवनमा गठबन्धन गर्न हुँदैन, हुँदैन भनेर ठूला कुरा गर्ने? चितवनमा कांग्रेसको हैसियत कस्तो छ भन्ने मलाई थाहा छैन? भन्दै जङ्गिएको बैठकमा सहभागी एक केन्द्रिय सदस्यले बताए ।

प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले पार्टीभित्र स्थानीय चुनावमा गठबन्धनको विरोधमा आवाज चर्को भएपछि एक्लै चुनाव जितेर देखाउन चुनौती दिएका थिए ।

बैठकमा धारणा राख्ने धेरैले गठबन्धन गरेर जान नहुने धारणा राखेका थिए  नेताहरूको धारणापछि देउवाले आफूले देशभरिको अवस्थाकाबारेमा जानकारी पाइरहेको भन्दै गठबन्धनको विरोध गर्दा आगामी दिनमा समस्या पर्ने र जितेर देखाउनुपर्ने चुनौती भएकाले सम्हालिएर बोल्न भनेका हुन्।

बैठकको निर्णय जानकारी दिँदै काँग्रेस प्रवक्ता डा. प्रकाश शरण महतले भने सभापति देउवा वा केन्द्रीय समितिले गठबन्धन गर्ने वा नगर्ने निर्णय गरेर जबरजस्ती मान्नुपर्ने, लाद्ने गर्न नसक्ने र त्यस्तो नचाहेको बताए । ‘यो विषयमा अहिले छलफल भइरहेको छ, तल्ला तहको अवस्था जे छ, आवश्यकता जे छ, त्यहीअनुसार गठबन्धनको विषयमा निर्णय हुन्छ,’ उनले भने ।

केन्द्रीय कार्यसमितिको अर्को बैठक चैत्र १३ गते आइतबार विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने उनले जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार