देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चारबर्षदेखि बन्दरहेको श्रीराम सुगर मिल्स सञ्चालन गर्न सहमति

0

काठमाडौं – श्रीराम सुगर मिल्स लिमिटेड सञ्चालनका लागि सहमति जुटेको छ । सो उद्योग सञ्चालनका सम्बन्धमा गठित कार्यदलले प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष पेस गरेको छ । 

उद्योगको नाममा रहेको करिब ७४ बिघा जग्गामध्ये मूल संरचनामा असर नपर्ने गरी र ऋण फरफारक एवं मेसिनहरूको मर्मतसम्भार गरी तत्काल सञ्चालन गर्ने सर्तसहित मूल सडकसँग जोडिएको केही जग्गा बेच्न दिने सहमति गरेको छ ।

महिला तथा सामाजिक मामिलाका सभापतिसमेत रहनुभएका सांसद किरण साहको संयोजकत्वमा गठित कार्यदलले उद्योगीलाई आर्थिक सङ्कट भएको र जग्गा उपयोग गरेर उद्योग चलाउने वातावरण बनाउनुपर्ने बताए । 

उद्योगलाई औद्योगिक व्यवसाय ऐन, २०७६ तथा नियमावली अनुसारको प्रक्रिया गरी रुग्ण उद्योगको सुविधासहित रूपान्तरण गरी सञ्चालनका लगि अगाडि बढाउन उपयुक्त देखिने कार्यदलको ठहर छ ।

कार्यदलमा संयोजक सांसद साहसहित अर्का सांसदबिना साह, संविधान सभा सदस्य रामकुमार भट्टराई, उद्योगी हितेश गोल्छा र विशाल अग्रवाल, उखु उत्पादन किसान सङ्घका अध्यक्ष तथा स्थानीय सङ्घर्ष समिति अध्यक्ष अशोकप्रसाद यादव र मन्त्रालयका तर्फबाट सहसचिव विपिन आचार्य सदस्य रहेका थिए ।

विसं २०४९ सालमा स्थापित सो उद्योग २०७७ सालदेखि बन्द अवस्थामा रहेको छ । झन्डै ७४ बिघा क्षेत्रफलमा रहेको सो उद्योगको नेपाल बैङ्क लिमिटेडले लिलामी सूचना निकालेर रानाकुमार अग्रवालले साकार गरेपनि जग्गाको भने लिलाम गरिएको छैन ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार