देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चार ‘ब’ बाहिरिँदा दाहालको एकछत्र

0

काठमाडौं – सशस्त्र युद्धताका प्रचण्ड मातहत चार ‘ब’ शक्तिशाली थिए– बाबुराम, वैद्य, बादल र विप्लव। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का दाहिने–देब्रे हात मात्र होइन, बलिया साथ थिए उनीहरू।

माओवादी शान्ति प्रक्रियामा आएपछि क्रमशः सत्ता र शक्तिको खेलमा जेलिँदै गयो। पार्टी र अवसरमा दाहालको एकछत्र चल्दै गयो। दाहालको दबदबाबाट बिरक्तिएका चारै ‘ब’ ले क्रमशः पार्टी छाडे। चुनौती दिनेले मैदान खालि गरेपछि दाहालसामु नेतृत्वको प्रश्न उठाउने हैसियतको कोही रहेन।

फलतः आठौं राष्ट्रिय महाधिवेशन उद्घाटनसत्रका निर्विकल्प नायक देखिए, प्रचण्ड। उनको वरिपरि न वैद्य थिए, न त डा. भट्टराई नै। नेत्रविक्रम चन्द (विप्लव) झन् टाँसिएर रहने कुरै भएन। २०५२ सालमा सशस्त्र आन्दोलनमा सँगै होमिएका र युद्धमा सैन्य कमान्ड गरेका रामबहादुर थापा (बादल) पनि साथमा रहेनन्। उसकालका सहयोद्धा टोपबहादुर रायमाझी, लेखराज भट्टलगायत पनि अन्यत्रै गइसके। २०६५ मा पार्टी एकताबाट आएका नारायणकाजी श्रेष्ठ मात्र दाहाल छेउको सोफामा थिए। ‘प्रचण्डलाई पैसा, पद र परिवार बाहेक अरू केही नचाहिने भएपछि इमान्दार नेताहरू सबैले छोड्दै गएका हुन्,’ रायमाझीले अन्नपूर्णसँग भने,‘ विचार, सिद्धान्त, आन्दोलन केही नभएपछि त्यहाँ बस्नुको औचित्य देखिएन।’

विगतमा कुनै बेला वैद्य त कुनै बेला डा. भट्टराई नेतृत्व परिवर्तनका सबाल उठाउँथे। उनीहरूले दाहालबाट नेतृत्व भने कहिल्यै उम्काउन सकेनन्। पछि दाहाललाई चुनौती दिने नेताका रूपमा नेत्रविक्रम चन्द विप्लवलाई हेरिन्थ्यो। उनले पनि वैद्यसँगै पार्टी विभाजन गरेर छुट्टै पार्टी गठन गरे। आठौं राष्ट्रिय महाधिवेशनमा दाहालले नेतृत्वका लागि कसैसँग चुनौतीको सामना नै गर्नु नपर्ने निश्चित छ। केही नेताहरूले छोड्दैमा प्रचण्ड कमजोर नहुने तर्क गर्छन्, माओवादी नेता दीनानाथ शर्मा। ‘मञ्चमा नेताको कमी भयो होला, तर प्रचण्डसँग नेता र कार्यकर्ताको कुनै कमी छैन,’ शर्माले भने।

झन्डै ३३ वर्षदेखि एकल नेतृत्व गर्दै आएका दाहालले अब भने पार्टीलाई नयाँ ढंगले विकास गर्न ‘सामूहिक नेतृत्व’ प्रणालीमा लैजाने तयारी गरेका छन्। त्यसका लागि बहुपदीय १५ जनाको पदाधिकारीको प्रस्ताव गरिएको छ। २०४५ सालमा नेकपा मशालको महामन्त्री बनाए यता एकल नेतृत्वमा छन्। त्यही बेलादेखि माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय गरिएको थियो। ०५० सालमा सशस्त्र युद्धमा पार्टी होमिएपछि नेतृत्व झन् ‘केन्द्रीकृत’ गर्दै ‘प्रचण्डपथ’को अभ्यास गरिएको थियो।

०६३ सालमा शान्ति सम्झौतासँगै माओवादी मूलाधारको राजनीतिमा अवतरण गर्‍यो। ०६४ सालको पहिलो संविधानसभामा सबैभन्दा ठूलो पार्टी पनि बन्यो। तर, पहिलो संविधानसभाले संविधान बनाउन असफल भएपछि माओवादी टुट्दै, खिइँदै गयो। ०७४ को चुनावमा त तेस्रो दलमा झर्‍यो। त्यसैले, माओवादीले आठौं महाधिवेशनको नारा नै ‘नयाँ क्रान्तिकारी विचार र क्रान्तिकारी पार्टी निर्माण गर्ने’ राखेको छ। त्यसका लागि ‘आफ्नै समीक्षा गर्ने’, सांगठानिक संरचना व्यवस्थित गर्ने र नेतृत्वको विकास गर्ने घोषणा गरेको छ। पार्टीमा उत्तराधिकारीका लागि पनि बहुपदीय नेतृत्वको अवधारणा ल्याइएको नेताहरू बताउँछन्।

उत्तराधिकारीको कुरा प्रचण्डले नै गरेका थिए 
माओवादीले २०६९ माघ २०–२२ मा हेटौंडामा पार्टीको सातौं राष्ट्रिय महाधिवेशन गरेको थियो। ०४८ मा एकताको महाधिवेशनपछि २१ वर्षपछि सातौं महाधिवेशन भएको थियो। उक्त महाधिवेशनमा अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदनमै उल्लेख गरेका थिए, ‘उत्तराधिकारीको विकास नगरेकाले विश्व कम्युनिस्ट आन्दोलन संकटमा परेको हो। यो महाधिवेशनले त्यो काम गर्नेछ।’

तर, महाधिवेशनबाट उत्तराधिकारीको खोजी भएन। अध्यक्षमा दाहाल सर्वसम्मत घोषणा गरिए। नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराईलाई उपाध्यक्षको प्रस्ताव गरियो। तर, त्यसले सार्थकता पाएन। मोहन वैद्य, नेत्रविक्रम चन्दलगायत नेताहरू बाहिरिएपछि गरिएको ‘एकताको’ उक्त महाधिवेशनले पार्टीलाई एकताको सूत्रमा बाँध्न सकेन। भावी अध्यक्षको दावेदार ठानिएको महासचिवमा पोष्टबहादुर बोगटीलाई प्रस्ताव गरियो। तर, नेतृत्व चयन नै विवादमा परेपछि पदीय बाँडफाँंट गञ्जागोल भयो। त्यसको अर्को कारण थियो, अध्यक्ष दाहाललाई एक्ल्याउन त्यसअघि उपाध्यक्षत्रय मोहन वैद्य, नारायणकाजी श्रेष्ठ र बाबुराम भट्टराईबीच धोबीघाट गठबन्धन बन्नु। महाधिवेशन नहुँदै वैद्यले ०६९ मा पार्टी फुटाए। वैद्यलगायतका नेताहरू बाहिरिएपछि भट्टराईले पनि नेतृत्वमा दाबी गर्न सकेनन्।

त्यसपछि २०७१ वैशाखमा पार्टीले राष्ट्रिय सम्मेलन गर्‍यो। पेरिसडाँडामा भएको सम्मेलनलाई भट्टराई पक्षले बहिस्कार गर्‍यो। आन्तरिक चुनाव गरेर नेतृत्वको औपचारिकता पूरा गरियो। तर, त्यसरी छानिएका पदाधिकारीको सांगठानिक संरचना पनि कामयावी र चलायमान बन्न सकेन। ०७२ मा संविधानसभाबाट संविधान बनाउने अध्यक्ष दाहालको एजेण्डाप्रति असहमति जनाउँदै भट्टराईले पनि पार्टी फुटाए। उनले नयाँ शक्ति पार्टीको घोषणा गरेका थिए।

१५ पदाधिकारीको प्रस्ताव 
माओवादीले अध्यक्षसहित १५ पदाधिकारीको सांगठानिक संरचनाको तयारी गरेको छ। एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उपमहासचिव, ३ सचिव र एक कोषाध्यक्षको प्रस्ताव गरिएको छ। महाधिवेशनको बन्दसत्रले पारित गरेपछि यो संरचनामा पार्टीलाई लगिने प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। सर्वोच्च अदालतले २०७७ फागुन २३ मा नेकपा एकता भंग गरिदिएपछि दाहाल मात्र अध्यक्षका रूपमा पार्टीमा सक्रिय थिए। अरू पदाधिकारीको पद कायमै थियो वा थिएन भन्ने टुंगो नलाग्दै माओवादी महाधिवेशनमा गएको हो। माओवादीले वरिष्ठ उपाध्यक्षसहित एमालेको जस्तै सांगठनिक संरचनाको प्रस्ताव गरेको छ। ‘पार्टीका नेता व्यवस्थापन र नेतृत्व विकासका लागि बहुपदीय प्रणालीमा जान खोजेका हौँ,’ शर्माले भने, ‘यसबाट वैकल्पिक नेतृत्व पनि विकास हुँदै जान्छ।’ पार्टीमा युवा नेताहरूलाई समेट्दै जाने नीति लिएकाले पार्टीमा पुस्तान्तरण पनि हुँदै जाने शर्माको भनाइ छ।

पार्टीको नाम नै स्थिर भएन 
०६५ मा नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकताकेन्द्र र माओवादीबीच पार्टी एकता भयो। पार्टीको नामको अघि (एकीकृत) शब्द झुण्ड्याइयो। मातृका यादवलगायत केही नेताले पार्टीको नाममा थपघट भएकामा आपत्ति जनाएका थिए। ०६९ मा माओवादीमा विभाजन आयो। मोहन वैद्य नेतृत्वमा नेत्रविक्रम चन्दसहितका नेताहरू फुटेर नेकपा–माओवादी नामको अर्को पार्टी जन्म्यो। धेरै नेताले पार्टी छोडेपछि २०७० को दोस्रो संविधानसभा निर्वाचनबाट माओवादी खुम्चियो।

२०७२ मा संविधान निर्माणपछि डा. बाबुराम भट्टराई सहितका नेताहरूले फेरि पार्टी विभाजन गरे। ०७३ मा मोहन वैद्यको पार्टी फुटाएर रामबहादुर थापा बादलसहितका केही नेताहरू माओवादीमै फर्के। माओवादी छोडेर फर्केका विभिन्न १० वटा समूहसँगको एकतापछि पार्टीको नाम नेकपा माओवादी केन्द्र राखियो। २०७५ जेठ ३ मा एमालेसँग एकतापछि माओवादी केन्द्र नै हरायो। एमाले र माओवादी एकतापछि नेकपा बनाइयो। २०७७ फागुन २३ मा नेकपा एकता भंग भएपछि पुनः माओवादी केन्द्र ब्युँताइयो।

उदयदेखि नै फुटको सुरुवात 
माओवादी धारको जग मोहन विक्रम सिंहले नेतृत्व गरेको चौथो महाधिवेशनलाई मानिन्छ। ०३६ सालमा राजाले गराएको जनमत संग्रहलाई लिएर पार्टीमा विवाद भयो। विवाद बढ्दै जाँदा २०४० सालमा निर्मल लामा समूहले नेकपा (चौम) गठन गर्‍यो। मोहनविक्रमको समूहले आफ्नो पार्टीको नाम नेकपा मसाल राख्यो र महामन्त्रीमा मोहनविक्रम चयन भए।

नेकपा मसालको पाँचौं महाधिवेशन पनि जुट्नेभन्दा फुट्ने कारण बन्यो। महाधिवेशनले यौनदुराचारको आरोपमा मोहनविक्रम सिंहलाई कारबाही गर्‍यो।

२०४१ सालमा भएको पाँचौं महाधिवेशनबाट महामन्त्रीमा मोहन वैद्य (किरण) निर्वाचित भए। मोहनविक्रमले चित्रबहादुर केसीसहित चार जना केन्द्रीय सदस्य लिएर नेकपा मसाल (पातलो ‘स’) नामको पार्टी बनाए। वैद्य नेतृत्वको पार्टीको नाम नेकपा मशाल (मोटो ‘श’) राखियो। २०४५ सालमा नेकपा मशालले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई महामन्त्री बनायो र माओवादलाई पार्टीको प्रमुख सिद्धान्त मान्ने निर्णय गर्‍यो।

बहुदल आएपछि प्रचण्डको पार्टी मशाल, निर्मल लामाको पार्टी नेकपा चौम, सर्वहारावादी श्रमिक संगठन र रूपलाल विश्वकर्माको समूह मिलेर नेकपा (एकता केन्द्र) गठन भयो। मोहनविक्रमको पार्टीबाट बाबुराम भट्टराई पनि एकता केन्द्रमा मिसिए।

एकताको दुई वर्षमै सशस्त्र युद्धमा जाने कि नजाने भनेर पार्टीभित्र फेरि विवाद सुरु भयो। निर्मल लामाहरूले एकता केन्द्र छोडे। सशस्त्र युद्धमा जानुपर्ने पक्षमा रहेको प्रचण्ड नेतृत्वको एकता केन्द्रले पार्टीको नाम नेकपा माओवादी राख्यो। जनयुद्धको घोषणा गरेर यो पार्टी युद्धमा गयो।

मोहनविक्रम सिंह नेतृत्वको मसाल र नारायणकाजी श्रेष्ठ नेतृत्वको एकता केन्द्रबीच ०५९ सालमा एकता भयो। ०६९ सालमा माओवादीमा ठूलो विभाजन आयो। मोहन वैद्य(किरण)को नेतृत्वमा नेकपा माओवादी नामको अर्को पार्टी गठन भयो। रामबहादुर थापालगायतका नेताहरू एकतामा आएपछि ०७३ मा पार्टीको नाम नेकपा माओवादी केन्द्र राखियो।

महासचिव को ?
माओवादीमा अध्यक्ष दाहालको ‘उत्तराधिकारी’ का रूपमा महासचिव पदलाई हेरिएको छ। कृष्णबहादुर महरा, वर्षमान पुन, जनार्दन शर्मा महासचिव पदका आकांक्षी देखिएका छन्। अध्यक्षपछि पार्टीमा महासचिव पदलाई शक्तिशाली मानिन्छ। यसपटक महासचिव हुनेलाई माओवादीको आगामी नेतृत्वका रूपमा व्याख्या गर्न थालिएको छ। बिरामी भएका कारण वर्षमान महाधिवेशनमै उपस्थित हुन सकेनन्। अन्नपुर्णपोष्ट दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार