देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चुनाव नजिकिँदै गर्दा कांग्रेसमा देउवा–कोइराला दूरी बढ्दै

0

काठमाडौं — कांग्रेसमा देउवाले दोस्रोपटक नेतृत्व सम्हालेको साढे तीन महिनामै सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र प्रतिस्पर्धी नेता डा.शेखर कोइराला समूहबीच विवाद बढ्न थालेको छ । पछिल्लो समय देउवाले एकलौटी गरेको भन्दै कोइराला समूह आक्रोशित भएको हो ।

पार्टीभित्रको एकतालाई बेवास्ता गर्दै सत्ता गठबन्धनमा रहेका सहयात्री दलसँग चुनावी तालमेल गर्ने देउवाको प्राथमिकताप्र्रति शेखर समूह सशंकित छ । त्यति मात्रै होइन कोइराला समूहको अबको रणनीति पार्टीका हरेक संरचना र सबै तहका चुनावमा ४० प्रतिशतको हिस्सा खोज्नेमा छ ।

कोइराला समूहको विश्लेषणमा देउवाले महाधिवेशनमा ४० प्रतिशत मत प्राप्त गरेको प्रतिस्पर्धी नेता हो भनेर शेखरको अस्तित्व स्वीकार गर्न खोजेका छैनन् । केन्द्रीय कार्यसमितिमा वरीयता निर्धारणदेखि पार्टी सञ्चालन र राष्ट्रिय राजनीतिका मुद्दामा उनको भूमिकालाई नजरअन्दाज गर्दै आएको शेखर समूहका नेताहरूले बताएका छन् ।

‘यतिसम्म कि शेखरजीले डेढ महिनादेखि पार्टी र राष्ट्रिय मुद्दामा भेटेरै छलफल गर्न समय माग्दै आउनुभएको छ तर प्रधानमन्त्रीले समय दिनुभएको छैन,’ कोइराला समूहका एक केन्द्रीय सदस्यले भने।

पार्टीमा भागबन्डा नखोजी बस्दा स्थानीय निर्वाचनदेखि प्रदेश र संघको निर्वाचनमा एकलौटी ढंगले उम्मेदवार चयन गर्न सक्ने खतरा देखेरै शेखर पक्षले अब पार्टीका हरेक संरचना र उम्मेदवार चयनमा ४० प्रतिशत हिस्साको दाबी गर्ने योजना बनाएको हो ।

नेविसंघ र तरुण दलको नेतृत्वमा पनि देउवाले कोइराला सहुहसँग छलफलनै नगरी मनोनयन गरेपछी कोइराला समूह झनै बिच्किएको छ । देउवाले आफुहरुसँग परामर्श नगरी अगाडी बढ्न खोजेको भन्दै कोइराला समूहले नेपाल विद्यार्थी संघ र तरुण दलमा आवद्ध आफ्नो पक्षको राष्ट्रिय भेला बोलाएको छ ।

 

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार