देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गठ त छ, बन्धन टुट्दै, गठबन्धन संकटमा

0

काठमाडौं – प्रतिनिधिसभा बैठक झन्डै दुई महिनामा बुधबार बस्यो। तर, एमसीसी टेबल भएन। सत्ता गठबन्धनकै दलका ‘अप्रत्याशित’ निर्णयपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हटेका छन्। प्रधानमन्त्री देउवाले अमेरिकी निकायसँगको अनुदान सम्झौता अनुमोदनमा लैजान गठबन्धनका दलले सहयोग गर्ने ‘विश्वास’ लिएका थिए। त्यही कारण कार्यव्यवस्था परामर्श समिति बैठक राख्न सभामुखलाई भनेका थिए। एमसीसी बुधबारै अघि बढाउने ‘माहोल’ बनाउन लागेका थिए देउवा।

तर, गठबन्धन दल माओवादी केन्द्रले एमसीसी जबर्जस्ती पेश गरे विपक्षमा मतदान गर्ने निर्णय गर्‍यो। त्यति मात्रै होइन, सरकारबाट पछि हट्ने निर्णय नै उसले लियो। गठबन्धनका अरू दलले पनि उक्त निर्णयमा ‘सही’ थपे। जस्ताको तस्तै सम्झौता अघि नबढाउन प्रधानमन्त्रीलाई ‘दबाब’ दिए। अन्ततः सरकारले एमसीसी अघि बढाएन।

गठबन्धनमै विवाद देखिएपछि सभामुखले प्रतिनिधिसभाको अर्को बैठक शुक्रबार बोलाएका छन्। त्यसअघि सहमति जुनाउन प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बिहीबार डाकेका छन्। उनी अनुदान सम्झौता अनुमोदन गर्न दृढ देखिएका छन्।  तर, माओवादी केन्द्रसहित एकीकृत समाजवादी र अरू दल एमसीसी पारित गर्न नहुने अडानमा छन्। जसपाले पनि बोली फेरेको छ। परिमार्जनबिना एमसीसी पारित गर्न नहुने धारणा जसपाका नेताहरूले व्यक्त गरेका छन। डा. बाबुराम भट्टराई एमसीसी अनुमोदनका पक्षमा छन्। उपेन्द्र यादव भने खुलेका छैनन्। उक्त पार्टीका नेता प्रमोद साहले गठबन्धनमा सहमति जुटाएर मात्रै एमसीसी टेबल गर्नुपर्ने बताए। ‘एमसीसी राम्रै होला तर यसमा राष्ट्रिय सहमति जुटाउन नसक्दा गिजोलियो’, नेता साहले भने, ‘एमसीसी सिधै अनुमोदन गरियो भने ठूलो दुर्घटना निम्तिन सक्छ।’

अब सम्भावित राजनीतिक परिदृश्य यस्तो देखिन्छ। एमसीसी पास हुने, गठबन्धन जोगिने। गठबन्धन टुट्ने, एमाले जोडिने। एमालेको सहयोगमा एमसीसी पास गर्ने। गठबन्धन पनि भत्किने, एमाले पनि नजोडिने, मत पनि नदिने।

गठबन्धन जोगाएर एमसीसी पारित गर्ने
गठबन्धन पनि जोगाउने र एमसीसी पनि पास गर्ने सोचमा सिंगो कांग्रेस र प्रधानमन्त्री देखिएको विश्लेषक गेजा वाग्ले बताउँछन्। ‘बुधबारकै घटनाक्रम हेर्दा नैतिक रूपमा माओवादी स्खलित भएको देखियो’, विश्लेषक वाग्ले भन्छन्, ‘चार दिनअघि मात्र सैद्धान्तिक सहमति गर्ने अनि प्रक्रियामा जाने बेला द्वैध चरित्र देखाउने ? हिजोको गतिविधिका कारण माओवादीलगायत अरू केही दल ब्याक भएका हुन् कि भन्ने देखियो।’ माओवादी र एकीकृत समाजवादी पछि हट्दा कांग्रेससँग विकल्प धेरै रहेको उनी बताउँछन्। भन्छन्, ‘उनीहरूसँग विकल्प थोरै छ ।’

कांग्रेस नेता एनपी साउद सहमतिको प्रयास जारी रहेकाले गठबन्धनमा समस्या नआउने बताउँछन्। ‘सबैलाई सहमतिमा ल्याएर एमसीसी अनुमोदन गराउने प्रधानमन्त्रीको चाहना र प्रयास छ’, नेता साउद भन्छन्, ‘दुई–तीन दिनभित्र कुनै न कुनै सहमतिको विन्दुमा पुग्छौं।’

गठबन्धन टुट्ने, एमाले जोडिने 
सत्ता गठबन्धनमा फुट आए एमालेले एमसीसीमा सघाउने विश्लेषण हुन थालेको छ। कांग्रेस नेता साउद एमालेले संसद्मा दर्ता गरेकै प्रस्तावलाई सरकारले अघि बढाउन खोजेकाले उसले सहयोग गर्ने विश्वास व्यक्त गर्छन्। तर, प्रधानन्यायाधीशविरुद्ध गठबन्धन दलसँग मिलेर महाभियोग दर्ता भएसँगै एमाले पनि प्रधानमन्त्रीसँग तर्किएको कांग्रेसका अर्का नेता बताउँछन्।

पूर्वअर्थमन्त्री एवं कांग्रेस नेता डा. रामशरण महत एमसीसी मुलुकको हितमा भएकाले संसद्बाट तत्काल अनुमोदन गर्नुपर्ने बताउँछन्। ‘मुलुकको आर्थिक विकासका लागि अमेरिकाको यति ठूलो सहयोग स्वीकार गर्नुको विकल्प छैन,’ डा. महत भन्छन्, ‘गठबन्धनका दलहरूले सहमति गर्नुपर्छ। विरोध गर्नुको अर्थ छैन।’

गठबन्धन पनि भत्किने, एमाले पनि नजोडिने 
एमसीसीमा विपक्षी एमालेको साथ पाउने सम्भावना पनि कम देखिँदै छ। एमालेले संसद्को प्रदर्शन फिर्ता लिन मानेको छैन। उक्त पार्टीका नेताहरूले गठबन्धनले निर्णय गरेपछि मात्रै एमसीसीबारे निर्णय लिने बताउँंदै आएका छन। तर, गठबन्धन पनि भत्किने र एमसीसीमा एमालेले पनि साथ दिने अवस्था नआए एमसीसी प्रस्ताव ‘बिफल’ हुन्छ ।

एकीकृत समाजवादीका प्रमुख सचेतक जीवनराम श्रेष्ठ एमसीसीका कारण गठबन्धन नटुट्ने बताउँछन्। ‘केही बुँदा संशोधन गरौं भन्ने हो’, नेता श्रेष्ठ भन्छन्, ‘गठबन्धन पनि टुट्दैन। यही लाइनमा एमसीसी पनि पास हुँदैन। गठबन्धन लचिलो भएर संशोधनको विकल्पतर्फ जान सक्छ।’ अन्नपुर्णपोष्ट दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार