देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

‘चितवनमा रेणु दाहाललाई हरायो भने विश्वले के भन्छन् ?’ – प्रधानमन्त्री देउवा

0

काठमाडौं – प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भरतपुर महानगरपालिकामा रेणु दाहाललाई मेयरको उम्मेदवार बनाउन आफूले कर गरेको बताएका छन्।

शुक्रवार काठमाण्डाैमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै उनले चितवनमा रेणुलाई टिकट दिँदा छोरीलाई टिकट दियो भन्ने गुनासो आउने गरेको भन्दै उनले भने, ‘रेणुलाई टिकट नदिउँ भन्दै हुनुहुन्थ्यो प्रचण्डजी त । तर, मैले राम्रो काम गरेकोलाई किन हटाउने भनेर मेरै करकापले टिकट पाएकी हुन् ।’

काठमाडौं महानगर र चितवन महानगरमा महिला नै उम्मेदवार उठेको भन्दै देउवाले उनीहरूलाई हराउने काम नगर्न सबैमा अनुरोध समेत गरेका छन् । ‘काठमाडौंमा सृजना सिंहलाई हरायो भने दुनियाँले के भन्छ ? चितवनमा रेणु दाहाललाई हरायो भने विश्वले के भन्छन् ? त्यसैले सबै मिलेर उनीहरूलाई जिताउनुपर्छ,’ देउवाले भने ।

सृजना सिंहका आमा बुबाले बिहे गरेर प्रकाशमान सिंहलाई दिएको भन्दै त्यसमा विरोध गर्ने काम बन्द गर्न सबैमा अनुरोध गरे । ‘अब सृजनाका आमाबुबाले बिहे गरेर प्रकाशमानको घरमा पठाइदिए त के गरून बिचारीले । प्रकाशमानको श्रीमतीलाई मेयरको टिकट दियो भने बखेडा झिकेर हुन्छ ?,’ उनले प्रश्न गरे ।

सभापति देउवाले भने, ‘प्रचण्डजी सजिलो हुनुहुन्छ । हामी सबैले तपाईँको छोरी नउठाउनुस् भनेको भए मान्नु हुन्थ्यो । मैले रेनुले राम्रो काम गरेकी छिन्, टिकट दिनुस् भनेको हो । काठमाण्डाैमा सिर्जना सिंहलाई टिकट दिन प्रकाशमान डराएका हुन् । मैले नै उम्मेदवार बनाएको हो । पार्टीमा योगदान गरेको मान्छे हो ।’

आफ्नो मन नहुँदा नहुँदै प्रधानमन्त्री बनाइएको स्मरण गराउँदै अहिले आएर धेरै निहूँ खोज्ने काम भइरहेको बताए । अहिलेको अवस्थामा कुनै पनि पार्टीले बहुमत ल्याउन नसक्ने भन्दै गठबन्धनअनुसार नै अगाडि बढ्नुपर्ने उनले बताए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार