देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गण्डकीमा पाण्डेलाई विश्वासको मत, ‘फ्लोर क्रस’ गर्ने देवकोटालाई कारबाहीको तयारी 

0

काठमाडौं – गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सोमबार संसद्मा विश्वासको मत पाएका छन् । ६० सदस्यीय प्रदेशसभामा पाण्डेले पक्षमा ३१ मत पाएका हुन् ।

यसअघि नै तय कांग्रेसका २७, राप्रपाका २ र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) ले पाण्डेलाई विश्वासको मत दिनु जति सामान्य रह्यो, त्यति नै नेपाल समाजवादी पार्टीका सांसद फणीन्द्र देवकोटाको ‘फ्लोर क्रस’ चर्चामा रह्यो । 

‘फ्लोर क्रस’ गरेको भन्दै माओवादी संसदीय दलको बैठकले सोमबार नै देवकोटालाई स्पष्टीकरण सोध्न पार्टी केन्द्रीय समितिलाई पत्र पठाएको छ । गत चुनावमा कांग्रेस, माओवादी र नेसपाबीच गठबन्धन हुँदा देवकोटा गोरखा २ (१) बाट गोलाकारभित्रको हँसिया हथौडा चुनाव चिह्न लिएर निर्वाचित भएका थिए ।

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार देवकोटा माओवादी संसदीय दलकै सदस्य रहेको दलका नेता चुमानको तर्क छ । ‘ह्विपको उल्लंघन गरेपछि सम्बन्धित दलले निजलाई स्पष्टीकरण सोध्छ,’ उनले भने, ‘जवाफ चित्त बुझ्दो नआएमा कारबाहीको सिफारिस गर्छ । त्यसो भएमा उहाँ निष्कासनमा पर्नुहुन्छ, उहाँको पद रिक्त हुन्छ ।’

नेसपाका अध्यक्ष डा.बाबुराम भट्टराई आफ्नो पार्टी फुटाउन भूमिका खेलेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहालसँग रुष्ट छन् । यी दुई नेताको सम्बन्ध चिसिएको नेसपा गण्डकी प्रदेश अध्यक्ष हेमबहादुर थापाले पनि पुष्टि गरे । ‘गोरखामा हाम्रा नेता/कार्यकर्तालाई माओवादीका नेताको हेपाहा व्यवहार छ,’ थापाले भने, ‘माओवादीले जितेको पालिकामा नेसपाका कार्यकर्तालाई सिफारिस पनि नदिने अवस्था छ । यस्तो अवस्थामा माओवादीलाई साथ दिइरहन सकिएन ।’

मुख्यमन्त्री पाण्डेले अध्यक्ष भट्टराईलाई काठमाडौंमा भेटेरै समर्थन गरिदिन आग्रह गरेका थिए । सोमबार नै माओवादी अध्यक्ष तथा प्रधानमन्त्री दाहालले सांसद देवकोटालाई कारबाही गर्ने जानकारी दिए ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार