देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

गौर हत्याकाण्ड,सरकार छाड्ने तयारिमा उपेन्द्र, राप्रपा र रास्वपालाई ल्याउने दाहालको तयारी

0

काठमाडौं – सरकारमा रहेको जनता समाजवादी पार्टी जसपा र माओवादी केन्द्रबीच खटपट शुरु भएको छ ।

भर्खरैमात्र समाजवादी मोर्चा बनाएर एउटै निर्वाचन चिन्ह लिएर आउँदो निर्वाचनमा भाग लिने तयारसमेत गरेका यी दुई पार्टीबीच गौर हत्याकाण्डको फाइल खोल्ने तयारपछि खटपट शुरु भएको हो ।

बुधबार साँझ जसपाका अध्यक्ष उपेन्द्र यादवले सरकारमा बसिरहनुको कुनै अर्थ नभएको भन्दै आफ्ना पार्टीका नेताहरुसँग कुराकानी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाललाई सरकार छाड्ने खबर पुर्याएका थिए ।

जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिए पनि रौतहटको गौरमा २७ जनाको मृत्यु भएको घटनाको फाइल खोल्ने चेतावनी दिँदै दाहालले सरकार छाडे पनि फाइल खोलिछाड्ने जवाफी सन्देश फर्काएको स्रोतको दाबी छ ।

१७ वर्षअघि भएको हत्याकाण्डबारे छानबिन गर्ने गरी गृह मन्त्रालयले घटनाका पीडितसँग मंगलबार पाँच बुँदे सहमति गरेपछि जसपाका अध्यक्ष यादव झस्किएका थिए ।

यो सहमति आफू र आफ्ना कार्यकर्ता फसाउनका लागि नै भएको भन्दै जसपा अध्यक्ष यादव झस्किएर सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामार्फत प्रधानमन्त्री दाहाललाई गौर हत्याकाण्डको फाइल खोलेमा सरकार छाड्ने सन्देश पठाएको बताइएको छ ।

देउवासँगको भेटमा यादवले ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा तपाईंलाई अप्ठ्यारो पारेजस्तै अहिले आफूलाई अप्ठेरो पार्न प्रधानमन्त्री दाहाल उद्धत रहेकोे’ भन्दै फाइल खोल्ने सुरसार भएकाले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने बताएका थिए ।

स्रोतका अनुसार देउवाले आफूले प्रधानमन्त्रीसँग कुरा गर्ने भन्दै तत्काल सरकार छाड्ने निर्णय नलिन यादवलाई आग्रह गरेका थिए । देउवा र प्रधानमन्त्री दाहालबीच बालुवाटारमा भएको भेटमा दाहालले जसपा गए पनि रौतहट काण्डको फाइल खोल्ने बताएका थिए ।

माओवादीले उपेन्द्र यादवलाई बाहिर राखेर राप्रपालाई सरकारमा ल्याउन सक्ने भन्दै गौर हत्याकाण्डको फाइल खोल्न तयार भएको स्रोतको दाबी छ ।

राप्रपालाई केन्द्र सरकारमा समावेश गराउँदा कोशी प्रदेशमा पनि गठबन्धन बलियो हुने र कांग्रेस नेतृत्वको सरकार टिक्ने वचन प्रचण्डले देउवालाई दिएको स्रोतको दाबी छ ।

१७ वर्षअघि रौतहटको गौरमा माओवादीको सभा बिथोल्ने क्रममा भएको आक्रमणमा २८ जना माओवादी कार्यकर्ताको मृत्यु भएको घटनामा यादवको हात रहेको पीडितहरूले बताउँदै आएका छन् ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार