देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गिरीबन्धु टी-स्टेट प्रकरण : ५ सय जनाको ५ लाखदेखि १० करोडसम्म फस्ने खतरा

0

काठमाडौं – भूमाफियाको विश्वासमा परेर झापास्थित गिरीबन्धु टी–स्टेटको जमिन खरिद गर्न लगानी गर्ने झापादेखि काठमाडौंसम्मका नेता, व्यापारीदेखि सर्वसाधारण गरी करिब ५ सय जनाको ५ लाखदेखि १० करोड रुपियाँसम्म फस्ने खतरा बढेको छ।

गिरीबन्धुमा बिर्तामोड वरिपरिकै करिब तीन सय व्यापारी र सर्वसाधारणले ५ लाखदेखि १० करोड रुपियाँसम्म लगानी गरेको बुझिएको छ। गिरीबन्धुको हदबन्दीभन्दा बढी जग्गा सट्टापट्टा गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले गत माघ २४ मा खारेज गरेको थियो। साथै गत वैशाख २९ मा सर्वोच्चले हदबन्दी छुट पाएको उक्त जमिन दुरुपयोग गर्न मात्र होइन, बाँझो राखेको भेटिए सरकारकै स्वामित्वमा ल्याउने गरी परमादेश जारी गरेपछि जग्गा पाउने आसमा चलनचल्तीको बजारभाउमा प्रतिधुर ५ देखि १० लाख रुपियाँसम्म पर्ने जग्गाका लागि बिचौलियालाई बैना बुझाएकाहरूको लगानी फस्ने खतरा बढेको हो।

गिरीबन्धुको जग्गा पाइने आसमा लगानी गर्ने सयभन्दा बढी ठूला व्यापारीको सूचीमा बिर्तामोडको शिवम् हाउजिङका प्रबन्धक मनोज प्रसाईं पनि हुनहुन्छ । करोडको हाराहारीमा लगानी गर्नुभएको उहाँ बैना फिर्ता हुनेमा ढुक्क हुनुहुन्छ । कतिपयले बैना रकम फिर्ताका लागि ताकेता गर्न थालेका छन् भने पहुँच र प्रभाव नभएकाहरू पैसा फिर्ता नहोला कि भन्ने चिन्तामा छन्। नाम सार्वजनिक गर्दा बिचौलियाले पैसा फिर्ता नदिने डरले कोही खुलेर बोल्न सकेका छैनन् भने कोही कानुनी झमेलामा फसिने डरले सार्वजनिक हुन नसकिरहेको पाइएको छ।

बिर्तामोड ६ का हर्कजीत राईलगायत कतिपयले स्थानीय विष्णुबहादुर राईलाई बैना रकम बुझाएको पाइएको छ। तरकारी व्यवसाय गर्दै आउनुभएका राईले विष्णु बहादुरलाई १० लाख रुपियाँ बैना दिएको बताउँछन्।

त्यसै गरी बिर्तामोडकै चटपटे व्यवसायी सठुदेव चौधरीको पनि ५ लाख रुपियाँ डुबेको छ। बसपार्क क्षेत्रमा व्यवसाय गर्दे आएका एक व्यवसायीले नाम सार्वजनिक नगर्ने सर्तमा आफूले लगानी गरेको ५ लाख पटकपटक ताकेता गरेर केही दिनअघि फिर्ता लिएको बताउनुभयो । उहाँले पनि राईलाई नै रकम बुझाएको बताए।

बिर्तामोड बजारमै घरबास भएका बेलायती सेनाका अवकाश प्राप्त विष्णुबहादुर राई पछिल्लो समय बिर्तामोड बसपार्क क्षेत्रमा सरेका छन् । गिरीबन्धु जग्गाको व्यवस्थापन, बिक्री र साटफेर गर्ने गराउनेमध्येका मुख्य साझेदारमा परिचित उहाँले यसअघि बिर्तामोड बसपार्क क्षेत्रको ५१ बिघा जमिन बिक्रीवितरण र व्यवस्थापनको जिम्मेवारी लिएका थिए भने पछिल्लो समय गिरीबन्धुको जग्गाको बैना बुझ्न सक्रिय थियो।

जग्गा प्लटिङकै लागि राईले खोलेकोे बिर्तामोड आवास कम्पनीमा उहाँको २७ जना साझेदार थिए । जग्गा किन्न पैसा लगानी गरेकाहरूका अनुसार बिक्रेताको सञ्जालबाट गिरीबन्धुको झन्डै ३ सय ४४ बिगाहको भित्रभित्रै कित्ता निर्धारण गरी १ बिघा बराबर १ सेयरका हिसाबमा बैनास्वरूप बिक्रीवितरण शुरू गरिएको थियो । जसमा एक सेयरको मूल्य ६ करोड रुपियाँ निर्धारण गरिएको थियो ।

भदौको पहिलो सातासम्म गिरीबन्धुमा जेजति चियाबारी छ, यो यत्तिकै मासिने होइन, यसको सट्टाभर्ना जमिन र चिया खेतीको प्रबन्ध नगरी त्यत्तिकै स्थानान्तरण हुँदैन भन्दै हिँडेका राई पछिल्लो समय भने सम्पर्कविहीन रहेको उनलाई बैना बुझाउनेहरूले बताए । अन्य बिचौलिया पनि सम्पर्कविहीन भएको स्थानीयको भनाइ छ ।

गिरीबन्धुको जग्गा व्यवस्थापनमा खटिएका राईलगायत व्यक्तिसँग सम्बन्ध भएका मनोज प्रसाईंहरू जस्ता धेरै व्यवसायीले लगानी नडुब्ने बताए पनि उनीहरूले फकाएर जग्गामा लगानी गराएका सर्वसाधारण आश्वस्त हुन सकेको देखिँदैन । बिर्तामोडका प्रसाईं थरका व्यक्तिको पनि १५ लाख रुपियाँ बैना रकम गिरीबन्धुमा डुबेको छ । बिर्तामोडकै राजु रायमाझीमार्फत् ६ महिनाभित्र जग्गा भएन भने पैसा फिर्ता गर्छु भन्ने आश्वासनमा परेर लगानी गरे पनि अहिले बैना लिने मानिस नै बेपत्ता भएको उहाँले बताउनुभयो। रायमाझीले नयाँ बसपार्क क्षेत्रका एक दर्जन सर्वसाधारणबाट २ करोडभन्दा बढी बैना असुलेको प्रसाईंको दाबी छ ।

भूमि व्यवस्था मन्त्रालयबाट चिया बगान सट्टापट्टाको अनुमति मिलेपछि बिर्तामोडका जग्गा कारोबारीहरू विष्णु राई, मनोज प्रसाईं, होटल व्यवसायी राजेन्द्र थापा, अटो मोबाइलस् व्यवसायी टुकेन्द्र अधिकारीलगायत व्यक्ति यो जग्गा बेच्नका निम्ति जोडिनुभयो। पछि बिस्तारै एमाले, कांग्रेस, माओवादीका नेता, कार्यकर्तादेखि जनप्रतिनिधिहरू पनि जोडिएका छन् ।

चिया बगानको जग्गा बेच्न स्थानीय रूपमा राई र काठमाडौंमा दीपक मल्होत्रा सक्रिय भएका थिए । सस्तोमा जग्गा पाइने प्रलोभनमा बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतरा प्रसाईंको परिवार पनि यसमा संलग्न भएको थियो । मेयर प्रसाईंले विगतमा पति जीवितै हुँदा नै व्यापारी दीपक मल्होत्रालाई एक करोड रुपियाँ बुझाएको कुरा सुनेको र पतिको मृत्युपछि मल्होत्राबाट आफूहरूले उक्त रकम फिर्ता पाइसकेको बताए ।

बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव कुशल खतिवडाले झापाका कैयौं व्यापारीको पैसा चिया बगानमा डुबेको बताउनुभयो। व्यापारीहरूको पैसा चिया बगानको जग्गामा डुब्दा झापा आर्थिक मन्दीको चपेटामा परेको उहाँको भनाइ छ। गरीबन्धु टी–स्टेटले चियाखेती गर्न हदबन्दी छुट पाएको जग्गामा किन्न पैसा लगानी गरेका व्यक्तिहरूले रकम फिर्ता माग्न थालेपछि व्यवस्थापन समूहले दुई वर्षभित्र जग्गा नै दिलाउने अन्यथा ब्याजसहित पैसा फर्काउने आश्वासन बाँड्न थालेको पाइएको छ।

समूहले गिरीबन्धुको बिर्तामोड र अर्जुनधारा नगरमा रहेको बगानको जग्गा साटफेर हुने र त्यो प्रक्रिया पूरा भएपछि किन्न पाइने भन्दै झापामा पैसा उठाउने कामको नेतृत्व गरेका थिए। यही समूहले अहिले बैनावापत रकम बुझाएकाहरूलाई दुई वर्ष पर्खिदिन आग्रह गर्दै त्यति बेलासम्ममा सके जग्गा नत्र पैसा फिर्ता गर्ने आश्वासन दिइरहेको छ।

बैनाकर्ताहरूलाई आश्वस्त पार्न व्यवस्थापन टिमले गिरीबन्धुकै जमिन दिने भनिरहे पनि गिरीबन्धुको जमिन सट्टापट्टा अब त्यति सहज भने देखिँदैन। २०६० सालमा मन्त्रिपरिषद्कै निर्णयबाट टी–स्टेटको नामको ५१ बिघा जग्गा अन्यन्त्र हस्तान्तरण भएको थियो। त्यसलाई पनि गिरीबन्धुकै हदबन्दी प्रयोजनका लागि गणना गर्न सर्वोच्चले भनेको छ।

गिरीबन्धुले छुट पाएको जग्गामा चिया उत्पादन नभई अरू नै कामको लागि प्रयोग भएको रहेछ भने सरकारको नाममा ल्याउन परमादेश दिएको छ। बिर्तामोड र अर्जुनधारामा गिरीबन्धुको अर्बौं मूल्यको ३ बिघा र नाज टी–स्टेटको १३ बिघा जमिनमा अहिले पनि चिया खेती छैन। नेपाल समाचारपत्र

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार