देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभइ शासकीय पद्धति र जीवनशैलीसमेत हो – प्रधानमन्त्री

0
<p>फाइल फोटो</p>

फाइल फोटो

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभइ शासकीय पद्धति र जीवनशैलीसमेत भएको बताएका छन् ।

गणतन्त्र दिवस–२०८१ का अवसरमा शुभकामना दिँदै उनले समाजका सबै तह र तप्काका गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत भइसकेको बताएका छन् ।

प्रधानमन्त्री दाहालले सन्देशमा भनेका छन्, ‘अझ, त्यसभन्दा माथि सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थानीय स्वायत्तता र आधारभूत विषयमा स्वनिर्णयको अधिकारसमेत हो । तसर्थ, यसका लाभलाई आम नागरिकमा पुर्‍याउन सरकारले दृढतापूर्वक प्रयास गरिरहेको छ ।’  
 
प्रधानमन्त्री दाहालले संविधानसभाबाट जारी संविधानले प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानवअधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका एवं कानुनी राज्यको अवधारणालगायत लोकतान्त्रिक मूल्यमान्यतालाई संस्थागत गरेको स्पष्ट पारेका छन् ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि विभिन्न समयमा भएका राजनीतिक आन्दोलन, जनयुद्ध, २०६२/६३ को ऐतिहासिक जनआन्दोलन, मधेस आन्दोलनसहितका आन्दोलन तथा सङ्घर्षका सहिदको स्मरण गर्दै प्रधानमन्त्री दाहालले उनीहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

प्रधानमन्त्री दाहालले गणतन्त्र दिवसले सबैलाई सहिदले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न प्रेरित गरोस् भन्ने कामनासमेत गरेका छन् । ‘नेपाली जनताको बलिदानीपूर्ण आन्दोलनको जगमा संविधानसभाले २०६५ साल जेठ १५ गते देशमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय गरेको दिनका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइमा बधाईसहित शुभकामना व्यक्त गर्दछु’, प्रधानमन्त्री दाहालले सन्देशमा भनेका छन् । 

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार