देश र दुनियाँको खबरको लागि मध्यबिन्दु समाचार एप्लिकेसन डाउनलोड गर्नुहोस्! डाउनलोड गर्नुहोस् →

जलहरीको सुन जोख्दै अख्तियार

0

काठमाडौं – पशुपतिनाथको मन्दिरमा सुनको जलहरी राख्दा अनियमितता भए–नभएको टुंगो लगाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलहरीको सुन तौलिँदै छ । आइतबार मध्यरातिसम्म जलहरीको सुन निकालेर जोख्ने काम जारी रहेकाले कति किलो छ भन्ने यकिन भइसकेको छैन ।

दुई वर्ष चार महिनाअघि निर्माण गरिएको जलहरीको सुनको तौलबारे सुरुदेखि नै विवाद छ । जलहरी राख्दा करिब ११ किलो सुन अनियमितता भएको आरोप लाग्दै आएको छ । अख्तियारमा मुद्दा विचाराधीन थियो भने महालेखापरीक्षक कार्यालयले पनि आफ्नो ५९औँ वार्षिक प्रतिवेदनमा यसबारे प्रश्न उठाएको थियो । पछिल्लो समय संसद्मा समेत यस विषयमा चर्काचर्की भएपछि अख्तियारले फाइल पल्टाएर छानबिन अघि बढाएको हो ।

अख्तियारले अनियमितता विवादलाई टुंगो लगाउन आइतबार मन्दिरको गर्भगृहबाट जलहरी निकालेर सुन जोख्ने प्रक्रिया थालेको हो । नेपाल प्रहरी, पशुपति क्षेत्र विकास कोष, नेपाल सुनचाँदी व्यवसायी महासंघ, पशुपतिका पुजारी, जनप्रतिनिधिलगायतको रोहवरमा अख्तियारका सहसचिव शेरजंग कार्की नेतृत्वको टोलीले सिसिटिभी राखेर जलहरीमा प्रयोग भएको सुन जोखिरहेको छ ।

टोलीले मध्यरातिसम्म पनि सुन जोख्ने काम सकेको छैन । ‘हामी यहीँ छौँ, काम जारी छ, बाँकी कुरा अहिले केही पनि बोल्न मिल्दैन,’ टोलीमै रहेका गौरीशंकर पराजुलीले भने ।दुई वर्षअघि परेको उजुरीमा छानबिन अघि बढाउँदै अख्तियारले त्यतिवेलै निर्णय प्रक्रियामा संलग्न कोषका पदाधिकारी तथा कर्मचारीसँग बयान पनि लिएको थियो । तर, मन्दिरभित्रको जलहरीको तौल लिन समस्या भएपछि अनुसन्धान रोकिएको थियो ।

गम्भीर विषयमा समेत अख्तियारले गहन अनुसन्धान नगरेको भन्दै सदनमै प्रश्न उठेपछि जलहरी नै निकालेर तौल लिने प्रक्रिया थालिएको हो । यसरी जलहरी निकाल्नुअघि मन्दिरमा क्षमापूजा गरिएको थियो । आइतबार अपराह्नदेखि सर्वसाधारणलाई मूल मन्दिर जान रोक लगाई जलहरी निकालिएको थियो । त्यसपछि तौल लिन थालिएको हो ।
गडबड भएको भन्दै महालेखाले उठाएको थियो प्रश्न
पशुपतिमा जलहरी राख्दा अनियमितता भएको भन्दै महालेखापरीक्षक कार्यालयले आफ्नो ५९औँ  वार्षिक प्रतिवेदनमा प्रश्न उठाएको थियो । जलहरी बनाएर बाँकी रहेको सुनको सम्बन्धमा महालेखाको प्रश्न थियो । पशुपति शिवलिंगको गर्भगृहलाई पूर्ण रूपमा ढाक्ने गरी राखिने सुनको जलहरी निर्माण कार्यका लागि आर्थिक वर्ष ०७७/७८ मा नेपाल राष्ट्र बैंकबाट ८० करोड ११ हजारमा एक सय तीन किलो ७७३ ग्राम सुन खरिद गरिएको थियो । विभिन्न शुद्धताको प्रतिशत रहेको सुनमा अन्य धातु र रसायनको मिश्रण गर्दा तामा दुई किलो ८९० ग्राम, चाँदी एक किलो २४९ ग्राम, जिंक १२.७५ ग्रामसमेत प्रयोग गरी एक सय सात किलो ९२४.७५ ग्राम सुन कायम गरिएको थियो ।

तर, निर्मित जलहरी, जलधारा, नाग, नागमूर्ति, सुनको किलालगायतमा प्रयोग भएको सुनको तौल ९६ किलो ८२२ ग्राम मात्र थियो । बाँकी रहेको सुन १० किलो ९७६ ग्रामको रिङ बनाई जलहरीमा लगाइएको कोषको जवाफ थियो । त्यसको मूल्य त्यतिखेर सात करोड ८६ लाख ४६ हजार रुपैयाँ पर्न आउँथ्यो । जलहरी बनाएर बाँकी रहेको सुनको सम्पूर्ण परिमाण रिङ बनाउने कार्यमा प्रयोग भएको पुष्टि नभएको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।

जलहरी बनाउन लागेको ज्यालामाथि पनि महालेखाले प्रश्न उठाएको थियो । पशुपति क्षेत्र विकास कोष आर्थिक प्रशासन (दोस्रो संशोधन २०६२) नियमावली, ०४५ को नियम ३.४.१.१ अनुसार दाताहरूबाट प्राप्त चन्दा, अनुदान, भेटीलगायतको सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मा गर्नुपर्ने व्यवस्था छ । सञ्चालक परिषद्को १४ माघ ०७७ को बैठकले सुनको जलहरी निर्माण कार्यका लागि आवश्यक ज्याला दातामार्फत सोझै कालिगढलाई भुक्तानी गर्ने व्यवस्था मिलाउने निर्णय गरेको थियो ।

८० करोड ११ हजारमा सुन खरिद भएको थियो । तर, जलहरी निर्माण कार्यका लागि दाताबाट व्यहोरेको रकमको हिसाब देखाउन नसकेको भन्दै महालेखाले प्रश्न उठाएको छ । पाटन औद्योगिक क्षेत्रको एक रोलिङ मिल्समार्फत जलहरी निर्माण गराएकामा मिल्ससँग भएको सम्झौता र संलग्न १३ जना कालिगढलाई भुक्तानी भएको विवरण नै पेस नभएकोमा पनि महालेखाले प्रश्न उठाएको छ ।

‘सबै प्रकारका आम्दानी र खर्चको विवरण कोषबाट नै लेखांकन हुनुपर्नेमा परिषद्ले दातामार्फत ज्याला सोझै भुक्तानी गर्ने व्यवस्था उल्लेख गरेकाले दाताबाट प्राप्त नगद एवं जिन्सी आम्दानी खर्चको लेखांकन नभएबाट जलहरी निर्माण कार्यमा भएको खर्चको यथार्थ अवस्था यकिन हुन सकेन । सो रकम यकिन गरी कोषको खातामा आम्दानी बाँधिनुपर्दछ,’ महालेखाको प्रतिवेदनमा भनिएको छ, ‘नियमावलीअनुसार प्राप्त चन्दा, अनुदान, भेटीलगायतको सम्पूर्ण रकम कोषको केन्द्रीय खातामा जम्मा गर्ने व्यवस्था गरिनुपर्दछ ।’

जलहरीमा कुँदिएको भेटियो तत्कालीन राष्ट्रपति, प्रधानमन्त्रीदेखि मन्त्रीसम्मको नाम 
जलहरीमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन प्रधानमन्त्री केपी ओली, तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकाललगायतको नाम कुँदिएको छ । तत्कालीन प्रधानमन्त्री ओलीकै विशेष चाहनामा चाँदीको जलहरी फेरेर सुनको राख्ने प्रक्रिया ‘फास्ट ट्र्याक’बाट अघि बढाइएको थियो । विवादबीच तत्कालीन राष्ट्रपति भण्डारीले जलहरी अनावरण गरेकी थिइन् । त्यतिवेला पर्यटनमन्त्री ढकाल थिए । जलहरी राख्न पहल गर्नेहरूको नाम त्यसमा कुँदिएको अनुसन्धानबाट खुलेको हो । स्रोतका अनुसार धार्मिक, पुरातात्विक र ऐतिहासिक जलहरीमा सयौँ वर्षपछिसम्म अभिलेख रहने भएकाले नाम नै कुँदिएको हो ।

पशुपतिमा यसरी राखिएको थियो जलहरी
तत्कालीन प्रधानमन्त्री केपी ओलीको विशेष चाहनामा सरकारले पशुपतिनाथको मन्दिरमा जलहरी राख्ने प्रक्रिया अघि बढाएको थियो । कोभिड– १९ को महामारीका वेला नागरिकलाई पिसिआर टेस्ट गर्न नसक्ने सूचना जारी गरेको सरकारले त्यतिवेला जलहरी राखेको थियो ।

ओलीले १२ माघ ०७७ मा पशुपतिमा विशेष पूजा–आराधना गरेर सुनको जलहरी राख्ने प्रतिबद्धता जनाएका थिए । त्यसका लागि ३० करोड रुपैयाँ तत्कालै दिने र जलहरी निर्माणमा कुनै पनि कसर बाँकी नराख्न उनले निर्देशनसमेत दिए । उनको निर्देशनलगत्तै कोषले दुई सय वर्षभन्दा पुरानो चाँदीको जलहरी हटाएर सुनको राख्ने प्रक्रिया अघि बढाएको थियो । प्रधानमन्त्रीले निर्देशन दिएको भोलिपल्टै तत्कालीन पर्यटनमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा बसेको कोष बैठकले प्रधानमन्त्रीको निर्देशनबमोजिम जलहरी राख्ने निर्णय गर्‍यो । कोषका कोषाध्यक्ष मिलन थापाको संयोजकत्वमा कार्यदल नै गठन गरेर प्रक्रिया अघि बढाइएको थियो ।

सरकारले कानुनविपरीत जलहरी राख्न लागेको भन्दै संस्कृतिविद् तथा कोषका पूर्वपदाधिकारी नरोत्तम वैद्य र अधिवक्ता निकिता ढुंगानाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सर्वोच्चबाट आदेश आउने आकलन गरेर कोषले १२ असार ०७७ को बिहानै हतारहतार तत्कालीन राष्ट्रपति विद्या भण्डारीबाट जलहरी अनावरण गरायो । नभन्दै, सर्वोच्चले जलहरी राख्ने सबै प्रक्रिया रोक्न अन्तरिम आदेश दिएको थियो, तर त्यतिवेला जलहरी राखिसकिएको थियो । नयाँपत्रिका दैनिक बाट ।

द्वारा लेखिएको

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं. दर्ता न. १७८८/०७६-७७

सम्बन्धित समाचार