देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

चौताराका नगरप्रमुख विरुद्ध स्थानीयको नाराबाजी

0

काठमाडौं – सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाका नगरप्रमुख विरुद्ध स्थानीयले नाराबाजी गरेका छन्।

योजनाको उपभोक्ता समिति बनाउँदा आफ्नो पार्टीको कार्यकर्ता मात्रै समावेश गर्न खोजेको भन्दै आक्रोशित स्थानीयले नगरपालिकाको मुख्य भवनको मूलगेटमै ‘निरंकुश मेयर मुर्दावाद’ भन्दै नगरप्रमुख कृष्णप्रसाद सापकोटा विरुद्ध नाराबाजी गरेका हुन्।

चौतारा साँगाचोकगढी नगरपालिका वडा नम्बर ९ का लागि विनियोजित दलित बस्ती विकास शीर्षकको उपभोक्ता समिति बनाउँदा नगर प्रमुखले माओवादी पार्टीका कार्यकर्तालाई मात्रै समावेश गर्न खोजेका भन्दै स्थानीयले नगरपालिकामा पुगेर नाराबाजी गरेका हुन्।

आठ लाख रुपैयाँको सो योजनामा अन्य दलका प्रतिनिधिले समेत समितिको जिम्मेवार पदमा रहन खोजेपछि विवाद उत्पन्न भएको थियो। सो वडामा वडाध्यक्ष पदमा नेपाली कांग्रेसबाट विजयी भएका विमल श्रेष्ठ छन् भने नगर प्रमुख नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवं नगरपालिका महासंघका उपाध्यक्ष समेत रहेका कृष्णप्रसाद सापकोटा छन्। 

नगर प्रमुखले वडाको योजना कार्यान्वयनमा हस्तक्षेप गरेको भन्दै नगरपालिका भित्रका चार वडाध्यक्षहरूले स्थानीयको मागप्रति ऐक्यबद्धता जनाउँदै माग सुनुवाइ गर्न दबाब दिएका छन्। वडा नम्बर २ का वडाध्यक्ष सुदीप श्रेष्ठ, वडा नम्बर ५ का वडाध्यक्ष शिव श्रेष्ठ, वडा नम्बर ९ का अध्यक्ष विमल श्रेष्ठ, वडा नम्बर १४ का वडाध्यक्ष उद्धव नेपाल लगायत विभिन्न दलका प्रतिनिधिहरूद्वारा हस्ताक्षरित विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्।

विज्ञप्तिमा उनीहरूले भनेका छन्, ‘केही योजनाहरू नगरप्रमुखको रोहवरमा उपभोक्ता समिति गठन गरी योजना सम्झौता र भुक्तानीसमेत भएकोले स्थानीयले गरेको विरोधमा ऐक्यबद्धता जनाउँदै संयुक्त रुपमा विरोध जनाउँदछौं।’

स्थानीयहरूको नाराबाजीकै बीच नगर प्रमुखको कार्यकक्षमा भएको छलफलमा नगर प्रमुख सापकोटाले आफू जहिल्यै पनि सहमतिको पक्षमा रहेकोले सहमतिकै आधारमा उपभोक्ता समिति बनाउन पहल गर्न वडाध्यक्ष श्रेष्ठलाई निर्देशन दिए। ‘सबै प्रमुख दलका प्रतिनिधिलाई समितिको मुख्य पदहरूमा सहभागी गराऔं,’ नगर प्रमुख सापकोटाले भने–‘बरु बैंक खातामा पनि फरक फरक दलकै व्यक्तिको हस्ताक्षर चल्ने गरि निर्णय गरौं।’

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार