देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

घोषणापत्र बनाउँदै कांग्रेस, एमालेप्रति आक्रामक

0

काठमाडौँ – आर्थिक समृद्धि, सामाजिक प्रगति, पूर्वाधार विस्तार, वन–वातावरणको संरक्षण र सुशासनको संकल्पलाई प्राथमिकतामा राख्दै नेपाली कांग्रेसले आसन्न चुनावका लागि घोषणापत्र तयार गर्दै छ । शनिबारदेखि मस्यौदा लेख्न थाल्ने र घोषणापत्रलाई वैशाख ११ गते जारी गर्ने तयारी कांग्रेसको छ ।

‘२०७४ मा जस्तो कार्यान्वयनमा आउन नसक्ने सपना बाँडेर जनता झुक्काउने काम यसपटक हामी गर्ने छैनौं,’ घोषणापत्र समितिका संयोजकसमेत रहेका महामन्त्री गगन थापाले भने, ‘पालिकाहरूले पूरा गर्न सक्ने कार्यक्रम र योजनालाई अघि बढाउँछौं । अन्य राजनीतिक दलले जस्तो सपना बाँडेर भ्रम छर्ने काम यसपटक हामी गर्दैनौं ।’ थापा नेतृत्वको समितिले प्रस्तुत गरेको घोषणापत्रको संक्षिप्त प्रारुप बुधबारको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरिसकेको छ ।

दुई तिहाइ समर्थनमा बनेको तत्कालीन नेकपा नेतृत्वको सरकार, ६ प्रदेश सरकार र अधिकांश स्थानीय तहमा नेकपा नेतृत्वमा बनेका सरकारले गुमाएका अवसर र कमजोरी केलाउँदै आफ्ना योजना र कार्यक्रम अघि सार्ने कांग्रेसको रणनीति छ । कांग्रेसले ‘सबल स्थानीय सरकार, समुन्नत गाउँ र समुन्नत नगर, केन्द्रदेखि गाउँसम्म नेपाली कांग्रेसको सरकार’ नारा बनाएको छ ।

प्रतिपक्षमा रहँदा निर्वाह गरेको भूमिकादेखि, संसद् पुनःस्थापना र कांग्रेस नेतृत्वको गठबन्धन सरकारका मुख्य प्राथमिकतालाई उसले घोषणापत्रमा समेट्नेछ । घोषणापत्रमा समसामयिक राजनीति र अबको एजेन्डा, प्रतिपक्षमा रहँदाको भूमिका, पाँच वर्षको भोगाइबाट आगामी यात्रा, स्थानीय सरकारका जिम्मेवारीलगायत विषय समेटिनेछन् ।

स्थानीय सरकारको सबलीकरणका लागि कानुन निर्माण, संस्थागत र वित्तीय क्षमता, लगानी वृद्धि, संघले बनाउनुपर्ने कानुन र संस्थागत संयन्त्रका काम एक वर्षभित्र पूरा गर्ने कांग्रेसको प्रतिबद्धता छ । स्थानीय निकायलाई जिम्मेवारी बनाउन उसले जवाफदेहिता, सामाजिक लेखा परीक्षण, पार्टी अडिट, पारदर्शिता र अनुगमन संयन्त्रलाई पनि जोड दिएको छ । घोषणापत्रको संक्षिप्त प्रारुपअनुसार मुख्य प्रतिस्पर्धी दल एमालेप्रति कांग्रेस आक्रामक देखिन्छ । कान्तिपुर दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार