देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गभर्नर छानबिन समितिमा अर्थमन्त्रीका आफन्त र माओवादी कार्यकर्ता मात्रै

0

काठमाडौँ – राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि छानबिन गर्न बनेको समितिमा अर्थमन्त्री जनार्दन शर्माका नातेदार र माओवादी कार्यकर्ता मात्रै रहेको खुलासा भएको छ ।

अमेरिकाबाट शंकास्पद रकम आएको खाता रोक्का गर्न अर्थमन्त्रीले दिएको ‘निर्देशन’ नमानेकै कारण गभर्नरलाई निलम्बन गर्दै जाँचबुझ गर्न छानबिन समिति गठन गरिएको थियो ।

उक्त समितिको संयोजकमा अर्थमन्त्रीका नजिकका नातेदार दाइलाई राखिएको छ भने अन्य दुई सदस्य पनि माओवादीकै कमिटीमा आबद्ध रहेको पुष्टि भएको छ ।

गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीमाथि छानबिन गर्न बनाएको समितिको संयोजकमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारी तथा सदस्यमा चन्द्रकान्त पौडेल र सूर्यबहादुर थापा छन् । अर्थमन्त्री शर्माका आफन्त तथा पार्टी कार्यकर्ताले रुकुमबाट दिएको जानकारीअनुसार मन्त्री शर्मा र पूर्वन्यायाधीश भण्डारी दिदीभाइका नातिहरू हुन् । ‘दिदी भद्रशिला भण्डारीका नाति पूर्वन्यायाधीश हुन् भने उनका कान्छा भाइका नाति मन्त्री शर्मा हुन्,’ एक आफन्तले भने ।

त्यसो त पूर्वन्यायाधीश भण्डारीले पनि आफूहरूको नाता पर्ने स्वीकार गरे तर मुद्दा हेर्न मिल्ने दाबी गरे । ‘टाढाको नाताले दाइ–भाइ पर्छौं । तर, मुद्दा हेर्न नमिल्ने गरी कानुनले निषेध गरेको तहको नाता होइन,’ उनले कान्तिपुरसँग भने, ‘उसले (मन्त्री शर्माले) एक्लै निर्णय गरेको पनि होइन । मन्त्रिपरिषद्ले निर्णय गरेका कारणले ऊसँगको टाढाको नाताले केही फरक पार्छ जस्तो लाग्दैन ।’

संयोजक भण्डारी मात्र होइन, जाँचबुझ समितिका सदस्य पौडेल माओवादी केन्द्रको सल्लाहकार समिति र अर्थ तथा योजना विभागका सदस्य हुन् । माओवादी सरकारमा भएका बेला उनी राष्ट्रिय योजना आयोगको सदस्य भएका थिए । पौडेलले यसबारेमा केही टिप्पणी नगर्ने बताए । ‘मलाई लाग्छ, नियम कानुनअनुसार नै यो छानबिन समिति गठन भएको हो,’ उनले भने, ‘हाम्रो समितिले भोलि (बुधबार) बाट काम सुरु गर्छ होला ।’

जाँचबुझ समितिका अर्का सदस्य थापा भने पेसाले प्राध्यापक हुन् । उनी त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायतर्फ अर्थशास्त्रका प्राध्यापक हुन् । थापाले माओवादीनिकट संगठनहरू अहिले निष्क्रिय रहेको बताए । ‘म सहसंयोजक हुँ । तर यी संगठन पहिले थिए, अहिले क्रियाशील छैनन्,’ उनले भने, ‘मलाई पार्टीगत शुभेच्छाको हिसाबले हेर्ने हो भने सबैको हुँ । राम्रो काम गर्नेहरूको पक्षमा हुन्छु । नभए कतै पनि छैन । स्वतन्त्रपूर्वक काम गर्छु ।’

कानुनविद् टीकाराम भट्टराई त यो समिति सिधै अर्थमन्त्रीमातहतको हुन पुगेको टिप्पणी गर्छन् । ‘गभर्नरमाथि हुने जाँचबुझ निष्पक्ष हुन्छ भन्ने प्रत्याभूत हुनुपर्छ । पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारी नेतृत्वको समितिले निष्पक्ष रूपमा काम गर्न सक्छ त भन्ने प्रश्न उठेका छन् । अर्थमन्त्रीसँग उहाँको नाता पर्ने र समितिका अन्य दुई सदस्य पनि अर्थमन्त्रीको पार्टीका कार्यकर्ता भएको विवरण सार्वजनिक भइरहेका छन्,’ उनी भन्छन्, ‘यस्तो अवस्थामा यो समितिले निष्पक्ष प्रतिवेदन दिन सक्दैन । यो समिति नै अर्थमन्त्रीमातहतको समिति जस्तो हुन पुगेको छ ।’ कान्तिपुर दैनिक बाट ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार