देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चार्टर उडानमा चर्को शुल्क लिने र अनुमति दिनेलाई कारबाही गर : कांग्रेस

0

(काठमाडौं) – नेपाली कांग्रेसले चार्टर उडानमा चर्को शुल्क असूल्ने एरलाईन्स कम्पनी र उडान अनुमति दिनेलाई कारबाही गर्न माग गरेको छ ।

नेपाली कांग्रेस, जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै महामारीको समयमा सामाजिक उत्तरदायित्वबोध समेत नगरी भएका यस्ता कार्य तत्काल रोक्न सरकारसँग माग गरेका छन् ।

चार्टर्ड उडानका नाममा भएका सबै उडानको अनुसन्धान गरी सरकारको मिलेमतोमा तोकिएको भन्दा महँगो शुल्क लिने अनुमति दिने संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, वायु सेवा निगमका अधिकारी, नागरिक उड्डयन प्राधिकरणका अधिकारी, गृह मन्त्रालय लगायत माथि छानविन गर्न उनले माग गरेका छन् ।

निजी ट्राभल्स कम्पनी पोस्ने मनसायले सरकारले सिन्डिकेट खडा गरेर नेपाल वायु सेवा निगमको जहाज चाटर्र उडान गरेको भट्टराईको आरोप छ ।

भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना भाइरसको विश्वव्यापी महाव्याधीले विश्वभरी नै असर गरिरहेका बेला केही निजी ट्राभल्स कम्पनी पोस्ने मनसायले सरकारले सिन्डिकेट खडा गरेर नेपाल वायु सेवा निगमको जहाज चाटर्र उडान गरेको देखिएको छ ।’

मानिसहरुले रोजगारी गुमाएको र पेशा÷व्यवसाय संकटमा परेको अहिलेको अवस्थामा सरकारले नै सक्रियता देखाएर सस्तोमा उडान गर्नुपर्ने भएपनि तोकिएको भाडादर भन्दा चार गुणा महँगो भाडा असुलेर जापान, हङकङ, भारत, ढाका, अष्ट्रेलिया लगायत मुलुकमा चार्टर उडान गरिरहेका उनले बताए ।

नेपाल वायु सेवा निगमको चार्टर उडान कुन कार्यविधि अनुसार कुन कुन कम्पनीलाई के आधारमा दिएको हो त्यसको तत्काल सार्वजनिक गरी महँगो भाडा लिएका ट्राभल्स एजेन्सी माथि छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन उनले सरकारसँग माग गरेका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘कुवेत लगायतका केही मुलुकहरुले नेपाली कामदारलाई उनीहरुकै खर्चमा नेपाल फिर्ता गर्ने अनुमति मागिरहेका छन् । ४१ दिनदेखि कुवेत सरकारले नेपाली कामदारलाई ट्राभल्स डकुमेट तयार गरी एकै ठाउँमा राखेर नेपाल ल्याउने अनुमति कुरिरहेको छ । तर नेपाल सरकारले अझैसम्म किन उनीहरुलाई आउने अनुमति दिएको छैन ? कि ति नेपाली ल्याउन पनि चार्टर्ड उडानका नाममा कमिसनको खेल सुरु गर्नका लागि रोकिएको हो ? तत्काल नेपाल आउन चाहने ति नेपालीहरुलाई फिर्ता ल्याउने अनुमति दिइयोस् ।’

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार