देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गणतन्त्र जोगाउन जिम्मेवारीपूर्वक भूमिका निर्वाह गरौँ – देउवा

0

काठमाडौं – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको संविधानको संरक्षण र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट नै मुलुकलाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रूपान्तरण गर्न सकिने उल्लेख गरेका छन् ।

गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले आ–आफ्नो तहबाट जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेकामा जोड दिएका छन् ।  

पुर्व प्रधानमन्त्री समेत रहेका देउवाले लोकतन्त्रको स्थापना र पुनःस्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा देशका थुप्रै होनहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेका उल्लेख गरेका छन् । आफ्नो जीवन उत्सर्ग गर्ने ज्ञात–अज्ञात सबै वीर सहिदप्रति गणतन्त्र दिवसका अवसरमा उनीहरूको समर्पण, साहस र बलिदानको स्मरण गर्दै सभापति देउवाले उच्च सम्मान साथ श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/६३ सफल भएको थियो । आन्दोलनपश्चात् कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गरेको थियो ।

गणतन्त्र कार्यान्वयनका लागि १५ जेठ २०६५ मा संविधानसभाको पहिलो बैठकमा पेस गरेको प्रस्ताव पारित भई नेपालमा राजतन्त्रको अन्त्य र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । यो दिनलाई स्मरण गर्दै हरेक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउँदै आएको छ । 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार