देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

छठ लगत्तै लकडाउन गर्न सीसीएमसीलाई उपत्यकाका मेयरको सुझाव

0

काठमाडौं – उपत्यका मेयर फोरमले तिहार र छठपछि काठमाडौं उपत्यकामा कडा निषेधाज्ञा जारी गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई आग्रह गरेको छ ।

समितिका संयोजक समेत रहेका उप-प्रधानमन्त्री ईश्वर पोखरेल र काठमाडौं उपत्यका नगरपालिका फोरमका पदाधिकारी र सदस्यबीच बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा कोरोना महामारीको अवस्था, रोकथाम र नियन्त्रण बारे करीब पाँच घण्टा लामो छलफल भएको हो ।

छलफलमा मेयर फोरमका पदाधिकारीहरुले छठ पर्वपछि १५ दिनका लागि कडा लकडाउन गर्न सुझाव दिएका छन् । काठमाडौं उपत्यकामा कोरोना भाइरसको बढ्दो संक्रमणको दर र यसलाई नियन्त्रणका लागि कडा निषेधाज्ञाको आवश्यकता रहेको मध्यपुर थिमि नगरपालिकाका मेयर फोरमका सचिव मदनसुन्दर श्रेष्ठले बताए ।

उनले तिहार, छठ पर्व सकिएपछि कोरोना संक्रमण चक्र तोड्न प्रभावकारी कदम चाल्ने विषयमा समेत छलफल भएको जानकारी दिए ।उपत्यकामा बढ्दो संक्रमण नियन्त्रण गर्न कडा निषेधाज्ञा आवश्यकता भएको उनको भनाई छ ।

‘निषेधाज्ञा बारे अहिले नै निर्णय भएको तर, कोरोना संक्रमण चक्र तोड्न र दोस्रो तरङ्ग आउन नदिन केही समयका लागि कडा खालको लकडाउन नै गरी परीक्षणको दायरा अझै फराकिलो बनाउने लगायत विषयमा पनि छलफल भएको उनले जानकारी दिए ।

आपूर्ति व्यवस्था सहज बनाउनु पर्ने, कोरोनाको दोस्रो तरङ्ग आउन नदिन प्रभावकारी प्रयास गर्नुपर्ने, समुदायलाई परिचालन गर्नुपर्ने, उपत्यकामा कोरोनाको प्रभाव कम गर्न उपत्यका छिर्ने विभिन्न नाकामा हेल्थ डेक्स राख्नुपर्ने जस्ता विषय पनि बैठकमा उठेको थियो ।

छलफलमा सीसीएमसीका संयोजक उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सहित नेपाली सेनाका प्रतिनिधि उपस्थित थिए ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार