देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चोभारमा सबस्टेशन निर्माण गर्न ऊर्जा र उद्योग मन्त्रालयबीच सहमति

0

(काठमाडौं) – दुई दशकअघि शुरु भए पनि हालसम्म सम्पन्न हुन नसकेका चोभार–खोकना–चापागाउँ प्रसारण लाइन निर्माण सम्पन्न गर्न सरकारले पहल थालेको छ । भक्तपुरमा विद्युत् उपलब्ध गराउने वैकल्पिक १३२ केभी क्षमताको सो प्रसारण लाइन निर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच आइतबार छलफल भएको छ ।

ललितपुरको खोकना र चापागाउँवासीको निरन्तरको अवरोधका कारण प्रसारण लाइन बन्न नसकेपछि ऊर्जा मन्त्रालयले त्यसको विकल्पमा चोभारमा सबस्टेशन निर्माण गरी वैकल्पिक वितरण प्रणालीमार्फत भक्तपुरमा विद्युत् पु¥याउने योजना अघि सारेको हो । सबस्टेशन निर्माणका लागि आवश्यक जमीन नहुँदा उक्त काम समेत अघि बढ्न सकेको थिएन । उद्योग मन्त्रालयले सबस्टेशन निर्माणका लागि चोभारमा आवश्यक जमीन उपलब्ध गराउने भएको छ ।

छलफलमा उद्योग मन्त्री लेखराज भट्टले सबस्टेशनका लागि आवश्यक जग्गा उपलब्ध गराउने प्रतिबद्धता जनाए । सो स्थानमा सरकारले बन्द भएको हिमाल सिमेन्ट कारखानाको जमीन सुक्खा बन्दरगाह निर्माणका लागि उपलब्ध गराएको थियो । उद्योग मन्त्रालय अन्तर्गतको नेपाल इन्टरमोडल यातायात विकास समितिले सुक्खा बन्दरगाह निर्माणको काम गरिरहेको छ ।

सबस्टेशन निर्माणका लागि कति जमीन कहिलेसम्म उपलब्ध गराउने भन्नेबारे अध्ययन गर्न दुवै मन्त्रालयका उच्च अधिकारीको टोली चोभार पुगेर स्थलगत अध्ययन गर्ने र टोलीको सिफारिसमा काम अघि बढाउने सहमति भएको छ । ऊर्जामन्त्री वर्षमान पुन र उद्योगमन्त्री भट्टसमेत प्रस्तावित सबस्टेशन निर्माणस्थलमै गएर जमीनबारे अन्तिम टुंगो लगाउन सहमत भएको मन्त्री पुनको सचिवालयले जनाएको छ । रासस

द्वारा लेखिएको

मध्यबिन्दु

Responses (0 )



















सम्बन्धित समाचार