देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जनकपुरधाममा राम–जानकी विवाह पञ्चमी मेला सुरु

0

जनकपुरधाम – रामजानकी विवाह पञ्चमी महोत्सवअन्तर्गत जनकपुरधाममा सप्ताहव्यापी कार्यक्रमले रौनकता बढाएको छ। विवाह पञ्चमी महोत्सवका लागि जनकपुरको जानकी मन्दिर झकिझकाउ पारेर बेहुलीझैं सिंगारिएको छ।

जनकपुरका राजा जनककी छोरी सीता र अयोध्याका राजा दशरथका छोरा रामबीच त्रेता युगमा भएको भनिएको बिहेको सम्झनास्वरूप हरेक वर्ष जनकपुरधाममा रामजानकी विवाह उत्सव भव्यरुपमा मनाइन्छ ।

महोत्वसको पहिलो दिन नगरदर्शन हुन्छ। यस दिन राम–सीताको प्रतिमा र झाँकीलाई बाजागाजाका साथ नगर परिक्रमा गराइन्छ।

दोस्रो दिन फूलबारी लीला मनाइन्छ। राम अयोध्याबाट आएपछि सीतालाई फूलबारीमा पहिलोपटक हेरेको सम्झनास्वरूप फूलबारी लीला गरिन्छ। यो विधि जानकी मन्दिरसँगै रहेको विवाहमण्डपमा हुन्छ। फूलबारीमा राम–सीताको पहिलो भेंट भएपछि नै दुवैबीच प्रेम सम्बन्ध जुटेको मान्यता छ।

तेस्रो दिन आइतबार धनुष यज्ञको विधि सम्पन्न भएको छ। सीता स्वयंवरका लागि राजा जनकले शिवको धनुषमा ताँदो चढाउने सर्त राखेको स्मरण स्वरूप सोही लीलालाई प्रदर्शन गरिँदै आएको छ।

चौथो दिन सोमबार तिलकोत्सव मनाइन्छ। विवाह महोत्सवको मुख्य आकर्षणमध्ये एक हो, ‘तिलकोत्सव’। राम मन्दिरको प्रांगणको तिलकोत्सव मञ्चलाई जानकी मन्दिरबाट वरपक्ष राम मन्दिरलाई पठाएको करिब डेढ सयभन्दा बढी भार(कोसेली)सहित सजाइन्छ।

सोही क्रममा जानकी मन्दिरका महन्थ र राममन्दिरका महन्थबीच सम्धी मिलान समारोहसमेत गरिन्छ। सम्धी मिलान मिथिलाको वैवाहिक उत्सवमा विशेष संस्कृति हो।

पाँचौं दिन मंगलबार मटकोरको विधि हुन्छ। यस विधिमा विवाहको मण्डप बनाउन पवित्र जलाशय गंगासागरबाट माटो ल्याइन्छ। सोही माटोले विवाहको वेदीलाई लिप्ने गरिन्छ। छैटौं बुधबार साताव्यापी महोत्सवको मुख्य आकर्षण रामसीताको स्वयंवर हुन्छ।

अन्तिम दिन रामकलेवा मनाइन्छ। यसलाई मैथिलीमा बरातीको बिदाइ भनिन्छ। यस दिन बरातीलाई छप्पन भोग व्यञ्जन खुवाइन्छ। लुगा र कोसेली दिई बिदाई गरेपछि विवाह महोत्सव विधिवत् रूपमा सम्पन्न हुन्छ।

द्वारा लेखिएको

मध्यबिन्दु

सम्बन्धित समाचार